विषादी नियन्त्रण किन हुँदैन

विषादीबाट क्यान्सर, किड्नी तथा कलेजो खराबी, नसा तथा प्रजनन समस्या जस्ता खतरानक रोग लाग्ने विषादी विज्ञहरू बताउँछन् । यसरी जनस्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्ने विषादीबारे नेपालमा सार्वजनिक गहन छलफल (डिस्कोर्स) नै हुँदैन । यो विषयमा डिस्कोर्स नहुँदा त्यस्ता रोगको जोखिम उच्च भएको अनुमान लगाउन सकिन्छ ।
Tikaram-Rai_1सन् १९५२ मा औलो उन्मूलन प्रयोजनको लागि अमेरिकी विकास नियोग (यूएसआईडी) मार्फत पहिलोपटक नेपालमा डिटीडी विषादी भित्रियो । त्यसयता कृषि, जनस्वास्थ्य र घरायसी प्रयोजनका लागि विषादी नेपालमा भित्र्याइन्छ । सबैभन्दा बढी कृषि प्रयोजनका लागि विषादी भित्रिन्छ । विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ३३ करोड रुपैयाँबराबरको विषादी कृषि प्रयोजनका लागि आयात भएको छ । ४० लाख रुपैयाँबराबरको विषादी मात्र सार्वजनिक स्वास्थ्य परियोजनका लागि आयात भयो ।
विषादी प्रयोग आफैंमा नराम्रो होइन । व्यावसायिक कृषिमा उत्पादन वृद्धि गर्न विषादी प्रयोग गरिन्छ । जर्नल अफ एग्रिकल्चर एन्ड इन्भारोमेन्ट, २०१२ अनुसार नेपालमा प्रति हेक्टर १४ ग्राम मात्र विषादी कृषिमा प्रयोग हुन्छ । दक्षिण कोरियामा प्रति हेक्टर १६.५ केजी, हंगेरीमा प्रति हेक्टर १२.५ केजी, इटालीमा प्रति हेक्टर १३.३ केजी, जापानमा प्रति हेक्टर १०.८ केजी, चीनमा प्रति हेक्टर २ केजी र अमेरिकामा प्रति हेक्टर १.५ केजी विषादीको प्रयोग कृषिमा हुन्छ । भारतमा विषादीप्रति हेक्टर ३८ ग्राम हुन्छ । प्रति हेक्टर १०.८ केजी विषादीको प्रयोग हुने जापानको जनस्वास्थ्य स्थिति प्रति हेक्टर १४ ग्राम र ३८ ग्राम विषादी प्रयोग गर्ने नेपाल र भारतको भन्दा धेरै गुणा राम्रो छ ।
माथिको तथ्यबाट स्पष्ट हुन्छ- मानव स्वास्थ्यका लागि विषादी आफंैमा खराब होइन । विषादीको दुरुपयोग र विषादी सुरक्षा विधि उपेक्षा, फितलो सरकारी अनुगमन र पैसाको लागि जे पनि गर्ने प्रवृत्ति समस्याको विषय हो । यी तीन कारणले गर्दा विषादीबाट किसान पीडित छन् नै, कृषक र तरकारीका उपभोक्ताहरू पनि विषादीको उच्च जोखिममा परेका छन् । यही कारण गाउँ तथा सहरमा क्यान्सर, कलेजो तथा किड्नी खराबी जस्ता रोगीको संख्यामा वृद्धि भइरहेको छ ।

कालीमाटीबाहेक उपत्यकाको अरू तरकारी बजारमा विषादी परीक्षण मेसिन राख्न कृषि मन्त्रालयले चासो नदिनु रहस्यमय छ ।

