सेल्टरमा भेटीएकी दिदीबहिनीहरु

सुष्मा रानाहँमा
दक्षिणी पश्चिम भाग (छल्लादो ख्वांजु)बाट लगभग ४/५ घण्टा बस चढेर खोसोक् टरमिनलमा ओर्लेपछी लोकल ट्रेन चेन्च गर्दै १ नं लाइन चढेर दोंदेमुनमा पाईला टेक्दा व्यस्त र मस्त भईरहने कोरिया,सदाझैं साँझ परेपछी थपिने झिलीमिलीले दिपावलीझैं हुन सुरुगरिसकेको रहेछ।म भने नारी आवासगृह(सेल्टर)मा केहीदिनकालागी वस्ने सोचले दोंदेमुनको गल्लीतिर एकझोक्का बतास सँगै हुइकिदै थिए।प्राय:धाईरहने दोंदेमुन त बिरानो पक्कै थिएन तर त्यो भित्रको गल्लीहरुमा भने पहिलो पाईला थियो।घरिघरी नेपालको कुनै मोडिएको गल्लिहरुमा कोरिया खोजेर भौतारिदैछु भन्ने भ्रमलाई चिरेर सेल्टरमा अलीअघीबाट बस्ने दिदीलाई फोन गरेर लोकेसन सोध्दै हिडिरहे,लिन आउन आग्रहगरेपछी गेटसम्म निस्किनुभएछ।
बसाईको हिसाबले त्यो सेल्टर दोस्रो थियो मेरोलागी तर त्यहाँ बस्ने कोही दिदीबहिनीहरुकालागी तेस्रो,चौथौं पनि रहेछ।परदेशको अनुभवहरुमध्ये अर्को विशेष अनुभव लिनुपर्नेत सेल्टर बसाईपनि रहेछ यो संस्मरणको अवसरपनि हो एकमनलाई यसैगरी थमथमाए हुँला।
बस्दैजादाँ दिनै सेल्टरमा दिदीहरु थपिदैजानुभयो।तरहरा,झापा,सोलुखुम्बु,खोटाङ्,काभ्रे,स्यांजा,पोखरा,
मकवानपुर,बुटवल लगायत थुप्रै जिल्लाका हामी त्यहाँ भेलिएका थियौं।सुरुमा बोल्न असहज लाग्दै औपचारिकताको लागी बोलिन्थ्यो तर बिस्तारै सहजको वातावरण बन्दै गयो।प्राय धेरैजसोको कामको अनुभव,कार्यक्षेत्र मिलेर प्रसंगबस कुरा निस्किदा एकजनाको कुरामा हो मा हो थपिन्थ्यो त्यहाँ।
तर म एक्लै थिएछु,होला र त हो भन्नुपर्ने।कृषिको काम साग टिपेको,टमाटर टिपेको,स्ट्राबेरी टिपेको दिदीहरुको यस्तैयस्तै कामको अनुभव सुन्न पाइन्थ्यो।केही दिदीहरु म तिर हेर्दै भन्नेगर्नु हुन्थ्यो”बैनिको त मेनु(उत्पादन क्षेत्र)अरे कति सजिलो हुन्छ होला है?पैसा र सुविधा पनि हाम्रो भन्दा राम्रो हुन्छ रे नि”
म हासेर टारिदिन्थे,हुनुपनि कृषि क्षेत्रको तुलनामा कम्पनीमा काम गर्नु फरक र सहजनै रहेछ।तर मलाई त्यतिबेला न्यास्रो लाग्यो जबकी १२/१३ जना मध्ये म एक्लै आफ्नो कामको अनुभव नमिल्ने थिए।र नै सुनाउनपनि उचित ठानिन होला शायद!केहीदिनको बसाईपछी एकजना साथि थपियो उनको र मेरो कार्यक्षेत्र मिल्यो,केही सहज लाग्दै गयो।
शनिबार र आईतबार बाहेकका प्राय:दिनहरुमा कामको बारेमा बुझ्नलाइ खोयोङ् नोदोङ्बु(जब सेन्टर)धाईरहनुपर्ने सेल्टर बसाईको मुख्य दिनचर्या हो र काम पाएर छिटै सेल्टर छोड्नु पाए गजब हुने अर्को उद्देश्यनै हो।
बेलाबेलामा नेपाली परिकारहरु जागर बटुलेरै बनाइन्थ्यो उमेर अनुसार नेपालको पूर्व मेची देखी पश्चिम महाकाली सम्मका जेठी,माईली,साइली,काँइली,…..अन्तरी हुदै क्रमश कान्छी सम्म सँगै बसेर खाना खादा थप स्वादिलो र साच्चै रमाइलो हुन्थ्यो।खाना खादै गफ निस्केपछी चट्नीको काम गर्थ्यो क्यार लहिलेकाही थाल रित्तिएको पत्तो हुदैन थियो।
