विवादै विवादमा मुछिएको यूपीएफ, जसका कारण सरकारले बदनामी कमायो

१४ मंसिर, काठमाडौं । १५ सय विदेशी अतिथी एकसाथ आउने दाबी गरिएको एसिया प्यासिफिक समिट–२०१८ भोलिबाट काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनमा सरकारको सहभागितालाई लिएर जनस्तरमा अनेकन प्रश्नहरु उठिरहेका छन् । सम्मेलनको आयोजक हो, यूनिभर्सल पिस फेडरेसन (युपीएफ), जसको नेपाल च्याप्टर पनि छ ।

एउटा गैरसरकारी संस्थाले विभिन्न देशका यतिधेरै पाहुनालाई काठमाडौंमा ल्याएर कार्यक्रम गर्दा किन विरोध भइरहेको छ ? के गर्छ यो संस्थाले ? किन सरकारको सहभागितालाई यति धेरै आलोचना भइरहेको छ ? यो धेरेलाई चासो छ ।

अहिले धेरै आलोचना क्रिश्चियन चर्चले आयोजना गरेको सम्मेलनमा सरकारको प्रत्यक्ष संलग्नतामा छ । तर, यो संस्थाको गतिविधि त्यतिमा मात्र सिमित नभएको पाइएको छ । यो संस्थाले देशभरका बालबालिकालाई जम्मा गरेर तालिमका नाममा ‘क्रिस्चियानिटी’को सैद्दान्तिक र व्यवहारिक अभ्यास गराउनेदेखि लिएर युवाहरुलाई विदेश पठाएर माग्न लगाउनेसम्म गरिरहेको पाइएको छ ।

नेपालमा यूनिभर्सल पीस फेडरेसन कसरी सञ्चालित भइरहेको छ भनेर जान्नुअघि यसको मातृसंस्था युनिफिकेसन चर्च र त्यसका संस्थापक सन म्योङ मुनका बारेमा जानौं :

विश्वमै विवादित धर्मगुरु रेभरेन्ड सन म्योङ मुनले सन् २००५ मा युनिफिकेसन चर्च स्थापना गरेका हुन् । जिसस क्राइस्टले पुरा गर्न नसकेको जिम्मेवारी दिएर ईश्वरले आफूलाई धर्तिमा पठाएको उनी बताउने गर्थे ।

सन् २००४ मा उनले आफैंलाई ‘मसिहा’ घोषणा गरेका थिए । अनुयायीहरु मुनलाई ‘ट्रु फादर’ ((नेपालीहरुले सच्चा पिता) सम्वोधन गर्छन् । उनकी दोस्रो पत्नी हाक जा हान मुनलाई ‘ट्रु मदर’ (नेपालीहरुले सच्चा माता) भन्ने गरिन्छ भने दुवैलाई संयुक्तरुपमा ट्रु प्यारेन्ट्स (नेपालमा सच्चा मातापिता) भन्ने गरिन्छ ।

३ सेप्टेम्बर २०१२ मा मुनको मृत्यु भएपछि उनकी पत्नी हानले श्रीमानको स्थान लिएकी छन् । पहिलो श्रीमती सुन किल चोइसँग डिभोर्सपछि मुनले ४० वर्षको उमेरमा आफूभन्दा २३ वर्ष कान्छी हानसँग बिहे गरेका थिए । उनीहरुले आफ्नो परिवारलाई ‘पवित्र परिवार’ वा ‘सच्चा परिवार’ बताउने गरेका छन् ।

मुन जन्मेको स्थान अहिले उत्तर कोरियामा पर्छ । उनी १० वर्षको हुँदा परिवारले कन्फ्यूसियन विचारधारा त्यागेर क्रिश्चियन धर्म अंगिकार गरेको थियो । १९४७ मा उत्तर कोरियाली सरकारले मुनलाई दक्षिण कोरियाका लागि जासुसी गरेको भन्दै पाँच वर्षको जेल सजाय तोक्दै हुङनाम लेवर क्याम्पमा राख्यो । जेलबाट निस्किँदा उनी उग्रकम्युनिस्ट विरोधी भए । उनले कम्युनिष्टहरुलाई सैतानको संज्ञा दिन्थे । मुलधारका क्रिश्चियनहरुले भने मुनलाई कुनै मान्यता दिएका छैनन् । तेस्रोलिंगीहरुलाई ‘…. कुकुरहरु’ को संज्ञा दिएका छन् ।

