वीरगन्ज महानगरमा मतगणना सुरु

वीरगन्ज : प्रदेश नम्बर–२ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा सर्वाधिक चासोमा रहेको एक मात्र महानगर वीरगन्जको मतगणना मंगलबार दिउँसो सवा २ बजेदेखि सुरु भएको छ ।

वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा तोकिएको मतगणना केन्द्रको कोठा नम्बर २ मा दिउँसो सवा दुई बजेदेखि मतगणना सुरु भएको हो । वडा नम्बर १ बाट वीरगन्ज महानगरको मतगणना सुरु गरिएको छ । बिहान साढे ११ बजेदेखि नै मतगणना सुरु गर्ने निर्णय सर्बदलीय बैठकले गरेपनि मतगणनास्थलमा सीसी क्यामेरा जडान गर्ने क्रममा केही समय लागेको र दलका प्रतिनिधी पनि ढिला गरी आएका कारण दिउँसो मात्र मतगणना सुरु गर्नु परेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए ।

वडा नम्बर १ को मतगणना भइरहेको कोठामा दलका प्रतिनिधीहरुलाइ तारजाली बाहिर राखिएको छ । मतगणनास्थलमा हरेक दलबाट एक जना प्रतिनिधीलाई मात्र बस्न दिइएको छ ।

मंगलबार बिहान बसेका सर्बदलीय बैठकले १० वटा समूहबाट मतगणना गर्ने निर्णय भएको भएपनि अहिले एउटा समूहले मात्र गणना गरिरहेको छ । केही बेरमै अरु समूहबाट पनि मत गणना व्यवस्था मिलाइने सुवेदीले जानकारी दिए । वडा नम्बर १ पछि ३२ नम्बर वडाको मत गणना हुने छ।

सोमबार भएको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा गरी ८४ हजार तीन सय १३ मत मात्र खसेको थियो । वीरगन्ज महानगरपालिकामा कुल एक लाख ८ हजार ५ सय १ मतदाता छन् । सोमबार वीरगन्ज महानगरमा ७३ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए । अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up