रामेछापका एलडीओलाई विप्लव समूहको कालोमोसो

२ असोज, रामेछाप । रामेछाप जिल्लाका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले मोबिल खन्याएर दुर्व्यवहार गरेका छन् । सोमबार विप्लव समूहका कार्यकर्ताहरुले स्थानीय विकास अधिकारी पन्तको कार्यकक्षमै गएर कालो मोबिल खन्याएका हुन् ।

उनले कुनैपनि व्यक्ति, समूहले आफूसँग कुनै माग र केहि कुरा समेत नगरेको भन्दै सो व्यक्ति परिचित हुनका लागि उसले यस्तो गरेको बताए ।स्थानीय विकास अधिकारी पन्तले अपरिचित व्यक्तिले कार्यकक्षमै आएर मोसो खन्याएको भन्दै सो व्यक्तिलाई तत्काल कार्वाहीको माग गरे । उनले आफू काम गरिरहेको बेलामा एउटा रजिष्ट्रेशन लिएर एक अपरिचित व्यक्ति आएको र उसको रजिष्ट्रेशन हेर्दै गर्दा सो व्यक्तिले आफूमाथि कालो मोसो खन्याएर भागेको बताए ।

यसैबीच जिल्ला समन्वय समितिले घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले हस्ताक्षर गरेको प्रेस विज्ञप्तीमा कार्यालयमा काम गरिहेको अवस्थामा स्थानीय विकास अधिकारी पन्तको शरिरभरी कालो मोविल खन्याइनुलाई निन्दनीय, अपराधिक र कायरतापूर्ण घटना भनिएको छ ।

घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि हदैसम्मको कारवाही अघि बढाउन समितिले सम्वद्ध पक्षको ध्यानाकर्षण समेत गराएको छ ।

यता नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति रामेछापले विज्ञप्ती मार्फत घटनाको जिम्मेवारी लिएको छ । स्थानीय विकास अधिकारी पन्तले राजैतिक दलको मिलेमतोमा विभिन्न समयमा आर्थिक चलखेल गरेको भन्दै त्यसको कार्वाही स्वरुप मोविल खन्याइएको नेपाल कम्यनिष्ट पार्टी जिल्ला समिति रामेछापका नेता विवेक लामाले बताए । अनलाइन खबर

यी समाचार पनि पढ्नुहोस्
Scroll Up