स्थानीय तहमा महिला सहभागिताः अवसरसँगै चुनौती

महिला सहभागिताले दिएको सन्देश के हो ?


हिजोसम्म महिलालाई सम्बोधन गर्दा हेप्नेहरुले यो स्थानीय चुनावपछि अब सम्मानजनक सम्बोधन गर्न थालेका छन् । महिलालाई तपाईँ भनेर सम्बोधन गर्दा अनि पहिले आफूले नमस्कार गर्दा अाफ्नो शाख गिरेको, इज्जत नै समाप्त भएको ठान्ने बुज्रुक पुरुषहरु आज त आफ्नो गाउँको विकास निर्माण कार्यको शुभारम्भमा उपस्थित भई समुद्घाटन गर्न भनेर निमन्त्रणा गर्न थालेका छन् । यहि नै हो पितृसत्ताको अवशानको संकेत ।
राजनीतिलाई बुझ्न नसकेर नाक खुम्च्याउने महिलाहरुले आज त धेरै बुझे होलान् भन्ने लागेको छ । म आम महिलाहरुलाई भन्न चाहन्छु -हेपिएको तपाइर्ँको जीवन हेर्दा हेर्दै शान, मान, र ईज्जतले उचाइ लिँदैछ ।महिला र पुरुषवीचको विभेदको पर्खाल हिजोसम्म यति धेरै अग्लो थियो कि टाउको उठाएर आँखा माथि उचालेर हेर्न पर्ने अवस्थामा थियो । तर, आज त्यही विभेदको पर्खाल हाम्रो हातले छुन सक्ने गरी होचिएको छ । यसलाई सामान्य परिवर्तन भन्न मिल्दैन ।
यो एक्कासी आएको बदलाब होइन । राजनीति बेगर यो सम्भावना पनि थिएन । राजनीति गर्ने मान्छेहरुप्रति कतिपयमा हिजो घृणा थियो । महिलाहरुमा झनै वितृष्णा थियो । किनकि धेरैलाई राजनीतिले हरेक समस्याको समाधान दिन सक्छ र यो हाम्रो जीवनसँग पनि गाँसिएको महत्वपूर्ण विषय हो भन्ने बुझ्न कठिन भएको थियो । तर, आज यस्तो दृष्टिकोण बदलिएको छ ।
राजनीति बेठिक ढंगले अगाडि बढ्दा राष्ट्र नै अँध्यारोमा अल्मलिँदोरहेछ र जनताले पनि दुःख पाउँदा रहेछन् । राजनीति ठीक ढंगले अगाडि बढ्न सक्यो भने स्वच्छ राजनीतिको आलोकबाट नै मुलुकको मुहार चम्किँदोरहेछ । त्यसैले राजनीति आफैमा गलत होइन, यो समाजका हरेक विषय जोडिएको हुन्छ र हाम्रो जीवनसँग पनि गाँसिएको हुन्छ भन्ने कुरा राम्रोसँग बुझे जनताले ।

अबको पाँच वर्ष पछाडि जनप्रतिनिधिका रुपमा निर्वाचित महिलाहरुको चेतना स्तर निकै माथि उठिसकेको हुनेछ । धेरै पढेलेखेका महिलाहरु स्थानीय तहमा प्रमुख पदको उम्मेदवार बन्न ऐलान गरेर अगाडि बढ्नेछन्

लेखक,भगवती न्यौपाने

आज आएर आम महिलाहरुले पनि गहिरो गरी विश्लेषण गर्न थालेका छन् । बदलिँदो आजको युगले त झनै महिलालाई राजनीतिमा आकर्षण गर्न थाल्यो । मलाई लाग्छ-अबको पाँच वर्ष पछाडि जनप्रतिनिधिका रुपमा निर्वाचित महिलाहरुको चेतना स्तर निकै माथि उठिसकेको हुनेछ । धेरै पढेलेखेका महिलाहरु स्थानीय तहमा प्रमुख पदको उम्मेदवार बन्न ऐलान गरेर अगाडि बढ्नेछन् । कल्पना गरौं- त्यसपछिको समाज कस्तो बन्ला ?
पुरुषप्रधान समाजको घुम्टोभित्र निष्पट्ट ओडारमा बसेर सुँक्क सुँक्क रुने महिलाहरुको संख्या विस्तारै न्यून हुँदै जानेछ । महिला पुरुषको सेवक मात्र होइनन् परिवर्तनको संवाहक पनि हुन् भन्ने सन्देश जानेछ । आँट, हिम्मत र साहसको प्रतिमूर्ति हुन् भन्ने प्रमाणित हुनेछ ।
मैले किन यो लेखिरहेकी छु भने अवसरको खोजीमा हिँडेको महिला आन्दोलनले आज आएर न्याय पाएको युग हो यो । अनि दमित स्वरहरुले आवाज पाएको युग हो यो । त्यसैले महिलाहरु समाजमा केही गरेर देखाउन चाहन्छन् । कार्यसम्पादनमा अब्बल बन्नेछन् । संसारभरिको तथ्यले पनि यही पुष्टि गरेको छ र विश्वास छ नेपालमा पनि यही हुनेछ ।
योगमाया, साहना, मंगलाहरुले रोपेको इतिहास थियो, कयौं वर्ष सम्म छोपियो । तर इतिहासको घुम्टो पनि समयले नै उघारिदिँदो रहेछ । त्यसैले त आज पितृसत्ताको अवशानको घण्टी बजेको युग पाउन सकिएको छ । यही युगको आलोकमा भोलिको युग भेटिन्छ, जुन युगले सम्पूर्ण रुपमा समानतामा आधारित समाज निर्माण गर्नेछ ।
नेपालको संविधानमा उत्पीडितहरुको आवाज मुखरित भएको नदेख्नेहरुलाई सोध्न मन लाग्छ । संसारमा धेरै देशहरुले आर्थिक रुपमा छिट्टै फड्को मारेका छन् र समृद्धि हासिल गरेका छन् । तर, तिनै देशहरुले पनि सबै जनतालाई अधिकार सम्पन्न बनाएको पाइँदैन ।
नेपालमा जस्तै सबै जनतालाई अधिकार सम्पन्न बनाएको मुलुक कमै छन् । ०६४ को संविधान सभाको निर्वाचन पछि गठन भएको संविधान सभा, ०७० को निर्वाचनपछिको संविधान सभा वा हालको व्यवस्थापिका संसद अनि स्थानीय तहमा भएको समावेशी सहभागितालाई हेर्दा संसारका सामु हाम्रो शान कहाँनेर झुकेको छ ? प्राप्त भएको उपलब्धिमा गर्व गर्न नसकेर अभिशाप ठान्ने र केही नपाएको जस्तो गरी कृत्रिम रुवावासी गर्नेहरु देख्दा भने आश्चर्य लाग्छ । यसको अर्थ बुझ्न केही गाह्रो छैन ।

