सबै जिल्लामा शान्तिपूर्ण मतदान, कहाँ कहाँ भयो गडबडी ? (यस्तो छ रिपोर्ट)

मधेस र पहाड दुबै ठाउँमा सहजै चुनाव सम्पन्न


२१ मंसिर, काठमाडौं । निर्वाचनको पूर्वसंन्ध्यामा देशैभरि बम आतंक मच्चिए पनि विहीबार देशैभरि शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । विगतमा झडपका घटनाहरु हुने गरेका तराई मधेसका जिल्लामा समेत यसपालि शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको छ ।अर्घाखाँचीका दुईवटा मतदानस्थलको मतदान स्थगित भए पनि अन्यत्र सबैठाउँमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै सर्लाही, भक्तपुर, स्याङ्जा र अछाममा पनि सामान्य झडपका घटना भएका छन् । तर, त्यहाँका कुनै पनि मतदान केन्द्रको मतदानमा भने अवरोध भएन ।
निर्वाचन आयोगले विहीबार साँझ पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार करिब ६७ प्रतिशत मत खसेको अनुमान गरिएको छ । तर, यो प्रतिशत अरु बढ्न सक्छ ।
यद्यपि स्थानीय निर्वाचनमा भन्दा यसपालि कम प्रतिशत मत खसेको छ । पहिलो चरणमा मंसिर १० गते ६५ प्रतिशतमात्रै मत खसेको थियो । स्थानीय चुनावमा भन्दा किन कम मत खस्यो भन्ने विश्लेषणको विषय हो ।
यद्यपि आम निर्वाचनको समग्र स्थिति हेर्दाखेरि शान्ति र भयरहित वातावरण विगतको भन्दा अत्यन्तै राम्रो देखिएको छ । अब मतपेटिका संकलन र गणनामा कुनै अप्रिय घटना भएनन् भने यो चुनावलाई शान्ति सुरक्षाको दृष्टिले उच्च मान्नुपर्ने हुन्छ ।
पूर्वी पहाडमा शान्तिपूर्ण मतदान
प्रदेश नम्बर १ नं अन्तरगतका पहाडी जिल्ला तेह्रथुम र धनकुटामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भयो । त्यहाँ कतै पनि शान्तिका घटना भएनन् । अब मतपेटिकाहरु आजै राति सदरमुकाम ल्याएपछि भोलिदेखि ती जिल्लामा मतगणना हुने आयोगका कर्मचारीले बताएका छन् ।
तेह्रथुमको मतदान पनि शान्तिपूर्ण रुपमा सम्पन्न भयो । त्यहाँ नेपाली कांग्रेसबाट सीता गुरुङ र वाम गठबन्धनबाट एमाले नेता भवानी खापुङवीच तीव्र प्रतिस्पर्धा देखिएको स्थानीय मतदाताले बताएका छन् ।
धनकुटामा पनि कुनै अवरोधविना शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको छ । ०६४ मा चुनावका बेला झडप भएर मान्छे मरे पनि यसपटक धनकुटामा कुनै पनि अप्रिय घटना भएन । जिल्लामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको अनि राप्रपा नेता सुनील थापा र एमाले नेता राजेन्द्र राईवीच प्रतिस्पर्धात्मक भोट खसेको आनन्दसन्तोषी राईले अनलाइनखबरलाई बताए ।
त्यस्तै, इलामबाट सहकर्मी सटेन्द्र जबेगुले दिएको जानकारीअनुसार जिल्लामा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ । इलाममा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ ।
इलामको मतगणना पनि भोलि बिहानदेखि गरिने आयोगका कर्मचारीहरुले जानकारी दिएका छन् ।
उदयपुरका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले अनलाइनखबरलाई दिएको जानकारीअनुसार उदयपुरमा ६० प्रतिशतभन्दा बढी मतदान भएको अनुमान गरिएको छ ।
जिल्लामा शान्तिपूर्णरुपमा मतदान भएको शर्माले बताए । ‘मतदाताले लाइनमा धेरैबेर बस्नुपरेन’, उनले भने, ‘बिहान ज्येष्ठ नागरिकहरुको बढी उपस्थिति देखियो भने दिउँसो युवाको बाक्लो उपस्थिति देखियो ।’

