रियो ओलम्पिकमा सहभागीलार्इ एक हजार डलर

काठमाडौं : नेपाल ओलम्पिक कमिटी (एनओसी) ले रियो ओलम्पिकमा सहभागी सात खेलाडीलाई आइतबार नगदसहित सम्मान गरेको छ । आइतबार आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले खेलाडीलाई जनही एक हजार अमेरिकी डलरसहित सम्मान गरे ।
ब्राजिलको रियो दी जेनेरियोमा गत वर्षको अगस्ट ५ देखि २१ तारिखसम्म भएको ओलम्पिकमा नेपालबाट आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सका हरिकुमार रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपूल्हामु खत्री, पौडीका शिरीष गुरुङ र गौरिका सिंह तथा तेक्वान्दोकी निशा रावलले प्रतिस्पर्धा गरेका थिए।
पौडीकी गौरिका सिंह रियो ओलम्पिकमा सहभागीमध्ये कान्छी खेलाडी बनेकी थिइन् । उनी १३ वर्षको उमेरमै ओलम्पिकमा सहभागी भएकी थिइन् । खेलाडीलाई सम्मान गर्दै अध्यक्ष श्रेष्ठले जापानमा हुने २०२० को ओलम्पिकमा खेलाडी सहभागिता बढाउने बताए । उनले खेलाडीलाई बैदेशिक प्रशिक्षण र राम्रो प्रशिक्षकको ब्यवस्था गरिने पनि बताए ।
रियो ओलम्पिकमा नेपालबाट पाँच खेलका सात खेलाडीले सहभागिता जनाएका थिए । जसमा तीन पुरुष र चार महिला थिए । आर्चरीको पुरुष व्यक्तिगततर्फ जितबहादुर मोक्तान सहभागी भएका थिए । एथलेटिक्समा पुरुष पाँच हजार मिटेरमा हरि र महिलाको १५ सय मिटरमा सरस्वतीले सहभागिता जनाएकी थिइन् । सरस्वतीले आ-आफ्नो स्पर्धामा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।
त्यसैगरी जुडोतर्फ फुपूले महिला ६३ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । पौडीमा शिरीषले पुरुष एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए । उनले ५७ दसमलव ७६ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ कीर्तिमान रचेका थिए । गौरिकाले महिला एक सय मिटर ब्याकस्ट्रोकतर्फ प्रतिस्पर्धा गरेकी थिइन् । तेक्वान्दोबाट निशाले महिला ६७ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी सातौं स्थानमा आएकी थिइन् । – साभार:अन्नपुर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्