अहिले महिलाहरुमा अवसरसँगै चुनौती पनि थपिएको छ । प्राप्त भएको जिम्मेवारीलाई बहन गर्ने सन्दर्भमा कार्य सम्पादन कसरी गर्न सक्छन् हरेकका मनमा यही जिज्ञासा छ

यति हुँदाहुँदै पनि धेरै विषय व्यवस्था गर्न बाँकि छ । यो संविधान समानताको प्रस्थान बिन्दु हो । तर आज जे छ यो धेरै उपलब्धिमूलक छ । यो उपलब्धि कयौंको त्याग, समर्पण र बलिदानसँग साटिएर प्राप्त भएको हो । व्यवस्था परिवर्तनका लागि छातीमा गोली थाप्न तयार हुनेहरु, आन्दोलनमा आगो ओकल्नेहरु र रगत छाद्नेहरु कयौं आज अवसरबाट वञ्चित छन् । तर, परिवर्तन कसरी भयो थाहा नै नपाउनेहरु आजको परिवर्तनको उपभोग गरिरहेका छन् । समानुपातिक, समावेसी, सहभागिताको मुद्दालाई राज्यले अंगिकार गर्दाको परिणाम होइन र यो ? समानुपातिक, समावेसी, सहभागिता अनिवार्य थियो र नै भयो । त्यसैले प्राप्त भएको चिजलाई केही पनि देख्न नसक्नु, पाएर पनि पाइयो भन्न नसक्नु कृतघ्नताको पराकाष्ठ नै हो ।
त्यसैले नकारात्मक सोचबाट मुक्त बनेर प्राप्त भएको उपलब्धिको संरक्षण गर्न लागाै । पहिले त संविधान कार्यान्वयन गर्नतिर लागौं अनि संशोधन गर्नुपर्ने विषयमा एकाकार भएर लडौंला । निश्चित रुपमा नेपाल सबैको साझा फूलबारी बन्नेछ ।
अहिले महिलाहरुमा अवसरसँगै चुनौती पनि थपिएको छ । प्राप्त भएको जिम्मेवारीलाई बहन गर्ने सन्दर्भमा कार्य सम्पादन कसरी गर्न सक्छन् हरेकका मनमा यही जिज्ञासा छ । यद्यपि महिलाहरुप्रतिको अविश्वास एक हदसम्म तोडिसकेको छ । धेरैले आˆनो योग्यता अनि कुशलता देखाएर क्षमता प्रदर्शन गरिसकेका छन् । पछिल्लो समयमा सुशीला कार्कीलाई उदाहरणका रुपमा प्रस्तुत गर्न सकिन्छ । कार्कीले सर्वोच्च अदालतलाई शानदार ढंगले नेतृत्व गरेर सफल प्रधानन्यायाधीशका रुपमा आफूलाई दर्ज गर्नुभएको छ । यसरी नै राष्ट्रपति र सभामुखप्रति पनि हाम्रो त्यही अपेक्षा छ कि उहाँहरुले पनि सुन्दर इतिहास रच्न सक्नुहुनेछ ।
अन्त्यमा,
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि महिलाहरुलाई यसै आलेख मार्फत सुझाव दिन चाहन्छु- मेहनत गर्नुहोस्, गहिरो अध्ययन गर्नुहोस् र रचनात्मक सोचका साथ सिर्जनात्मक भूमिकाबाट अब्बल बनेर महत्वपूर्ण दृष्टान्त दिन सक्नुहोस् । तपाईंहरुले दक्षतापूर्वक काम गर्न सक्दा मात्र राज्य र समाजको आम महिलाप्रतिको विश्वास बढेर जानेछ ।

 
 
 
श्रोत:अनलाइनखबर

यी समाचार पनि पढ्नुहोस्