नेपालकी पहिलो तेस्रोलिंगी बुहारी

‘राजा !’

श्रीमान्लाई सम्बोधन गर्ने मोनिकाको शब्द ।
ठकुरी परिवारमा जन्मिँदा उनको नाम मनोज थियो । पछि मोनिकामा
रूपान्तर भइन् । नेपालकै पहिलो तेस्रोलिंगी बुहारी हुन्- ४० वर्षीया मोनिका शाही । नेपालको सन्दर्भमा तेस्रोलिंगी इतिहासमा पहिलो समलिंगी विवाह गरेकी मोनिका श्रीमान् रमेशनाथ योगीलाई ‘राजा’ भन्छिन् ।

बुहारीको रूपमा रमेशनाथको घरमा पहिलो पाइला टेक्दा मोनिकाको ढुकढुकी बेस्सरी बढेको थियो । मनभरि भयका ज्वारभाटा मडारिएका थिए । बुहारीकै भेषमा सासूससुराको सामना गर्नुपर्ने थियो उनलाई । साहस बटुलेरै नवदुलही भएर सासूससुरालाई ढोगिन् ।

सासूले ‘बुहारी’ भनिदिएपछि मोनिकाको आँखाबाट आँसुका ढिक्का खस्न थाले । देवर र दुईटी नन्दले ‘भाउजू’ भनेर बोलाउँदा उनको ढुकढुकीको ग्राफ झनै बढ्यो । ‘कसैको श्रीमती हुँला, बुहारी बनुँला’ भन्ने सपना सायद तेस्रोलिंगीले पाल्दैनन् । तर, कहिलेकाहीँ असम्भव पनि सम्भव बन्छ । यस्तै भयो मोनिकाको जीवनमा ।

दक्षिण एसियाली मुलुकहरूमा ‘समलिंगी विवाह’ चुनौती बनिरहँदा मोनिकाले कानुनलाई पनि ठुलो चुनौती दिइन् । नेपालको कानुनअनुसार, समलिंगी विवाह वैध छैन । तर, इतिहासमा नजिर बनेकी मोनिका भन्छिन्, ‘कानुन ठूलो कुरा होइन, चाहना र माया ठूलो कुरा रहेछ । कानुन बन्ला र विवाह गरौंला भनेर हामीले कुरेनौं । कानुनले समलिंगी विवाहलाई वैध गरोस् भनेर सरकारलाई दबाब दिन चाहेको हुँ ।’

परिवार, समाज र राज्यसँग एकपछि अर्को चुनौती झेल्दै आएकी मोनिकाको विवाह त भयो । तर, विवाह दर्ता गराउनु फलामको चिउरासरह बन्यो । कानुन नभए पनि आफ्नो नाममा श्रीमान्को थर थप्न उनी आतुर थिइन् । उनले श्रीमान्लाई भनिन्, ‘राजा जाउँ न विवाह दर्ता गर्न, मलाई तपाईंको थरको नागरिकता हातमा लिएर मात्र मर्न मन छ । मोनिका शाहीनाथको रूपमा चिनिन चाहन्छु ।’ विवाह दर्ता गर्न स्थानीय निकाय पुगिन् । डँडेलधुराको सीडीयोसँग मोनिकाले याचना गरिन्, ‘म कसैको श्रीमती भइसकेँ, सरकारले कि त हामीलाई सम्मान गरोस् कि यो देशको नागरिक होइन भनोस् ।

शब्दमा मात्रै होइन, आधिकारिक रूपमै नागरिकतामा श्रीमान्को थर जोड्न चाहन्छु । मलाई पहिचान दिनुस् रमेशनाथको श्रीमतीको रूपमा ।’
मोनिकाको बोली बिक्यो । मोनिका-रमेशको विवाहले वैधता पायो । ख्यालख्यालैमा विवाह दर्ता पनि भयो । महिला, पुरुषबाहेक ‘अन्य’को रूपमा नागरिकता लिने, पासपोर्ट पाउने र विवाह दर्ता गर्ने पहिलो तेस्रोलिंगी भनिन्- मोनिका । तर, यसबाट आफूले मात्र होइन, सम्पूर्ण तेस्रोलिंगीको खुसी चाहेको बताउँछिन् उनी । भन्छिन्, ‘मैले जस्तै माया गर्ने लोग्ने पाउनुपर्छ सबै तेस्रोलिंगीले ।’

