नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

१ असोज, टोकियो । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । हिजो अपराह्न टोकियोस्थित हानेदा  विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको छ ।

उनलाई नियन्त्रणमा राख्नुको कारण पनि अहिलेसम्म अध्यागमनले दिएको छैन । जापानस्थित नेपाली जनसम्पर्क समितिको बिश्वस्त सूत्रले दिएको जानकारीअनुसार उनीहरुका साथमा केही पार्टीसँग असम्बन्धित मानिसहरु पनि थिए । धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्ने गरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् ।झण्डै २४ घण्टा हुँदासमेत उनलाई अध्यागमनले नियन्त्रणमै राखेको छ । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासमेतले फोन गरेर कोसिस गरे पनि सफल हुन सकेको छैन ।

आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन । जनसम्पर्क समिति जापानका अध्यक्ष डीपी कंडेलसँग यस विषयमा प्रतिक्रियाका लागि सम्पर्क  गर्न खोज्दा सम्पर्क  स्थापित हुन सकेन ।

जापान अध्यागमनले विभिन्न समयमा नेपालका उच्च नेताहरुलाई नै अध्यागमनमा रोकिदिने गरेको छ । पर्याप्त कागजात नहुनु, साथमा पर्याप्त डलर नहुनु, नेताहरुलाई प्रायोजन गर्ने जापानस्थित नेपालीको ट्रयाक रेकर्ड राम्रो नहुनु लगायतका कारण नेताहरु इमिग्रेसनमा रोकिने र जापान छिर्न नपाई फिर्ता हुने गरेका छन् । यसअघि एमाले नेता देवी ज्ञवाली, नयाँ शक्तिका नेतालगायतलाई अध्यागमनबाट फर्काइएको थियो  । सीपी गजुरेल लगायतका नेतालाई घण्टौं नियन्त्रणमा लिएर छाडिएको थियो ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up