जेलबाट छुटेपछि सन् १९५४ मा मुनले दक्षिण कोरियाको सियोलमा बाइबललाई नयाँ ढंगले अथ्र्याएर परिवारवादको वकालत गर्दै ‘होली स्पिरिट एसोसिएसन फर द यूनिफिकेसन अफ द वर्ल्ड क्रिस्चियानिटी’ स्थापना गरे । १९७१ मा अमेरिका गएर आफ्नो अवधारणामाथि प्रवचनहरु दिन थाले । तर, १९८२ मा कर छलेको अभियोगमा १८ महिना जेलमा थुनिए भने १५ हजार डलर जरिवाना तिरे ।

मुन आफ्ना अनुयायीहरुसँग ठूला–ठूला डिमान्डहरु गर्ने गर्थे । उनले कोरियामा धन दौलतको ठूलो साम्राज्य नै खडा गरेका छन् । उनका थुप्रै विजनेसहरु पनि छन् । सन् १९८२ मा उनले अमेरिकामा वासिङ्टन टाइम्स स्थापना गरेका थिए ।

मुनबारे लेखिएको विभिन्न लेख तथा पुस्तकअनुसार उनी अनुयायीहरुसँग पनि ठूला–ठूला उपहार र डोनेसनको डिमान्ड गर्थे । उनलाई सबैभन्दा बढि डोनेसन जापानबाट आउँथ्यो । जापानीहरुबीच धर्मान्धता फैलाएको भनेर त्यहाँको सरकारले उनलाई आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको थियो ।

८७ वर्षको उमेरमा मुनले आफ्नो प्राइभेट जेटमा एक सय ९२ देशको भ्रमण गरेका थिए । यही सिलसिलामा नेपाल पनि आएका थिए । त्यतिबेला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भव्य कार्यक्रम भएको थियो । त्यो कार्यक्रम आयोजक समितिको संयोजकमा तत्कालिन सभामुख सुभासचन्द्र नेम्वाङ थिए ।

नेपालमा यूनिफिकेसन चर्च

यूनिफिकेसन चर्चको एउटा अंगका रुपमा रहेको युनिभर्सल पीस फेडरेसन नेपालमा २००५ मा नै भित्रिएको हो । नेपालमा यो छद्मभेषी ढंगले सञ्चालित छ । यसलाई आईएनजीओको रुपमा दर्ता गरी सामाजिक संस्थाको रुपमा चिनाउने गरिएको छ तर, संस्थाभित्र क्रिश्चियानिटीको अभ्यास हुन्छ ।

नेपालमा यो संस्था फस्टाउनुमा पूर्वमन्त्री एकनाथ ढकालको ठूलो हात छ । गोर्खा घर भएका उनी आफ्नो चतुरताका बलमा यूपीएफको अन्तर्राष्ट्रिय लिडर बनिसकेका छन् । उनी अहिले यूपीएफको अन्तर्राष्ट्रिय ¥याङ्किङमा पाँच नम्बरमा छन् ।

परिवार दल गठन गरेर संविधानसभामा प्रवेश गरेका उनले त्यही आडमा नेताहरुसम्म पहुँच पु¥याएका छन् । त्यसकै परिणाम हो, यो कार्यक्रममा सरकारको संलग्नता ।

