व्यवहार र स्वभावअनुसार पहिरन

१८ वर्षअघिको कुरा हो, फेसन डिजाइनसम्बन्धी अध्ययन गर्न भारत जाने निर्णय गर्दा शिक्षा श्रेष्ठका आफन्तले मुख बंग्याएका थिए । परिवारलाई विश्वास दिलाउन सजिलो थिएन । त्यसबेला नेपालमा फेसन डिजाइन अध्ययन गर्ने विषय हो, यसबाट करियर बनाउन सकिन्छ भन्ने मान्यता नै थिएन । धेरैले यस्तो विषय बढेर के हुन्छ भन्थे । फेसनमा लाग्यो भन्नेबित्तिकै छोरा छोरी बिग्रिएजस्तो ठान्थे । आफूले लिएको अठोटलाई अनेकन अप्ठ्याराहरूबीच पनि उनले पूरा गरिन् । उनको चाहनामा आमा र दाइहरूको भने साथ रह्यो ।

सन् २००३ मा भारतको नयाँदिल्लीस्थित ‘इन्टरनेसनल स्कुल अफ डिजाइन’ मा पाँचवर्षे कोर्स गरेकी उनले यसबेला यो कोर्स पूरा गर्न लगभग सात लाख रुपैयाँ खर्च गरेकी थिइन् । यति ठूलो रकम खर्च गरेर लुगा सिलाउने भनेर धेरैले खिसी पनि गरे । ‘बरु डाक्टर पढेको भए हुन्थ्यो’ भनेर धेरैले सुझाव दिन्थे । उनी त्यसलाई हाँसेर उडाइदिन्थिन् । त्यसबेला गरेको निर्णय, मेहनत अनि विभिन्न उतारचढावको फल उनी अहिले पाइरहेकी छन् । नेपालको अब्बल फेसन डिजाइनरमध्ये उनको पनि नाम आउँछ । ‘उसबेला लुगा सिलाउने भन्दै हाँस्नेहरू अहिले तिमी प्रेरणाको स्रोत हौ भन्छन्’, शिक्षाले भनिन् ।

त्यसबेला अधिकांश मान्छेमा जस्तो सोच थियो त्योभन्दा अलि फरक सोच र क्षेत्रमा काम गर्ने शिक्षाको अठोटले उनलाई यहाँसम्म ल्याइपुर्‍याएको हो । विद्यालय तहदेखि नै फेसन डिजाइनमा रुचि राखेकी उनी प्लस टु सकिनासाथ यो विषय अध्ययन गर्न भारत गएकी थिइन् । उनले अध्ययन पूरा गरी फर्किएको बेलासम्म पनि नेपालमा बुटिक संस्कृतिको विकास भएको थिएन । भारतमा पाएका विभिन्न अवसर छाडेर उनी नेपाल नै आइन् । ‘नेपालमा त्यतिबेला यो क्षेत्रमा कुनै प्रतिस्पर्धा थिएन । तर रोजगारीको ग्यारेन्टी थियो’, शिक्षाले स्मरण गरिन् ।

काठमाडौंको लाजिम्पाटस्थित सेलेबनामक बुटिक सञ्चालन गर्दै आएकी शिक्षाले विभिन्न फेसन सो, प्रतियोगितात्मक कार्यक्रमहरूमा समेत आफ्नो सिर्जनशील क्षमता प्रस्तुत गर्दै आएकी छन् । उनको अनुभव र बुझाइमा फेसन डिजाइन सिर्जनशील काम हो । मानिसको उचाइ, फिगर, व्यवहार तथा स्वाभाव अनुसार पहिरन आवश्यक पर्छ । ‘व्यक्तिको उचाइ, फिगरसँगै व्यवहार, हाउभाउ, बोलीचाली कस्तो छ त्यो पनि विचार गर्नुपर्छ’, उनले भनिन्, ‘यसमा मेकअप र हेयरस्टाइलको पनि भूमिका हुन्छ ।’

फेसन डिजाइनरको दृष्टिबाट सबै मान्छे राम्रा भए पनि पहिरन लगाउने तरिकाले फरक पार्ने उनको बुझाइ छ । नेपाली सेलिब्रेटीको पहिरन शैलीप्रति उनी त्यति सन्तुष्टि छैनन् । तापनि पछिल्लो समय चलचित्र उद्योगमा फेसन सेन्स निकै बढेको छ । चलचित्रमा भूमिका अनुसारको पहिरन, मेकअप, हेयरस्टाइलको व्यवस्था गर्न थालिएको छ ।

नेपाली चलचित्र प्रायः सीमित बजेटमा निर्माण गरिए पनि यी कुरामा कम्प्रमाइज नगर्नुलाई उनी राम्रो पक्ष मानिन्छन् । ‘ब्रान्डेड सामान प्रयोग गर्दैमा फेसनेबल भइँदैन । आफूलाई कस्तो पहिरनले सुहाउँछ थाहा पाउन जरुरी छ’, उनले भनिन् । नम्रता श्रेष्ठ, ऋचा शर्मालगायत विभिन्न नायिकाका लागि उनले पहिरन तयार गर्दै आएकी छन् ।

शिक्षाको मूल्यांकन

-प्रियंका कार्की एकदमै राम्री र पहिरनले सुहाउने नायिका हुन् । तर उनले प्रायः अन्तर्राष्ट्रिय सेलिब्रेटीको बढी नक्कल गरेको देखिन्छ । तापनि उनको ड्रेस सेन्स राम्रो छ । यो उनको सबल पक्ष मान्न सकिन्छ ।

-ड्रेस सेन्समा साम्राज्ञी राज्यलक्ष्मी शाह एकदमै पर्फेक्ट नायिका हुन् । उनी पनि अन्तर्राष्ट्रिय सेलिब्रेटीको नक्कल गर्न अगाडि छिन् । अरूको नक्कल गरेपछि आफ्नो मौलिकता र व्यक्तित्व देखिँदैन ।
 

-अभिनेत्री रेखा थापाको अनुहार क्लासिक खालको छ । उनको व्यक्तित्व र अनुहार पश्चिमा शैलीका पहिरनभन्दा सारीमा बढी स्मार्ट देखिन्छ । ड्रेस सेन्समा भने रेखा सामान्य लाग्छ ।

 

यी समाचार पनि पढ्नुहोस्
Scroll Up