वीरगञ्जका उपमेयर उम्मेदवार : ८७ वर्षीया वृद्धदेखि पार्टी अध्यक्षका पत्नीसम्म

वीरगन्ज : स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जलाई सबै राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएका छन्। वीरगन्ज महानगरको नेतृत्व आफ्नो पक्षमा बनाउन राजनीति दलका शीर्ष नेतृत्व पनि वीरगन्ज झर्न थालिसकेका छन्। कतिपय नेता वीरगञ्जमा चुनावी प्रचार सकेर काठमाडौं पुगेका छन्। वीरगन्ज महानगरको मेयरमा ३५ जना चुनावी मैदानमा छन्। तर, मेयरमा एक जना पनि महिलाको उम्मेदवारी परेको छैन। पमेयरका लागि भने ११ जना महिलाको उम्मेदवारी परेको छ।
शान्ति कार्की , उपमेयर उम्मेदवार , नेपाली कांग्रेस
बिहे पनि नगरी आफ्नो ८७ वर्षको जीवन नै पार्टीका लागि समर्पित गर्दै आएकी वृद्ध नेतृ शान्ति कार्कीलाई कांग्रेसले वीरगन्ज महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाएको छ। झण्डै ६ दशकदेखि निरन्तर रुपमा कांग्रेसको राजनीतिमा लागेर पनि अहिलेसम्म कुनै लाभको पद नलिएकी कार्कीलाई जीवनको अन्तिम संघारमा कांग्रेसले उपमेयरको उम्मेदवार बनाएर सम्मान गरेको राजनीतिक वृतमा अहिले चर्चा छ। प्रवेशीका परीक्षा उत्तीर्ण गरेकी कार्की, राजनीतिमा मात्र नभइ समाजका हरेक क्षेत्रमा महिलासंग विभेद हुँदै आएको बताउछिन्। वीरगन्ज महानगरको चुनावी चर्चामा उपमेयरका महिलालाई पछाडि पारिएको उनको पनि गुनासो छ। राजनीतिक दल मात्र नभइ सन्चारमाध्यमको प्राथमिकतामा पनि महिला नेतृहरु पर्न नसकेको कार्की बताउछिन्। तर अब यो विभेदका विरुद्धमा महिलाहरु जाग्न थालिसकेका छन्।
पिंकी यादव, संघीय समाजवादी फोरम नेपाल
शिक्षण पेशा त्यागेर राजनीतिमा लागेकी पिंकी यादवलाई संघीय समाजवादी फोरम नेपालले वीरगन्ज महानगरपालिकाको उपमेयर उम्मेदवार बनाएको छ। स्नताक अध्ययन गरेकी ३६ वर्षीया यादव फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवकी श्रीमती हुन्। सरकारी विद्यालयमा अध्ययापनरत भएपनि पहिलो मधेस आन्दोलन ताका फोरम नेपालमा अप्रत्यक्ष रुपमा लागेकी यादव पछिल्लो समय वीरगन्ज महानगरमा गाभिएका गाउँमा लोकप्रिय छिन्। मधेसमा शिक्षा र चेतनाको कमीका कारण महिलाहरु खुलेर राजनीतिमा आउन सक्ने सहज वातावरण नभएको उनको बुझाइ छ। अन्य दल भन्दा मधेसी दलले भने महिलालाई राजनीतिमा अगाडि बढाउने कोशिस गरिरेको भन्दै यादव भन्छिन् ,‘राजनीतिमा महिलामाथिको विभेद धेरै दिन रहन सक्दैन। दहेज प्रथाको अन्त्य र महिला शसक्तिकरण आफनो प्रमुख चुनावी एजेण्डा रहेको यादको भनाइ छ।
सोफीया आचार्य , नेकपा एमाले
नेकपा एमाले पर्साका पूर्वसंयोजक चिरन्जीवी आचार्यकी श्रीमती सोफिया आचार्यलाई नेकपा एमालेले वीरगन्ज महानगरपालिकाको उपमेयरका लागि उम्मेदवार बनाएको छ। अर्थशास्त्रमा स्नाकोत्तर गरेकी ६० वर्षीया आचार्य, वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा २६ वर्षसम्म प्राध्यापन गरेकी हुन्। चुनाव लड्ने भएपछि प्राध्यापन पेशाबाट राजीनामा दिएर उनी प्रचार प्रसारमा सक्रिय छिन्। झण्डै तीन दशक देखि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिमा लागेकी आचार्य, वीरगन्ज महानगरको चुनावी चर्चामा महिला उम्मेदवारलाई पछिडी पारिएको गुनासो गर्छिन्।