झापाका मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीका अनुसार झापाका ५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरुपमा मतदान भएको छ । जिल्लामा ७१.५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ  ।
झापाको ग्रामीण क्षेत्रको तुलनामा राजमार्ग आसपासको क्षेत्रमा कम मत खसेको पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले अनलाइनखबरलाई बताए । दक्षिणी क्षेत्रमा भने बढी मत खसेको सापकोटाको विश्लेषण छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–१ को नमूना माविस्थित मतदान केन्द्रबाट १०५ वर्षीय बृद्ध हरिप्रसाद वाग्लेले मतदान गरेका छन् ।
मोरङमा मतगणना भोलि, मतदान शान्तिपूर्ण
बिराटनगरबाट अनलाइनखबरकर्मी धुर्ब भट्टराईले दिएको जानकारीअनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भयो । जिल्लाका शहरी क्षेत्रमा ६० प्रतिशत र पहाडी क्षेत्रमा ६५ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।
साँझ ५ बजेसम्म मोरङका सबै मतदान केन्द्रमा मत खसिसकेको मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए । खतिवडाका अनुसार मोरङ १ निर्वाचन क्षेत्रमा ६५ प्रतिशत र अन्य निर्वाचन क्षेत्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ ।
जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको मतगणना विराटनगरस्थित आदर्श माध्यामिक विद्यालयममा हुनेछ । मुख्य निर्वाचन अधिकृत खतिवडाले ६ वटै निर्वाचन क्षेत्रको मतगणना आदर्श माविमा हुने जानकारी दिए ।
मतपेटिका बिराटनगर ल्याएपछि दलहरुसँगको सहमतिमा २२ गते बिहानदेखि मतगणनाको काम अघि बढ्न उनले जानकारी दिए । मोरङका उत्तरी क्षेत्र पहाडी इलाका पर्ने भएकाले मतपेटिका शुक्रबार राति १ बजेसम्म सदरमुकाममा ल्याइने उनले बताए ।
मुख्य निर्वाचन कार्यालय बिराटनगरका अनुसार ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा अधिकांश मतदान केन्द्रहरुमा मतदान प्रक्रिया सहज र शान्तिपूर्णरुपमा सम्पन्न भयो । मतदाताहरुको हसभागिता उत्साहजनक रहेको थियो ।
जिल्ला ६ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका १०८ उम्मेदवार छन् । यसैगरी १२ सिट रहेको प्रदेश सभामा ६१ उम्मेदवार चुनावी मैदानमा छन् । मोरङ जिल्लाका विभिन्न मतदान केन्द्रवाट जेष्ठ नागरिक र किरियापुत्रीले समेत मतदान गरे । जसमा बिराटनगरस्थित जनता निमावि मतदान केन्द्रवाट ९३ वर्षीय अम्विका रेग्मीले मत खासालिन् छिन् ।
त्यसैगरी, महेन्द्र मोरङ क्याम्पसवाट किरियापुत्री बसेका मोरङ जिसस प्रमुख नरेश पोखरेलले मतदान गरे । निर्वाचन सम्पन्न गर्न मोरङमा कूल ६ हजार ६४ जना कर्मचारी परिचालन गरिएको थियो ।
धरानमा बम, जिल्लामा शान्ति
कुल ४ वटा निर्वाचन क्षेत्रहरु रहेको सुनसरी जिल्लामा पनि शान्तिपूर्णरुपमा मतदान भएको छ । धरानको चन्द्र संस्कृत माविमा बिहान साढे ९ बजेतिर सकेट बम फेला परे पनि जिल्लामा कतै पनि अवरोध भएन । जिल्लाका दक्षिणी भेगमा समेत शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको स्थानीय सञ्चारकर्मी सचिन पोखरेलले अनलाइनखबरलाई जानकारी दिए ।
सुनसरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्रहरु छन् । सुनसरी जिल्लाका दक्षिणी भेगमा चुनावका बेला झडपका घटनाहरु हुने गरे पनि यसपालि त्यस्ता घटना देखिएनन् ।
सप्तरीमा शान्तिपूर्ण तर, लफडा
सधैं निर्वाचनमा झडपका घटनाहरु हुने गरे पनि यसपटक सर्लाहीलाई अपवादमा छाडेर तराईका जिल्लामा त्यस्ता अप्रिय घटना भएनन् ।सप्तरीको महादेवामा स्थानीय मतदाताहरु मतदान गर्न गएनन् । तथापि जिल्लामा निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको छ ।
जिल्लाको महादेवा माविमा अवस्थित मतदान केन्द्रमा भोट हालेर केही नपाइएको भन्दै स्थानीय मतदाताहरु मतदानस्थलमा नजाँदा कर्मचारीहरुले दिनभरि मतपेटि रुँगेर बस्नुपर्‍यो । साभार:अनलाइन खबर बाट 
 

यी समाचार पनि पढ्नुहोस्