मोनिका-रमेशको प्रेम

आठ महिनाअघि मलेसियाबाट घर फर्कने क्रममा रमेश र मोनिकाको एयरपोर्टमा भेट भएको थियो । पहिलो भेटमै उनीहरूले फोन नम्बर साटासाट गरे । तर, फोनसँगै मन पनि साटिएको रहेछ, पछि दुवैलाई महसुस भयो । मोनिकाले आफू तेस्रोलिंगी भएको फोनबाटै बताइसकेकी थिइन् । तर, मोनिकाको मायामा पग्लिएका रमेशले उनको लिंगीभन्दा पनि ‘गुण’ हेरेको बताए । ‘उनीसँग महिलाको भन्दा पनि धेरै राम्रा गुण छन्’, रमेशले भने, ‘महिलामा नपाएको असल गुण एउटी तेस्रोलिंगीमा देखेँ, उनको बोलीचाली मीठो छ, पृथक् छ, त्यसैले विवाहको निर्णयमा पुग्यौं ।’

अहिले मोनिका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासोको विषय बनेकी छन् । तेस्रोलिंगी समुदायका मानिसको भनाइ छ, ‘मोनिका-रमेशको विवाह टिकाउ हुन्छ या हँदैन, हेर्नै बाँकी छ ।’

मोनिकाको बारेमा बुझ्न रमेश मोनिकाको घरमै पुगे । उनीहरूले गएको वैशाख २४ गत रिपोर्टर्स क्लबमा आधिकारिक रूपमा विवाह गरेको जानकारी मिडियालाई गराए । रमेशको मान्यता छ, ‘लैंगिक आधारमा कसैलाई पनि हेप्नु हुँदैन । मोनिका तेस्रोलिंगीको रूपमा जन्मेकोमा दु;खेसो गर्थिन्, यस्तो पनि के जिन्दगी भनेर बिलौना गर्थिन् । तर, रमेश उनलाई ढाडस दिँदै भन्थे- तेरो लागि म छु । रमेशले कहिल्यै पनि मोनिकाको आत्मबल गिर्न दिएनन् । बिस्तारै मोनिकाको आत्मबल बृद्धि हुँदै गयो । उमेरको ठूलो ग्याप छ उनीहरूमा । श्रीमती मोनिका ४० वर्षकी भइन्, श्रीमान् रमेश २२ वर्षका । तर, प्रेममा उमेर बाधक नहुने यी जोडीको तर्क छ ।

समस्याको जड

मोनिका क्रिश्चियन धर्म मान्छिन् । उनी क्राइस्टसँग ‘एउटा लोग्नेमान्छे भेटाइदेऊ’ भनेर बिन्ती गर्थिन् । तर, उनको भेट यस्तो पुरुषसँग भयो जो पहिले नै विवाहित थिए । दुई सन्तानका पिता । आमा-बाको करबलले १४ वर्षको उमेरमै रमेशको विवाह भइसकेको थियो । जेठी श्रीमतीको अनुमतिपछि उनले मोनिकासँग दोस्रो बिहे गरे ।

आफूहरू प्रेममा परेको कुरा मोनिकाले रमेशकी जेठी श्रीमतीलाई सुनाएकी थिइन् । ‘सम्पत्तिको नाममा गहुँको एक गेडो पनि चाहिन्न, रमेशको प्राण, आत्मा र माया चाहिएको छ’ भनेपछि रमेशकी जेठी श्रीमतीको सहयोगमा उनीहरूको विवाह भएको हो । रमेश भन्छन्, ‘मोनिकाको आगमनले परिवारमा अझै खुसी थपिदिएको छ । दुवै श्रीमती मिलेर काम गर्छन् । मोनिकालाई खाना पकाउन आउँदैन । जेठी खाना पकाउँछिन्, मोनिका भाँडावर्तन गर्छिन्, कपडा धुन्छिन् ।’

नौ लाख १४ हजार तेस्रोलिंगीका लागि उदाहरण बन्न चाहेकी मोनिकाले भनिन्, ‘हामी ह्याप्पी जोडी हौं ।’
सेक्स चेन्ज, आमा बन्ने चाहना

वैवाहिक दरार नआओस् भनेर मोनिकाले लिंग परिवर्तन गराएकी छन् । ‘पूरै सेक्स चेन्ज गरेपछि मात्रै मैले एउटा पुरुषसँग विवाह गरेकी हुँ’, मोनिका भन्छिन् । सेक्सुअल रिलेसनसिपमा उनीहरूबीच कुनै समस्या नभएको रमेश मोनिका बताउँछिन् । महिला बन्न उनले थाइल्यान्ड गएर उपचार गराइन् । एउटा औषधि उनी अझै खाइरहेकी छिन् । अनुहारमा पहिलेदेखि नै दाह्री नआएकोले आफू महिलाजस्तै देखिने उनी बताउँछिन् । भन्छिन्, ‘दिदी (रमेशकी जेठी पत्नी) ले दिन सक्ने सबै कुरा दिन सक्छु मेरो राजालाई ।’ तर, रमेशलाई लागेकै छ, ‘मोनिका सम्पूर्ण महिलाको काम गर्न सक्छे, केवल सन्तान दिन सक्दिनन् ।’