आल्बा(पार्ट टायम जब)स्थाई काम नपाईन्जेल कसैले त्यहीबाटै धाएर गर्दा रहेछन्।सात महिनाको बच्चा छाडेर १ बर्षअघी कोरिया आएकी बहिनीलेनि त्यहीबाट धाएर आल्बा गर्थिन्।म फुर्सदमा बहिनीको ठाँउमा बसेर घरी नेपालमा भएको उनको बच्चाको बारेमा सोच्ने गर्थे,घरी त्यो बहिनीको ठाँउमा आफुलाई उभ्याएर कल्पना गर्थे।एता आमा बिहानदेखी कामगरेर साँझमा गलेको ज्यान,बच्चा प्रतिको स्नेह,त्यसमाथी आफु टाढा रहदा कति मन पिरोलिदो हो?सन्तानको भबिष्यको निम्ती जति पसिना बगाइरहेकीछिन् त्यतिनै गानिएको दूधपनि त एकातिर खेर गईरहेको होला,अर्कोतिर सन्तानको वर्तमान त टुहुरा सरह छनै।उता बच्चाले आमाको दूध सम्झिएर कतिन्जेल दूधदानीमा हालेको दूध चुस्छ होला?
अरुअरु भिसामा आउने दिदीहरुको एकातिर बिजोक त्यही देख्न सकिन्थ्यो।अर्कोतिर भाषाको समस्या त छदैछ,बिरानो देश,ट्रेन चढ्न,ठाँउ चिन्न/जान्नलाई समय लाग्ने शहरमा आएको ४ दिन नहुदै आफै काम खोजेर लाग्नुपर्ने,त्यहीबाट धाउनुपर्ने।यो सब देखिरहदाँ आफु भाग्यमानी नै हुँ की लाग्थ्यो।तर हाल इपिएस प्रणाली भन्दा फरक त्यस्तै तरिकाहरुबाट कोरिया भित्रिने क्रम बढिरहेकोले काम पाउन मुस्किल र बिचल्ली पनि त छ,जस्तो कि उनिहरुलाई थोरै सुविधा र पैसामै धेरै काम लाउन पाउछ र त्यसरी आउनेहरु फर्केर जानुभन्दा त्यसरीनै काम गर्नु बाध्यछ।इपिएस प्रणालीबाट आएका कामदारलाई सरकारले तोकेको मापदण्ड अनुसार सेवा,सुविधा दिनुपर्छ।त्यसैलेपनि ईपिएसवालाहरुलाई भनेकोबेला काम पाउनु गाह्रोछ।
एकजना गुरुङ् थरको दिदी हुनुहुन्थ्यो त्यहाँ भको सबै भन्दा उमेरमा जेठी पनि,बोलाउने साइनो ‘जेठी दिदी’भनेर बोलाउथ्यौं।अरु भन्दा अलि कमै बोल्नुहुने,बोल्दा प्रष्ट नेपाली नभएर पश्चिमी लयमा आफ्नो केही बिगतहरु कोट्याउनु भएको थियो।उहाँले फुकाउनु भएको आफ्ना दुखसुखका पोकाहरु शैली फरक भएरहोला घरीत मजाकमा उडाइन्थ्यो त्यहाँ तर मलाई अलि नमजा लाग्थ्यो।गहुँगोरो वर्ण,होचो कद,छोटा हातखुट्टा भएको बाटुली अनुहारकी दिदी कोरिया आउनु भन्दा पहिले ओमन गएर आउनु भएको रहेछ।महिनाको नेपाली १० हजार तलवमा २ बर्ष बसेर फर्किनु भएछ,विहे गरेको केही समयपछी फेरी कोरिया आउनु भएको दुई बर्ष नाग्दै गर्दा हामी भेटिएका थियौं।त्यो बेला सम्म कम्पनी सर्नु पाउनु पर्ने अवधी जति(तेस्रो पटक)सर्दै हुनुहुन्थिएछ तर त्यो भन्दा पहिले परिवार भेटेर अन्तिम कम्पनी छिर्ने योजना अनुसार नेपाल गएर भर्खरै आइपुग्नु भएको रहेछ।हप्तादिन आराम गरेर मात्रै कम्पनी खोज्ने निधो गरेर रुममै बस्नु हुन्थ्यो दिदी त्यो बेला हामी थोरै गफिन्थ्यौं,उसोत आफु जेठी छोरी भएर होला शायद जोकोहीलाई दिदी भनेर सम्बोधन गरेपछी आफ्नै दिदी लाग्छ मलाई। झनै आफुले सक्दो काम गर्दागर्दैपनी काम गर्नु सक्दैन भनेर निकालीदिदाको क्षणहरु,आफ्नो औलाहरु छोटो भएको कारणले काममा नराखेको,आफु सोझी भएकोले नेपाली साथीहरुबाटै हेपिएको क्षणहरु सम्झिदै दिदी पोखिनुहुदा म पनि चिमोटिएछु,कुडिएछु।