यो संस्थाको हेड अफिस नक्सालमा छ, जसलाई पीस एम्बेसी भन्ने गरिन्छ । आफ्नै स्वामित्वको भवन भए पनि त्यहाँ संस्थाको साइनबोर्ड राखिएको छैन । हरेक शनिबार त्यहाँ प्रार्थना सभा हुने गर्छ, जहाँ ‘हालेलुया’ भन्दै क्रिश्चियन गीत गाइन्छ । एकनाथले मुनका सिद्दान्तहरुबारे अंग्रेजीमा प्रवचन दिन्छन् ।

यूपीएफ नेपालको वेबसाइट भने २०१३ देखि अपडेट छैन । यो संस्थाले ‘युनिभर्सल टाइम्स’ नामक साप्ताहिक पत्रिका निकाल्छ, जसको प्रत्येक अंकमा मुनका प्रवचनहरु समावेश हुन्छ ।

यूपीएफ नेपालको प्रमुख धन्दा र आयस्रोत हो फन्ड रेजिङ । स्वदेशमा मात्रै नभएर युवाहरु विदेश पठाएर पनि फन्ड रेजिङ गरिन्छ । कोरिया, जापान, फिलिपिन्स, अमेरिका लगायत विभिन्न देशमा नेपाली युवाहरुलाई पठाएर फन्ड रेजिङका नाममा माग्न लगाइन्छ ।

नेपालका विपन्न बालबालिकाको तस्वीर संग्रहित फाइल बोकेर सियोल, बुसानलगायत सडकहरुमा नेपालीहरु ‘मुर्गा’ खोजिरहेका हुन्छन् । पैसा माग्नका लागि उनीहरुलाई थोरै कोरियन सम्वाद घोकाएर पठाइएको हुन्छ । यस्ता ‘मगन्ते’बाट कोरियनहरु आजित भइसकेका छन् । त्यसैले नेपाली अनुहार बाटोमा देखेपछि साइड लागेर हिँड्छन् ।

यसरी उठाएको पैसा फन्ड रेजरले यूपीएफमा ९० प्रतिशत पठाउँछन् भने १० प्रतिशत आफूले राख्छन् । नेपाली माग्नेहरुले दुःख दिएपछि कोरियाली सरकारले नै नेपालीहरुलाई पैसा नदिन बारम्बार नोटिस जारी गर्ने गरेको छ । तर, केही दयालु कोरियनहरु अझै पैसा दिइरहेका छन् । सियोलबाहेक बुसानमा पनि यी यी मगन्तेहरु पुग्छन् । प्रहरीले भेट्यो भने उनीहरुलाई पक्रेर पिट्ने, थुन्ने गरेको छ ।

दक्षिण कोरियामा रहेका अशोक मैनाली भन्छन्, ‘उनीहरुकै कारण नेपाली बदनाम भएका छन् । कोरियालीहरुको नेपालप्रतिको दृष्टिकोण नै नकारात्मक बनेको छ ।’

युपिएफ नेपालका अध्यक्ष सन्तोष पौडेल भने आफूहरूले जवरजस्ती चन्दा नमागेको तर, संस्था सञ्चालनका लागि फन्ड रेइज गर्नु सामान्य रहेको प्रतिक्रिया दिएका छन् । भन्छन्, ‘राम्रो कामका लागि पैसा उठाउनु गलत होइन । सरकारले लिने कर पनि त फन्ड रेइज नै हो ।’

यूपिएफ नेपाल अन्तरगत सिद्दान्त महाविद्यालय भन्ने संस्था छ, जसले काठमाडौंलगायत देशका विभिन्न स्थान २१ दिने ‘लिडरसिप ट्रेनिङ’ गराउँछ । तर, यस्तो ट्रेनिङमा संलग्न किशोर–किशोरीहरुलाई क्रिस्चियानिटीको अभ्यास गराइने गरेको छ । उनीहरुले मुनको नाममा प्रार्थना गरेपछि मात्रै खाना खान पाउँछन् ।

बिहान बेलुकी मुन दम्पत्तिको तस्वीरमा लम्पसार परेर ढोग्नुपर्छ, जसलाई ‘बाओ’ भन्ने गरिन्छ ।

