छायाँमा लुभुका कपडा उद्योग

ललितपुर : परिवारको कपडा उद्योग थियो, एसएलसी पास गर्नेबित्तिकै यहाँका हरिकुमार श्रेष्ठलाई बुबाले ठमेलमा पसल खोलिदिए। बिहान कलेज जाने र दिनभर ठमेलको पसलमा बस्ने उनको दैनिकी बन्यो। बुबाले चलाउने लुभु गणेश सुती उद्योगको उत्पादन ठमेलको पसलबाट बिक्री हुन्थ्यो। हरिको परिवार टेक्सटायल उद्योगमा लागेको १८ वर्ष बितिसक्यो।

यहाँस्थित एनबी टेक्सटाइल उद्योगलाई भूकम्पअघि कपडा बनाउन भ्याइनभ्याई हुन्थ्यो। अर्डरका सामान दिन चौबीसै घन्टा उद्योग चलाउनुपथ्र्यो। व्यापार चकाचक चलिरहेकै थियो। भूकम्प र भारतीय नाकाबन्दीपछि उद्योग संकटमा पर्न थाल्यो। मन्दी छाउँदा उत्पादित सामानले बजार पाउन सकेन। चौबीसै घन्टा चल्ने उद्योग १२/१४ घन्टामात्र चलाए पुग्ने भयो। नाकाबन्दी सकिएपछि थलिएको बजार त तंग्रियो, तर स्थानीय कपडाको मागचाहिँ बढेन। न्यून बीजकीकरण र चोरीपैठारीका सामानले स्थानीय उत्पादनको बजार खाइदिए। बजार गुमेपछि एनबी टेक्सटाइल दुई महिनादेखि बन्द छ।

आठवटा पावर लुम मेसिनबाट महिनामा १५ हजार मिटर कटन कपडा उत्पादन गर्ने उद्योग बन्द गरेर सञ्चालक जुजुकाजी महर्जन खेतीपातीमा लागेका छन्। ‘कपडाको माग नै छैन, उद्योग चलाउन सकिने अवस्था भएन’, उनले भने, ‘हेरौं दसैंतिहारपछि उद्योग चलाउने वातावरण बनिहाल्छ कि ? ‘ ठमेलमा आफ्नै पसल भएकाले जेनतेन उद्योग चलाइरहेका छन्, बालकृष्ण श्रेष्ठ। कपडाको माग घटेपछि उनको बास टेक्सटायल पनि संकटमा छ। भूकम्पअघिसम्म उद्योगका २४ थान मेसिन चौबिसै घन्टा चलेका हुन्थे। अहिले आठवटा मेसिन १२ घन्टा पनि चलेका छैनन्। ‘माग आएमात्र कपडा उत्पादन गर्न थालेका छौं, स्टकमा कति दिन माल थुपारेर राख्ने’, उनी भन्छन्।

लुभुमा ९४ उद्योग दर्ता भएर सञ्चालनमा छन्, उद्योगमा एक हजारभन्दा बढी मेसिन जडित छन्। एउटा उद्योग न्यूनतम पाँचदेखि अधिकतम ३० वटासम्म मेसिन राखेर कपडा उत्पादन गरिरहेका छन्। पछिल्लो समय तीमध्ये आधा पनि चलेका छैनन्। भूकम्पअघि गार्मेन्ट उद्योगलाई कपडा पुर्‍याउन धौधौ हुन्थ्यो, अहिले उद्योग बन्द वा आधा क्षमतामा सञ्चालन गरिरहनुपरेको व्यवसायी बताउँछन्। उत्पादित कपडा पनि उधारोमा दिनुपर्ने अर्को बाध्यता छ। ‘अवस्था यस्तै रहिरहे इतिहास बोकेको लुभुको कपडा उद्योग इतिहासमै विलीन हुनेछन्’, लुभु कपडा उद्योग व्यवसायी संघका अध्यक्ष केशव श्रेष्ठले निराशा व्यक्त गरे।

अहिले पनि लुभुमा हाते तान, अर्धस्वचालित र पावर लुम गरी १ हजार ५ सयभन्दा बढी तानको प्रयोग भइरहेको छ। अहिले प्रयोग भएका लुम पूरै इलेक्ट्रोनिक्स हुन्। एउटा तानले प्रतिघन्टा पाँच मिटरसम्म कपडा उत्पादन गर्दै आएको छ।

ठमेलमा आफ्नै पसल हुनेले जेनतेन उद्योग चलाइरहेका छन्। उद्योगमा उत्पादित कपडा धेरथोर पर्यटकले बिक्री गर्छन्। आफ्नै पसल नहुने धेरै उद्योग बन्द भइसकेको बताउँछन्, बास टेक्सटाइलका सञ्चालक बालकृष्ण। कतिपयले उद्योग बन्द गरेर पेसा नै परिवर्तन गरिसकेका छन्, ठूलो लगानी गरिसकेका बल्लतल्ल आधा क्षमतामै भए पनि चलिरहेका छन्। लुभुका अधिकांश उद्यमी भूकम्प र भारतीय नाकाबन्दीपछि कपडा उद्योगमा मन्दी छाएको दुःखेसो पोख्छन्। कुनै बेला हाते तानमै उत्पादन भएका कपडा मिटरको दुई रुपैयाँमा बेच्दा पनि राम्रै नाफा बच्थ्यो। अहिले मिटरको ८० रुपैयाँसम्म बेच्दा पाँच प्रतिशत पनि नाफा छैन। तानमा कपडा बुन्दा एकजनाले दिनमा आठ मिटर कपडा उत्पादन गर्थे। ज्याला मिटरको २५ पैसा थियो।