नेपालमा सेक्सुवालिटी परिवर्तन गरी बच्चा जन्माउनु कल्पनामात्रै भएको उनीहरू बताउँछन् । तर, मोनिका आमा बन्न चाहन्छिन् । तत्कालका लागि बच्चा जन्माउन सम्भव नभए पनि बिस्तारै त्यो सम्भव होला भन्ने विश्वासमा छन् उनीहरू । मोनिकाको चाहनाको कदर गर्दै जेठी श्रीमतीले जेठो छोरो हिमालको सम्पूर्ण रेखदेख-पढाइलखाइको जिम्मा मोनिकालाई नै दिएकी छन् । मोनिका पनि हिमालको भविष्यप्रति चिन्तित छन् ।

नेपालगन्जमा महिला धनगढीमा पुरुष

३२ वर्षको उमेरमा ‘डु अर डाई’को अवस्थामा पुगेकी थिइन् मोनिका । तेस्रोलिंगीको आफ्नो पहिचान लुकाएर बस्दा मानसिक रूपमा विक्षिप्त थिइन् । आत्महत्या गर्ने वा पहिचान खोज्ने ! निर्णय गर्न सकेकी थिइनन् । तर, उनले साहस बटुलिन् । भोलिपल्टै आफू तेस्रोलिंगी भएको बताइन् सबैलाई, धनगढीमा पत्रकार सम्मेलन गरेर । त्यस दिनदखि उनी मोनिका शाही बनिन् । भन्छिन्, ‘जसरी एउटा बालक र बालिका जन्मिन्छन्, त्यसरी नै जन्मिने सन्तान हुन् तेस्रोलिंगी पनि । कैलालीको लम्कीचुहा नगरपालिकामा छोरोको रूपमै जन्माउनु भएको थियो मेरो आमाले ।

उहाँले तेस्रोलिंगी सन्तान जन्माउँछु भनेर म जन्मेको थिइनँ । तेसोलिंगी सन्तान जो कोहीबाट पनि जन्मिन सक्छ । अहिलेको जस्तो ज्ञान नहुँदा आफू को हुँ भनेर भौतारिन्थेँ । केटाहरूप्रति आकर्षण हुने, केटीहरूको पहिरन, मेकअप गर्न मन लाग्ने, अन्योलमा हुन्थेँ आफैंलाई देखेर । आफू के हुँ जस्तो लाग्थ्यो । शरीर पुरुष तर फिलिगंस महिलाको भएको कुरा टिन एजमा पुग्दा प्रस्ट भयो । स्कुलमा केटीको बेन्चमा बस्दा सरले दुवै हातमा दस, दस लठ्ठी हान्नुभएको थियो ।’

प्राकृतिक कुरालाई कसैले रोक्न सक्दैन । चाहना लुकाउँदा तनाव हुन्थ्यो उनलाई । त्यसैले आफ्ना चाहना पूरा गर्न नेपालगन्जमा गएर बस्थिन् । गाउँमा दिदीहरूको कुर्ता माग्थिन् । लिपिस्टिक पाउडर लगाउँथिन् । हप्तौंसम्म नेपालगन्जको रेस्टुरेन्टमा केटाहरूसँग रमाइलो गर्थिन् । रहर पूरा भएपछि फेरि पुरुषकै भेषमा धनगढी फर्किन्थिन् । यसरी उनी नेपालगन्जमा महिला र धनगढीमा पुरुष हुन्थिन् । ‘यस्तो नियति अबको पुस्ताले भोग्नु नपरोस् । चाहनालाई कुल्चन नपरोस्’, उनी भन्छिन् ।

उनको तर्क छ, ‘तेस्रोलिंगीहरूले विवाह गर्न पाउनु आधारभूत कुरा हो । तेस्रोलिंगीले पनि लोकसेवा आयोगमा जागिर खान पाउनुपर्छ । सक्षम तेस्रोलिंगीले नेपाल प्रहरी, नेपाली सेनामा भर्ती हुन पाउनुपर्छ ।’

उनले ‘अन्य’ लिंगको रूपमा २०५६ सालमा नागरिकता लिएकी हुन् । ‘अन्य’ कै रूपमा पासपोर्ट लिने नेपालमै पहिलो व्यक्ति हुन् उनी । अहिले उनी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको चासोको विषय बनेकी छन् । तेस्रोलिंगी समुदायका मानिसको भनाइ छ, ‘मोनिका-रमेशको विवाह टिकाउ हुन्छ या हुँदैन, हेर्नै बाँकी छ ।’ अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up