मुनको सिद्दान्तबारे पढाएपछि किशोर–किशोरीहरुलाई फन्ड रेजिङका नाममा पेन र डायरी बेच्न पठाइन्छ । उनीलाई सडक–गल्ली, घर तथा अफिसमा कलम, डायरी लगायत स्टेसनरी सामान बोकाएर खटाइने गरेको छ । काठमाडौंका सडकमा २०६३÷६४ को आन्दोलनपछि यस्तो जताततै भेटिन्थ्यो । उनीहरुलाई ती सामानहरु ३ सय प्रतिशतसम्म बढि मूल्यमा बेच्न लगाइन्छ । थोकमा बाहिर २० रुपैयाँमा पाइने कलम उनीहरुले ६० रुपैयाँमा बेच्नु पर्छ । यसरी बेच्नका लागि उनीहरुलाई विभिन्न कथनहरु घोकाइएको हुन्छ ।

यसरी देश विदेशबाट उठाएको पैसा कहाँ जान्छ त ?

आम्दानीको ठूलो हिस्सा विदेश भ्रमणमा खर्च हून्छ । संस्थाका प्रमुख एकनाथ ढकाल विदेश सयरमा किर्तिमान नै राखेका छन् । बारम्बार विदेश घुम्छन् । यो सम्मेलनका लागि निम्ता बाँड्ने क्रममा उनी आफैं प्रत्येक देश पुगेका थिए ।

उनले विभिन्न राजनीतिक दलका नेतालाई रिझाउन विदेश घुमाउने गरेका छन् । यो संस्थाबाट बारम्बार विदेश (खासगरी कोरिया) घुम्न पाउने ‘भाग्यमानी’ हरुमा नेकपा, नेकपाका नेताहरू छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल यो सम्मेलन आयोजक कमिटीको संयोजक बन्न तयार हुनुको कारण पनि विदेश भ्रमण मोह नै हो । कोरियामा उनी मुनको दरबारमा पुगेर मुन दम्पत्तिलाई ‘बाओ’ गरिसकेका छन् ।

कोरिया लगिने नेताहरुलाई फाइभस्टार होटलमा राखिन्छ र एक दिन मुनको दरवारमा लगेर घुमाइन्छ । एकनाथले सबैजसो उच्च तहका नेताहरुलाई एकसरो कोरिया लगिसकेका छन् ।

धर्मान्तरण अनिवार्य छैन

मुनका नेपाली अनुयायीहरु हिन्दू र क्रिस्चियन धर्मलाई समानान्तररुपमा अपनाइरहेका छन् । नेपालमा यो संस्थामा लाग्न हिन्दू धर्म त्याग्नुपर्ने अनिवार्यता गरिएको छैन ।

एकनाथ ढकाल स्वयम्ले आमाको मृत्यु हूँदा हिन्दू रितअनुसार किरिया गरेका थिए । उनी दशैंमा टीका पनि लगाउँछन् र जनै लगाउने गरेको दाबी पनि गर्छन् । यो संस्थामा लाग्ने अन्य पनि बिदेश घुम्ने र पैसा कमाउने मोहमा क्रियाशील रहेका छन् ।

के हो ब्लेसिङ ?

यो संस्थामा जोडिएकाहरुले आफूखुशी विहे गर्न पाउँदैनन् । नेपालमा पनि यस संस्थाका सदस्यहरुलाई आफ्नो रोजाईमा परम्परागत तरिकाले बिहे गर्न दिइँदैन । कसैले गरिहाले पनि ब्लेसिङ नगर्दासम्म संस्थाले मान्यता दिँदैन ।

संस्थाका लिडरले केटा र केटीहरुलाई ‘म्याचिङ’ गराइदिन्छन् । यो कामको सुरुवात मुनले नै गरेका हुन् । सुरु–सुरुमा बिहे गर्न इच्छुक अनुयायीहरुले उनलाई आफ्नो फोटो पठाउँथे । त्यही फोटो हेरेर मुनले उनीहरुको म्याचिङ गराउँथे । नेपालमा विदेशी केटीहरुसित ‘म्याचिङ’ भएर बिहे गरेका लिडरहरुले उच्च बरियता पाउँछन् । नेपाली लिडरहरुले प्राय फिलिपिनो महिला बिहे गरेका छन् ।