म अलि अल्सि पहिलेबाटै हुँ र बिहान झिसमिसेमै अल्लारम नबजिदिए हुने लाग्थ्यो।पहिलो कम्पनीमा हुदाँ१/२ पटक हो, त्यसैपनि सेकेन्डको महत्व राख्ने देशमा बजेको अल्लाराम नसुनेर मस्त निदाइरहेपछी हामिलाई लिनु आउने कम्पनिको मानिसले पहिलो तला गेटबाट थिचेको रुमबेलको चर्को आवाज हामी बसेको दोस्रो फ्ल्याटको रुममा यस्तरी बज्यो कि मानौं रातभरको हिमपातले बेल बजाउने कोरियनलाई कुनै असर गरेको छैन बरु हाम्रो रिसले दिमाग तातिरहेकोछ।कम्पनी पुग्न लगभग आधा घन्टा लाग्ने बाटो त्यो दिन साथी र मुखै नधोई डराई-डराई उसको कारमा चढेका थियौं।त्यहाँ केहीदिन अबेरसम्म सुत्न पाउदा ती क्षणहरु आफै मनको अल्लाराम बनेर बज्थ्यो।
अरुबेलाको समय अरुकै लाग्थ्यो मानौ कुनै मेसिन हो आफु,आवश्यक अनुसारको तिव्रतामा चल्नुपर्ने तर त्यो अवधी त आफ्नै हो लाग्दो रहेछ।राती अबेर सम्म फेसबुक हेर्ने,गफ गर्ने,घरीघरी पुस्तकहरु पढ्ने गरेर कट्थ्यो र बिहान अबेर सम्म सुतिन्थ्यो संयोगबस् सँगै सुत्ने दिदीको आदत म सित मिल्दो रहेछ।
खाना पालैपालो बनाइन्थ्यो प्राय ढिला उठ्ने हामी बेलुकाको खाना बनाउथिम् चामल किन्नु नपर्ने रहेछ तरकारी,दालहरु किन्नु दोंदेमुन बजार झर्नुपर्ने।अरु ठाँउकै जस्तो सोचेर किनमेलगर्दा पसलेहरु सँग आफुले जानेको कोरियन बोलिन्थ्यो तर त्यहाँको कोरियन,चाइनिज पसलेहरुले “तपाईको फिर्ता पैसा लिनुहोस्….,सस्तोछ लानुहोस्,…केजिको ५ हजार वन,१० हजार वन”भनेर प्रष्ट नेपाली बोलेको सुनेर म छक्क परे कताकता खुशी पनि लाग्दो रहेछ यसरी परदेशमा आफ्नो भाषा बोलिदिने बिदेशी भेट्दा।
अरुदिन जसरी एकदिन एउटा कम्पनीको मेसेज पर्यो तत्काल त्यहाँको फोन नं डायल गरेर बोले,ठेगाना मागेपछी एकजना साथीलाई आफुले हेर्न जान लागेको कम्पनी जाऔं भनेर आग्रह गरे उसले स्वकृती जनायो।हामी सोयोसान तिर जाने १ नं लाइन ट्रेन चढ्यौं।ट्रेन भित्रै मैले गुगलमा ठेगाना सर्च गर्दै यांजु यकमा ओर्लेर गुगलले बताए अनुसार ठेगाना पछ्याउदै गाडी चढ्यौं फेरी अलिबेरपछी गाडीबाट ओर्लेर फिन्छा(खाली)ट्याक्सीलाई रोकेर चढेपछी ठेगाना बतायौं नभन्दै केहीबेरमा ट्याक्सीले हामीलाई कम्पनीको गेटमा उतारीदियो।
अफिस दोस्रो तल्ला रहेछ।चढ्दा आफुले लगाएको जुत्ता र्याकमा राखेर त्यहीको चप्पल लाउनु पर्ने रहेछ।त्यो बेला सम्म थाहा भैसकेको थियो सि फुन नै हो भनेर।
