मतदाता शिक्षामा करोडौं खर्च, मतदाता अन्योलमै

स्थानीय चुनावमा मतदाता शिक्षाका लागि भन्दै करोडौं रुपैयाँ खर्च गरिए पनि प्रदेश नम्बर २ का कैयौं मतदाता मतपत्र र मतदानबारे अन्योलमा रहेको पाइएको छ। चुनाव संघारमै आउँदा समेत त्यहाँका कतिपय स्थानमा न त मतदाता शिक्षा कार्यकर्ता नै पुगेका छन् न सञ्चारमाध्यमबाट दिइएको मतदाता शिक्षाबारे नै कैयौं मतदाता जानकार देखिन्छन्।

मतदातामात्रै होइन कैयौं उम्मेदवार समेत कसरी मतदान गर्ने भन्नेमा अन्योलमा रहेको विवरण प्रकाशमा आएका छन्। कतिपय पार्टीका उम्मेदवारले भोट माग्दै मतदान गर्ने तरिका सिकाए पनि निर्वाचन आयोगका कर्मचारी गाँउमा नपुगेको धैरै मतदाताको गुनासो छ।

रौतहटको यमुना गाउँपालिकाका सफीक रहमान भन्छन्, “मान्छेमा जागरुकता छैन। पार्टी वा सरकारको तर्फबाट सचेत बनाउने काम भएको छैन। महिलाको लागि त कुनै कार्यक्रम भएको मैले देखेको छैन।”

उम्मेदवारहरुले मतदाता शिक्षा भन्दा पनि भोज-भतेरलाई महत्व दिएको कतिपयको अनुभव छ। बाराको गढीमाई नगरपालिका बडा नं १ का राम आशिष महतोले भने, “भोटका लागि नेताहरुले मासु खुवाउँछन्, जनता खाइरहन्छन्। मतदानबारे केही थाहा छैन।”

मतदाता शिक्षा प्रभावकारी नभएको गुनासोप्रति निर्वाचन आयोगका अधिकारीहरु पनि सहमत देखिन्छन्।

सरकार र तराई केन्द्रित दलबीच संविधान संशोधनको विषयलाई लिएर विगतमा उत्पन्न विवादका कारण मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न नसकिएको निर्वाचन अधिकारीहरुको भनाइ छ।

बाधक

जिल्ला निर्वाचन कार्यालय बाराका सूचना अधिकृत कलाम हुसेन भन्छन्, “राजपा र सरकारबीच असझदारीका बेला हामीले धेरै नै असहयोग र तनाव झेल्नु पर्यो। तालिम पनि बिथोलिएको थियो।”

विगतमा मतदाता शिक्षा कार्यक्रममा अवरोध गरिनुका साथै मतदाता शिक्षा कार्यकर्तामाथि दुर्व्यहार गरिएका घटना प्रकाशमा आएका थिए। त्यस्तै जोखिमको भयले कतिपय मतदाता शिक्षा कार्यकर्ता गाउँ जान नमानेको बताइएको छ।

पहिलो र दोस्रो चरणको चुनावमा समेत मतदाता शिक्षा पर्याप्त रुपमा प्रभावकारी नदेखिएको बताइएको थियो।

चुनाव

जसका कारण बदर मत प्रतिशत विगतको तुलनामा बढेको थियो। प्रदेश २ मा हुन लागेको तेस्रो चरणको चुनावमा पनि त्यो अवस्था दोहरिने सम्भावना देखिन्छ। धेरै मत बदर हुँदा जित्ने सम्भावना रहेका कतिपय उम्मेदवार समेत पराजित हुने अवस्था हुनसक्छ। बिबिसी

यी समाचार पनि पढ्नुहोस्
Scroll Up