बेलाबखत संस्थाले आयोजना गर्ने सामूहिक विवाह समारोहमा ब्लेसिङ दिइन्छ । ब्लेसिङ गर्दा मुनले टाउकोमाथि हात राखिदिन्छिन् । ब्लेसिङको परम्परा मुनले सन् १९८२ मा सुरु गरेका हुन् । विश्वभर आफ्नो पारिवारिक साम्राज्य खडा गर्ने भन्दै उनले विवादास्पद तरिकाबाट ब्लेसिङ सुरु गरेका थिए ।

ब्लेसिङको सबैभन्दा महत्वपूर्ण रिति हो होली वाइन पिउने । के हो त होली वाइन ?

रक्सीमा विभिन्न तत्व मिसाएर होली वाइन बनाइन्छ । नेपालमा होली वाइन बनाउने मूल तत्व कोरियाबाट नै आउँछ । भोलि हुने ब्लेसिङमा प्रधानमन्त्री दम्पत्ति लगायतलाई यस्तो होली वाइन पिउन लगाइन्छ वा सेचन मात्रै गरिन्छ भन्ने प्रष्ट छैन ।

अचम्मको सिद्दान्त

यो चर्चको प्रमुख मार्गदर्शन भनेको ‘छन् सङ ग्योङ’ नामक पुस्तक हो । यसमा मुनका केही घृणित र आपत्तिजनक कथनहरु समेत समावेश छन् ।

उनले किताबको एक ठाउँमा भनेका छन्, ‘आफ्नो पतिले कतै थुकेको देखेमा पत्नीले त्यसलाई पुछ्नु वा पखाल्नु हुँदैन, जिभ्रोले चाट्नुपर्छ ।’

त्यस्तै अर्को ठाउँमा भनेका छन्, ‘श्रीमानको हातबाट चुटाई खानुलाई कुनै पनि महिलाले आफ्नो अहोभाग्य सम्झिनुपर्छ । जति चुटाई खायो उति पत्नीले खुशी हुनुपर्छ ।’

उनले किताबमा आफ्ना अनुयायीहरुलाई तीन रातसम्म आफ्नो (मुनको) तस्वीर अगाडि राखेर यौनसम्पर्क गर्न निर्देशन दिएका छन् । मुनले सेक्स गर्दा परिवार नियोजनको साधन प्रयोग नगर्न आदेश दिएका थिए । यो अहिले यस चर्चको नीतिकै रुपमा छ ।

पैसाको बलमा राजनीति

एकनाथ ढकालले पहिलो संविधानसभाको चुनावमा परिवार दल गठन गरेर समानुपातिकतर्फ प्रतिस्पर्धा गरेका थिए । त्यो चुनावमा पैसाको खोलो बगाएका थिए । जुन जिल्लाबाट बढि भोट आउँछ, त्यही जिल्लाको नेता सभासद बनाउने भनेर माइन्यूटिङ गरिएको भए पनि एक सिट आएपछि ढकाल आफैं सांसद बने ।

गोरखा जन्मस्थान भएका ढकालको काठमाडौंको महाराजगञ्जमा र चितवनमा घर छ । संस्थाको महिला सगठनकी अध्यक्ष उनले आफ्नी पत्नी ब्लेसी (फिलिपिनो नागरिक) लाई बनाएका छन् । पैसाको बलमा ढकालले राजनीतिमा आफ्नो पकड बनाइरहेका छन् । सबै दलका शीर्ष नेताहरुसँग उनको पहुँच छ किनकी सबैलाई उनले विदेश घुमाउन भ्याइसकेका छन् ।  स्रोत:अनलाईन खबर बाट 

यी समाचार पनि पढ्नुहोस्