कम्पनी बाहिरको डेकोरेसन,अफिस हेररै साथिले यही काम गर यति सफाछ अरु नखोज है भन्न थाल्यो हुनपनी हिड्दा समेत दाग लाग्छकी जस्तो सफा थियो।ब्रेक टायम रहेछ सेता पोसाकमा कामदारहरु एताउता गरिरहेको देखेर ठम्याउन अझ सजिलो भयो।पहिलेको जस्तै बाह्रैमास चिसो एसिमा लगातार उभिएर चक्कु दौडाउनु पर्ने।यसैपनि ज्यानले चिसो नसहने आफुलाई।
म बस्दिन भनेर साथिलाई सुटुक्कै कानेखुशी गरेर जाउको संकेत गरे।उसले कर गरिरहेको थियो,उसले भनिरहेको थियो मिल्ने भए म बस्थे के गर्नु भाग्य बिग्रेर कृषिमा आइयो त्यो बेला कोरिया छिर्नु पाए हुन्थो भन्ने मात्रै सोच थियो।उसको एकोहोरो जिद्दीपनालाई लगार्न भएपनी मैले पहिलो कम्पनीको बारेमा बताउनु कर लाग्यो,बल्ल त्यसोभए नबस भन्यो।
केहीदिनपछी म त्यहाँबाट निस्किदै थिए अर्कै ठाँउमा कामको टुंगो लागिसकेको थियो। त्यो बेला सम्म दिदीले काम पाँउनु भएको थिएन।समय छोटिसकेको थियो काममा हप्तादिन भित्र लागिसक्नुपर्ने रहेछ।आत्तिनु थाल्नु भयो,अगाडी आफ्नो कहानी बताए जसरी जबसेन्टरबाट पाएको मेसेजमा समेत काम हेर्नु जादा कम्पनीले उचाइको कारण देखाउथ्यो रे मुख्यत:कृषिमा महिला कामदारको संख्या बढी भएको कारण सिजनमा समेत काम नपाउदो रहेछ।दिदी बहिनीहरु जबसेन्टर धाईनै रहनु हुन्थ्यो।दिदी आत्तिनु थाल्नु भयो हुनपनि कति पिल्सिनु भयो होला भित्र- भित्रै कति पो बचाउनु भयो होला अढाई बर्षमा ३ चोटी कम्पनी सर्दा,नेपाल जादा।त्यैपनि हामीले के पो गर्नु सक्थेउ र? फरक एति हो अरुको काममा लाग्नु पर्ने अवधी अलि बढी थियो र हामी दुईजनालाई जब सेन्टर जादाँ खाली हात पठाउदैन थियो।थमथमाउदै हामीले भन्थौं “हुदैभएन भने गोजीको भिसामा बस्नुस् बस्नेहरु बसेकै छन्,नत्र भिसा परिवर्तन गर्ने माध्यमछ त्यो पनि अपनाउनुस्”भन्दा त्यसरी बस्नु श्रीमानले नदिएको बताउने दिदी नभन्दै काममा लाग्ने अवधी सकिएपछी २ बर्षको भिसा त्यागेर नेपाल जानुभयो रे यो खबर अरु दिदीहरुबाट सुनेपछी दुख लाग्यो।फेसबुकमा खोजे।बाध्य भएर मनमा प्रश्नहरु उब्जिए कति…
अधिकांश नेपाली नारीहरु किन कृषिमा फारम भर्छन्?आफुलाई आफै किन कमजोर ठान्छन्?यसरी प्रवासमा सघंर्ष गरिरहेकी नारीहरुलाई किन गिद्दे नजरले हेर्छन्?किन नेपाली नारीहरुलाई अझैपनि असुरक्षित महसुस गराइन्छ?नारीलाई ईज्जत गर्ने देशमा समेत सबै नभनौं केही नेपालीले पाएसम्म नेपालकै प्रवृति गर्न पछी किन हट्दैन?नारीलेनै नारीलाई किन घोचपेच गरीन्छ?
आजभन्दा १ बर्षअघिका ति दिनहरुको याद घरीघरी यसरी आइहाल्छ र नै जानीनजानी लेख्नु तम्सिए।
संसारलाई व्यस्त र स्वस्थ बनाईरहने,सपना पुरागर्न,आत्मानिर्भर हुन सिकाउने रहर लाग्दो कोरियाले घरीघरी त उकुसमुकुस पारेरै छाड्ने रहेछ।
सुष्मा रानाहँमा
जनवरी,२०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter