सुन्तलाको मूल्य कुर्दै किसान

फिदिम : कुरुम्बाका तेजबहादुर लावतीले १५ रोपनी जग्गामा सुन्तला लगाएका छन् । लटरम्म फलेको चार सय सुन्तलाका बोटले पूरै बारी ढाकेको छ । बारीमा हुर्किएका चार सय बोटमा पहेलै पाकेका सुन्तला देख्ने सबैको मुख रसाउँछ । सुन्तलाको स्वाद लिन ग्राहकले पैसा फाले पनि तेजबहादुरले सुन्तला बिक्री गर्दैनन् । बरु दुई चार दाना चाख्न दिएर ग्राहकको चित्त बुझाइदिन्छन् । सुन्तला बेच्ने सिजन भए पनि अझै राम्रो मूल्य कुर्न उनले अहिले नै सुन्ताला बिक्री नगरेका हुन् ।
‘अहिले सयकडा तीन सयका दरले सुन्तला बेच्नुपर्छ’, तेजबहादुरले भने, ‘पुस १५ गतेदेखि सयकडा पाँच सयले सुन्तला बिक्री हुन्छ ।’ ‘अहिले नै सुन्तला बेच्दा घाटा लाग्दो रहेछ’, उनले भने, ‘अरुतिर सुन्तला सकिएपछि राम्रो मूल्य पाइन्छ ।’ गत वर्ष उनले सुन्तलाबाट करिब तीन लाख आम्दानी गरे । यो वर्ष सुन्तला बिक्रीबाट तीन लाखभन्दा धेरै आम्दानी गर्ने उनको लक्ष्य छ ।
सोही गाउँका अर्का सुन्तला किसान चेतराज लावतीको २० रोपनी बारीमा पाँच सय बोटका सुन्तला पहेलै छन् । गत वर्ष कम मूल्यमा सुन्तला बेचेर चेतराजले एक लाख रुपैयाँ मात्र आम्दानी लिए । यो उनका लागि चित्तबुझ्दो भएन । यो साल कम्तीमा दुई लाख आम्दानी गर्ने उद्देश्यले राम्रो मूल्य कुर्दैछन् चेतराज पनि । ‘सयकडा पाँच सयभन्दा कम मूल्यमा सुन्तला बिक्री गर्दिन’, चेतराजले भने, ‘केही समय पर्खेर भए पनि राम्रो आम्दानी लिने हो ।’ चेतराजले सुन्तला खेती गरेको १४ वर्ष पुग्यो । सुन्तलाबाट आम्दानी लिन थालेको नौ वर्ष भइसक्यो ।
यो साल अहिलेसम्मकै बढी मूल्यमा सुन्तला बिक्री गरेर राम्रो आम्दानी लिने चेतराजको योजना छ । पुस महिनादेखि सुन्तलाले राम्रो मूल्य पाउने उनीहरू बताउँछन् । यहाँ उत्पादन भएको सुन्तला जिल्लाभित्र खपत हुँदैन । स्थानीय बजार रबी र पञ्चमीमा केही मात्रामा सुन्तलाको खपत हुन्छ । उत्पादन भएको सबै सुन्तला जिल्लामा खपत नहुँदा दमकसम्म पु¥याएर बिक्री गर्छन् । ‘राम्रो मूल्य खोज्दै दमकसम्म सुन्तला बिक्रीमा लैजान्छौं’, चेतराज भन्छन्, ‘त्यहाँ जिल्लामा भन्दा केही राम्रो मूल्य पाउँछौँ ।’ कुरुम्बा सुन्तलाको पकेट क्षेत्र हो । यहाँका दुई सय ५० घर किसानले ५७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तलाको खेती गर्छन् । बारीमा पहेलै सुन्ताला पाके पनि यहाँका अधिकांश किसानले सुन्तालाको राम्रो मूल्य पाउने आशमा सुन्तला बिक्री गरेका छैनन् । – अन्नपुर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्