माग बढेसँगै उनले २०५१ सालमा घरेलु उद्योगमा दर्ता गरेर पावर लुमबाट कपडा बन्नु थाले। लागतमा कमी त आयो, तर बजार अभावका कारण नाफा बढ्न सकेन। अहिले उत्पादित कपडा महिनौं गोदाममा थन्किन्छन्। गार्मेन्टवालाले सामान लगे पनि समयमै पैसा दिँदैन। उद्योगबीच नै प्रतिस्पर्धा छ। विदेशबाट आउने अर्डर पनि कम हुन थालेको छ। समयमै सामान दिन नसक्दा अन्य देशले अन्यन्त्रबाटै सामान उठाउन थाले। थोरै मात्र रहेको नेपाली कपडाको बजार पनि खस्कन थाल्यो।

८० वर्ष पुरानो इतिहास

लुभुमा कपडा उद्योगको इतिहास करिब आठ दशक पुरानो छ। १९९५ सालतिर लुभुका रामलाल श्रेष्ठले कपडा बुन्ने उद्योग सञ्चालन गरेका थिए। हाते तानबाट सुरु भएको कपडा बुन्ने काम अहिले आधुनिक प्रविधिका मेसिनबाट हुन्छ। संघका अध्यक्ष केशवका अनुसार रामलालले कपडा बुन्न घरेलु उद्योगबाट धागो खरिद गर्थे, अहिलेजस्तो धागो उत्पादन गर्ने उद्योग थिएनन्, आयात गर्न सकिने अवस्था पनि थिएन। सुतीको टोपी, चोली, गम्छा, मफलर बुन्ने उनको उद्योगले बिस्तारै ढाका उत्पादन सुरु गर्‍यो। कुनै समय लुभुलाई दोस्रो पाल्पा भन्ने गरिन्थ्यो।

रामलालको देखासिकीमा उद्योग फैलिन थाल्यो। २०१५ सालबाट अरूले पनि ढाकाका कपडा बुन्न थाले। लुभुमा हाते तानको विकासमा स्थानीय रामबहादुर र नरबहादुर श्रेष्ठको ठूलो योगदान छ। उनीहरूले स्थानीयलाई तान तथा कच्चा माल उपलब्ध गराएर कपडा बुन्न प्रोत्साहन गर्थे। स्थानीय बासिन्दा खेतीको काम सकेर फुर्सदको समयमा कपडा बुन्न व्यस्त भए। केशवका अनुसार त्यसबेला तान नभएको घरै छैन कि जस्तो अवस्था थियो। त्यो समयमा पनि कपडाको प्रतिमिटर दुईदेखि पाँच रुपैयाँसम्म मिटर थियो।

‘आर्थिक हिसाबले आत्मनिर्भर र घरघरमा कपडा उद्योग भएकै कारण लुभुलाई सानो जापान पनि भनिन्थ्यो’, केशव भन्छन्, ‘एक दिनमा हाते तानबाट चार मिटरसम्म कपडा उत्पादन हुन्थ्यो, एक मिटर कपडा बुन्नेको ज्याला २५ पैसा थियो, विदेश निर्यात सम्भव थिएन, स्वदेशमै खपत हुन्थ्यो।’ तर, अहिले लुभुमा उत्पादित कपडा ७५ प्रतिशत विदेश निर्यात हुन्छ। २०२६ सालतिर रामबहादुर श्रेष्ठ (वंशीधर) ले नेपालमै बनेको अर्धस्वचालित तानबाट कपडा उत्पादन सुरु गर्न थालेको केशव बताउँछन्। धागो घरेलुले नै दिन्थ्यो, उत्पादित कपडा पनि घरेलुले नै खरिद गरिदिन्थ्यो। २०३१ सालबाट भने स्वचालित तानबाटै कपडा बुन्न सुरु भएको हो। अर्धस्वचालित तानको तीनगुणा बढी कपडा स्वचालित तानले उत्पादन गथ्र्यो। यसपछि कपडा उद्योगको विकास तीव्र गतिमा भयो, बजार पनि विस्तार हुन थाल्यो।

अहिले पनि लुभुमा हाते तान, अर्धस्वचालित र पावर लुम गरी १ हजार ५ सयभन्दा बढी तानको प्रयोग भइरहेको केशव बताउँछन्। अहिले प्रयोग भएका लुम पूरै इलेक्ट्रोनिक्स हुन्। एउटा तानले प्रतिघन्टा पाँच मिटरसम्म कपडा उत्पादन गर्दै आएको छ। यहाँको कपडा युरोप, अमेरिका, टर्कीलगायत दर्जनभन्दा बढी मुलुकमा निर्यात भइरहेको छ। लुभु क्षेत्रमा मात्र अहिले दक्ष एवं अर्धदक्ष गरी हजार जनाले रोजगारी पाएका छन्। अन्नपूर्ण पोस्ट

यी समाचार पनि पढ्नुहोस्
Scroll Up