दुर्गा क्षेत्री, उपमेयर उम्मेदवार, नेकपा माओवादी केन्द्र
अखिल नेपाल महिला संघ (क्रान्तिकारी ) को पर्सा जिल्ला अध्यक्ष ४८ वर्षीया दुर्गा क्षेत्रीलाई माओवादी केन्द्रले वीरगन्ज महानगर पालिकाको उपमेयरको उम्मेदवार बनाएको छ। एमालेमा लामो समय राजनीति गरेकी क्षेत्री २०७० सालमा भएको संविधानसभाको निर्वाचन ताका एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेकी हुन्। प्रवेशीका परीक्षा उत्तीर्ण गरेकी क्षेत्री, वीरगन्ज महानगरको चुनावी चर्चामा महिला उम्मेदवारमाथि सन्चार माध्यमले मात्र नभइ स्वंय राजनीतिक दलले पनि विभेद गरेको गुनासो गर्छिन्। ‘पार्टीले मेयरको टिकट एक महिना पहिला नै टुंग्यायो तर उपमेयरको टुंगो भने मनोनयनको एक दिन पहिला मात्र भयो’, उनी भन्छिन्, ‘मेयरका उम्मेदवारलाई जिताउन पार्टीले जति चासो दिइरहेको छ उपमेयरका सवालमा भने त्यति धेरै चासो दिएको छैन।’ उनले आफू उपमेयरमा निर्वाचित भए नगरका महिलाहरुको शसक्तिरणलाई पहिलो प्राथमिकतामा राख्ने बताएकी छिन्।
रम्भा मिश्रा, राजपा
नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गरेकी रम्भा मिश्रालाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वीरगन्ज महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाएको छ। व्यवस्थापन संकायमा स्नातकोत्तरको अध्ययन पूरा गरेकी ४१ वर्षीया मिश्रा, वीरुगन्जमा प्रशारण भइरहेको बिटिभी टेलिभिजन च्यानलकी सन्चालक पनि हुन्। ६ मधेसी दल मिलेर राजपा गठन भएपछि टेलिभिजन पत्रकारिता छाडेर सकृय राजनीतिमा लागेकी मिश्रा विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि आबद्ध छिन्। वीरगन्जको मेयरका उम्मेदवारहरुको तुलनामा उपमेयरका उम्मेदवारको चर्चा कम भएको भन्दै मिश्रा भन्छिन्, ‘हाम्रो समाजमा एउटा संस्कार नै बसिसेको छ, प्रमुखलाई सबैथोक ठान्ने तर उपप्रमुख केही पनि होइन भन्ने तर म भन्छु त्यस्तो केही होइन। अबको उपमेयर भनेको चुपमेयर होइन।’
रिन्कु यादव, नेपाल लोकतान्त्रिक फोरम
विजय गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले वीरगन्ज महानगरपालिकाको उमेयरमा रिंकु यादवलाई चुनावी भिडन्तमा उतारेको छ। एक वर्षदेखि राजनीतिमा लागेकी २९ वर्षीया यादव व्यवस्थापन संकायको स्नातक तहमा अध्ययनरत छिन्। बुबा किशोरी प्रसाद यादव माओवादको नेता भएपनि लोकतान्त्रिक फोरममा लागेर राजनीतिक यात्रा सुरु गरेकी हुन्। ‘मधेसमा महिला आफ्नै घरपरिवार र समाजमा अपमानित भएर जिउनु परेको छ, त्यसैले मेरो पहिलो प्राथमिकता मधेसका महिलाका लागि सम्मानित जीवन जिउने परिस्थितीको सिर्जना गर्छु , रिंकु भन्छिन् , ‘यसको अलावा किसानको लागि पनि महत्वपूर्ण काम गर्छु।’ अन्नपूर्ण पोस्ट