स्वस्त्तिक आशाहरू

आस्वासनको बागमुखे
थैलिहरू खोलेर
तिम्रो हातको पानी हैन
रगत र नशाले अझै नखुम्चीएको
परिश्रमी हातको
अमुल्य स्वस्त्तिक छाप माग्न
आएका थिए उनिहरू
जुनबेला तिमीले
त्यही पुरानो मेशिनमा
नयाँ लुगा खुटिरहदा मेशिनमाथि घुम्दैथियो
कालो र रातो धागोको गोलिहरू
————————————-
गाँउ-गाँउमा
कहिल्यै नबोलेका
अझ भनौ एक बचन बोल्नु सम्म
कन्जुस्याई गर्नेहरू
ढाका टोपी ढल्काएर
मिठो बोलिमा साईनो गास्दै
भ्रष्टाचारले उछिट्टिएका दन्तेलहर
हास्दै आएको थियो
तिम्रो आरान नजिकै जुनबेला
तिमी फलाम पिटिरहेथ्यौ
जोर-जोरले फलामको
आवाजमा तिम्रो चित्कार
मिसिएर होला सायद
झनै कर्कश
आवाज गुन्जिदै थियो र उनिहरूले
भन्दै थिए तिमीलाई
आस्वासनको स्वादिलो टुक्काहरू
तिमी मेहनती,निर्दोष र असल भएकै
कारण हुनसक्छ
नतिजा बारम्बार दबिरहनुपर्छ
कुर्सिहरू पाएपछि
तिम्रो हातले मोहोरेका
मुढाहरू यत्र-तत्र फालिएका छन्
त्यसैले अरू केही
नमाग उनिहरू सँग र आशा पनि
नगर सिर्फ स्वतंत्र भएर
बाच्नु पाउने तिम्रो खोसिएको
अधिकार माग लेखिएका
अधिकार व्यबहारमा
उतार्ने वचन माग
देशका कुना-कुनाको के कुरा गर्नु
राजधानीको धाराहरूमा
तिम्रो गाग्रो किन मिल्काइन्छ ?
भरेको पानि किन घोप्टाइन्छ ?
यसको सवाल जवाफ माग र आशा गर
तिमीले कुदेको मुर्तिहरू
अब मन्दिरमा जादाँ
तिमीले बाहिरबाट हेरेर
फर्किनु पर्नेछैन
 
– सुष्मा रानाहँमा २०७४/ मंसिर २७ गते

यी समाचार पनि पढ्नुहोस्