नेपालमा विषादी दुरुपयोग सामान्य भएको विज्ञहरू बताउँछन् । दर्ता नभएका विषादी आयात गर्नु, नक्कली विषादी बिक्रीवितरण गरिनु, अवधि समाप्त भएका विषादी बिक्री गरिनु र अव्यवस्थित विषादी भण्डारण गरिनु विषादी दुरुपयोग हो । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिकहरूका अनुसार किसानले अवधि सकेको र दर्ता नभएका विषादीको प्रयोग पनि अत्यधिक गरिरहेका छन् ।
कालीमाटी विषादी परीक्षण केन्द्रका प्रमुख मानबहादुर क्षेत्री नेपालमा कार्बोनेट र अर्गानोफोस्फेट समूहका विषादी मात्र पञ्जीकृत भएको बताउँछन् । तर नार्कमा संलग्न किरा वैज्ञानिकहरूका अनुसार यी समूहबाहेकका विषादीहरू पनि किसानहरूले प्रयोग गरिरहेका छन्, जसको बारेमा नेपाली विषादी विज्ञहरूलाई थाहा छैन । विषादीको दुरुपयोग गर्नु भनेको विष झुक्याएर खुवाउनु प्रकृतिको अपराध हो । तर त्यस्ता अपराध गर्नेलाई पाँच हजारसम्म जरिबाना र विषादी जफत हुने दण्ड सजाय हुने विषादी ऐनमा व्यवस्था छ । फितलो दण्ड सजायको कारण पनि विषादी दुरुपयोग अपराध मौलाएको हो ।
गत कात्तिक १० गते बीबीसी नेपाली सेवाको बिहानी पखमा ५६ हजार क्यान्सर रोगीमध्ये २१ हजार क्यान्सर रोगी किसान भएको समाचार प्रसारण भयो । उक्त समाचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको अनुसन्धानमा आधारित थियो । २१ हजार किसानलाई क्यान्सर रोग लाग्नुको कारण त्यो अनुसन्धानमा नखुलाइएको भए पनि विषादी नै त्यसको कारक तत्व हुन सक्छ भनी अनुमान लगाउन सकिन्छ ।
नेपाली किसानले विषादी प्रयोग गर्दा मास्क, पञ्जा प्रयोग त परै जाओस्, आङ ढाक्ने गरी लुगा नलगाई तरकारी र अन्न खेतीमा प्रयोग गर्छन्, जुन अत्यधिक घातक हो । त्यति मात्र होइन, विषादी लगाएपछि पर्खिनुपर्ने अवधि अघि नै तरकारी टिपेर बजारमा पुर्‍याउनु सामान्य हो । उपभोक्ताले पनि सामान्य सुरक्षाको विधि नअपनाई त्यसलाई पकाउँछन् । यसरी सहरिया उपभोक्ता पनि विषादीको जोखिममा छन् ।
बजारमा पुर्‍याइएको तरकारीमा विषादी भएनभएको र कानुनी रूपमा विषादी बिक्री भण्डारण तथा प्रयोग भए नभएको सुनिश्चित गर्न अनुगमन गरिन्छ । तर सरकारी अनुगमन फितलो हुँदा तरकारीमार्फत विषादी उपभोक्ताको भान्सा-भान्सामा पुगिरहेको छ । उपत्यकामा कालीमाटी तरकारी तथा फलफूल बिक्री केन्द्रमा र उपत्यका बाहिर ६ स्थानमा विषादी परीक्षण केन्द्र छन् । २०७१ असार ५ गते कालीमाटीमा र उपत्यका बाहिर गत साउनमा विषादी परीक्षण केन्द्र स्थापना भएको हो।
विषादी परीक्षणको लागि नमुना संकलन विधि गलत भएकाले विषादी नियन्त्रण प्रभावकारी हुन नसकेको हो । कालीमाटीमा तरकारी परीक्षणको लागि नमुना संकलन प्रत्येक स्टलमा वा गाडीबाट नगरी ‘रेन्डम’ (आफूखुसी) विधिबाट गरिन्छ । त्यति मात्र नभएर परीक्षण केन्द्रमा राखिएका मेसिनले कार्बोनेट र अर्गानोफस्फेट समूहको विषादीको अंश मात्र पहिचान हुन्छ ।
यी दुई समूहबाहेक विषादी प्रयोग भएका तरकारीमा विषादीको अंश मेसिनले पहिचान गर्न सक्दैन । त्यस अतिरिक्त उपत्यकाको कालीमाटीबाहेकका अरू तरकारी बजारमा सहज रूपमै विषादीयुक्त तरकारी बिक्री वितरण भइरहेको छ । कालीमाटीबाहेक उपत्यकाको अरू तरकारी बजारमा विषादी परीक्षण मेसिन राख्न कृषि मन्त्रालयले चासो नदिनु रहस्यमय छ ।
काठमाडौंको कालीमाटी, विर्तामोड, सर्लाही, पोखरा, नेपालगन्ज, बुटवल र कैलालीको अत्तरियामा तरकारी विषादी परीक्षण केन्द्र छ, तर ती केन्द्रलाई आवश्यक स्रोत साधनयुक्त बनाउन कृषि मन्त्रालयले चासो देखाएको छैन । परीक्षण केन्द्रको लागि कर्मचारी दरबन्दी सिर्जना नगरी काजमा खटाई कर्मचारीको टाउकोमा असुरक्षाको तरबार झुन्डाइएको छ । कार्यालय व्यवस्थित छैन ।
नयाँ विषादी पहिचान गर्न नसक्ने मेसिन मात्र राखिएको छ । कालीमाटी विषादी केन्द्र अवलोकन गर्दा यी सबै स्पष्ट हुन्छ । तरकारीका माफियाको प्रभावमा परी कृषि र अर्थ मन्त्रालयका ठूला कर्मचारीले विषादी परीक्षण केन्द्रलाई अप्रभावकारी बनाएको हो भन्ने बुझाइ उपभोक्तावादीको छ । उपभोक्तावादी ज्योति बानियाँको बुझाइ छ- तरकारी विचौलियाहरूको प्रभावमा ठूला कर्मचारी भएका कारण विषादीको जोखिम न्यूनीकरण गर्न वाधा पुगिरहेको छ ।
औषधि उत्पादक बहुराष्ट्रिय कम्पनीका एजेन्सीहरूको पहुँच सहज र प्रभाव नेपाली नोकरशाहमा भएकोले पनि विषादी जोखिम न्यूनीकरण प्रभावकारी रूपमा नभएको हो । विषादीको खपत वृद्धिसँगै रोगीको संख्या वृद्धि हन्छ । रोगीको संख्या वृद्धि हुँदा औषधि खपत बढ्छ । औषधिको खपत बजार विस्तार गर्नका लागि औषधि बिचौलियाहरूले विषादीको जोखिम बढाउन कर्मचारीलाई प्रभावमा पारी अनुगमनलाई फितलो पारेका मात्र छैनन्, जनस्वास्थ्यमा विषादीको नकारात्मक प्रभावबारे अनुसन्धान गर्न बजेट विनियोजन गर्दैनन् ।
त्यति मात्र होइन, विषादी प्रयोग सुरक्षासम्बन्धी जनचेतना वृद्धि गर्न र विषादी परीक्षण केन्द्रलाई स्रोतसम्पन्न बनाउन चासो दिँदैनन् । यस कुकर्ममा कृषि र अर्थ मन्त्रालयका अधिकारीहरू बढी जिम्मेवार छन् । साभार:अन्नपूर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्