सडकमा उत्रियो बिमान, सबै यात्रु सकुशल

तेहरान, १३ माघ (एजेन्सी) । इरानी यात्रुबाहक बिमान बान्दर–ए–मासार बिमानस्थलमा सोमबार अवतरण गर्नेक्रममा उछिट्टिएर नजिककै सडकमा आकस्मिक अवतरण गरेको इरानी अधिकारीहरुले बताएका छन् । राज्य सञ्चालित टेलिभिजनले स्थानीय अधिकारीहरुको भनाई उद्धृत गर्दै बिमानमा सवार यात्रुसमेत चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ ।
खुजेस्तान प्रान्तका नागरिक उड्डयन सेवाका प्रमुख मोहमड्रेजा रेजाइयाले बिमानका पाइलटले विमानस्थलमा बिमान ढिला अवतरण गराएका कारण बिमान अनियन्त्रित भएको बताएका छन् । इरानको क्यास्पियन एयरलाइन्सको स्वामित्वमा रहेको म्याकडोनल डग्लस बिमान राजधानी तेहरानको मेहराबाद बिमानस्थलबाट उडेको थियो । बिमानमा १३५ जना यात्रु र चालक दलका सदस्य थिए ।
टेलिभिजनले बिमानका सबै यात्रु सुरक्षित रहेको जनाएको छ । बिमानमै यात्रारत टेलिभिजनका पत्रकारले सडकमा बिमान अबतरण गर्नेक्रममा बिमानका पाङ्ग्राहरु फुटेको बताए । इरानी नागरिक उड्डयन संस्थाले बिमान दुर्घटनाका बारेमा छानबिन शुरु गरिसकेको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानबिरुद्ध आर्थिक नाकाबन्दी लगाएपछि विश्वका चर्चित बिमान कम्पनीहरु एयरबस र बोइङलाई आफ्ना जहाज इरानलाई बिक्री गर्न प्रतिबन्ध लागेको छ । प्रतिबन्धहरुका कारण इरानी हवाई सेवा असुरक्षित रहेको आरोप लाग्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *