राष्ट्रिय लिगमा १६ टोली, थ्रीस्टारलाई डेढ करोड क्षतिपूर्ति

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसपटक होम एन्ड अवेका आधारमा राष्ट्रिय लिग गर्ने भएको छ । एन्फाको बिहीबार बसेको बैठकले २०७२ को राष्ट्रिय लिग खेलेका काठमाडौंका १२ ए डिभिजन क्लब र मोफसलका चार क्लबलाई लिग खेलाउने निर्णय गरेको हो । तर प्रस्ताव गरिएका सबै टोलीले लिग खेल्ने नखेल्ने विषयमा निर्णय हुन बाँकी रहेको एन्फाले जनाएको छ ।

लिग मंसिर महिनामा गर्ने एन्फाले यसअघि नै घोषणा गरिसकेको छ । ‘ए’ डिभिजनमा अहिले थ्री स्टार, फ्रेन्ड्स, त्रिभुवन आर्मी, एपीएफ, मनाङ मस्र्याङ्दी, संकटा, हिमालयन शेर्पा, सरस्वती, ब्रिगेड ब्वाइज र जावलाखेल क्लब छन् । मोफसलका झापा ११, मोरङ, रूपन्देही र सुदूरपश्चिमाञ्चल क्लबले पछिल्लो पटक आयोजना भएको राष्ट्रिय लिगमा भाग लिएका थिए । मोसफलका टोलीले खेल्न तयार भएमा चार क्लबले ‘ए’ डिभिजनको मान्यता पाउनेछन् । यसअघि एन्फाले विभागीय टोलीलाई मात्र सोझै ‘ए’ डिभिजनको मान्यता दिएको थियो । अन्य क्लबलाई सी, बी हुँदै ‘ए’ डिभिजनमा पुग्नुपर्ने प्रावधान छ ।

यसैगरी एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले थ्रीस्टार क्लबलाई डेढ करोड रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ । क्षतिपूर्तिका लागि संघको विशेष सभाको स्वीकृति लिइने भएको छ । थ्रीस्टारले गतवर्ष एएफसी कपको पहिलो चरणको छनोट पार गरी दोस्रो चरणको छनोटबाट एएफसी कप प्लेअफ खेल्ने मौका पाएको थियो ।

तर अन्तिममा एन्फा पदाधिकारीको गल्तीका कारण क्लबको नाम प्रतियोगितामा दर्ता नगरिएपछि थ्रीस्टार एएफसी प्लेअफ खेल्नबाट बञ्चित भएको थियो । सोही कारण थ्रीस्टारले एन्फासँग ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । एन्फासँग रुष्ट देखिएको थ्रीस्टारले पछिल्लो समय फुटबलका कुनै पनि गतिविधिमा सहभागिता जनाएको थिएन । अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up