मेरो पहिलो राजस्वला : छाउगोठमै बिते सात दिन

भट्भट् भट्भट्, भट्भट् भट्भट् । उफ ! मुटु नि कति साह्रो भट्किएको ? एक घन्टा हुन लागिसक्यो । यति गाह्रो त कहिल्यै भएको थिएन । बाख्री खोरको भित्तानिर उभिएकी छु, रित्तो डोको बोकेर । साउनको महिना । बिहानपख । झरी भर्खर रोकिएको छ । खरको छानाबाट ओर्लिएको बलेसीको पानीले टाउको रुझाइरहेको छ । घाँस काट्न गएकी थिएँ । बिहानभरको पानीले भिजेको घाँस काट्दा मिड्डी लुत्रुक्कै भिजेर तिघ्रामा टाँसिएर बसेको छ । हाफ बाउले टिसर्ट पनि बलेसीको पानीले विस्तारै भिज्दैछ । बुर्कुसी मारिरहेछ मुटु । बलेसीको पानीले भिजाएर होला हातखुट्टा काँपिरहेछन् । बोकेको रित्तो डोको अड्याउन दुई हातले नाम्लोको काइनो समातेकी छु । काँपिरहेको शरीरमाथिको डोको चैते हुरीले हल्लाएको केराको पातभन्दा कम्ती हल्लिएको छैन । उता घरमा सबैजना खाना खाएर भित्र बाहिर गरिरहेजस्तो छ । बुवाले ठुल्दिदी, माइली दिदी र आमालाई छिमेकीको धान गोड्न भनेका छन् जाउँ भनेको सुनिन्छ ।
चुपचाप गइदिए हुन्थ्यो नि । मलाई कसैले नखोजे हुन्थ्यो नि । कसैले नदेखोस् भनेर भित्ताले छेकिएर उभिएकी छु । विडम्बना ! त्यति बेला आमा नै मेरो सम्झना आइदियो । होइन, बेला कुबेला यी आमाहरू किन छोरी सम्झन्छन् ? आमाको आवाज सुनियो, ‘यो साइँली यति बेलासम्म किन आइन ? यहाँ भातले जरा हालिसक्यो । छिटो आएर खाइदिए जुठो भाँडो गरेर म पनि मेलातिर हिन्थेँ नि । यी छोरीहरू भने जता गयो उतै हराउँछन् ।’
‘ए साइँली, साइँली…’ भन्दै आमाले बोलाउन थालेपछि कसैले नदेखोस् भन्ने मेरो कामना हरायो । तैपनि बोलिनँ । अँ, आत्तिएर यताउता हेर्न थालेँ । तल्लो घरकी बज्यै घरबाट बाहिर निस्कनुभयो । ‘हाम्री घरकी साइँली त्यता आइछ कि ? ‘ आमाको प्रश्न भुइँमा झर्न नपाउँदै मलाई देखाउँदै बज्यैले भनिन्, ‘ऊ त्यो को हो त ? साइँली होइन र ? बाख्राको खोरपछाडि उभिएकी ।’ आमा हतारहतार म भएको ठाउँतिर आइन् । उनी आइनपुग्दै म डरले काँप्न थालिसकेकी थिएँ ।
‘के भयो र ? किन उभिएकी ? घर हिँड् । आज गोरुलाई कुँडो पकाएको छ । खाना खाइसकेपछि लिएर खेत जानू’, आमाले एक सासमै दिनभरको योजना सुनाइन् । म भने स्थिर भएँ, मूर्तिजस्तो । मुखमा हेरेर उनले सोधिन्, ‘तँ छुई त भइनस् कतै ? किन घर जान मान्दिनस् ।’ उफ् ! कति अप्ठेरो प्रश्न ? कसरी भन्नु ? लाग्यो, एउटा भयानक गल्ती भएको छ । लाग्यो, एउटा अपराध भइसकेको छ । भन्न खोजेँ तर शब्द कता हरायो कता ! केवल टाउको हल्लाएर संकेत गरेँ— हो, म छुई भएकी छु । पहिलोपटक । जिन्दगीमै पहिलोपटक ।
‘यहीँ बस् म खाना लिएर आउँछु, यहीँबाट खेत जालिस्’ भन्दै आमा घरतिर लाग्नुभयो । म भने पूरा केही सोच्न पनि नसकी एकोहोरिएर उभिइरहेँ । आमाले खाना ल्याउँदा बज्यैले थाहा पाइछन् क्यारे । ठूल्ठूलो स्वरले कराइन्, ‘को छुई भई ? हुन त घरभरि झाक्रेका बगाल छन् । अब घरभरि छुई नरोकी जात्रा हुने भयो ।’ आमाको अनुहार अँध्यारियो । मलीन अनुहारले मेरो नजिक खाना राख्दै भनिन्, ‘बुवाको अनुहार हेर्न मिल्दैन । खाना खाएर यहीँबाट खेत जानू । गोरुलाई घाँस छाप्रो बनाउनू । साँझ कसकोमा सुत्ने हो, म खबर गरूँला ।’ आमा गइन् । अघिसम्म तिनै आमाले नदेखे हुन्थ्यो भनेर बसेकी मलाई अहिले भने सारा सहारा सँगैसँगै गएजस्तो लाग्यो । डर र लाजले गलेकी म खाना खाए नखाएको गरेर त्यहीँबाट डोको बोकेर खेततिर लागेँ ।
०००
स्कुलको बर्खे बिदा सकिन तीन दिनमात्र बाँकी छ । गाउँमा सबैका रोपाइँ सकिइसकेका छन् । गोरु फुर्सदमा छन् तर मान्छेलाई फुर्सद छैन । यति बेला घरभन्दा टाढा खेत हुनेहरू फुर्सदमा बसेका गोरु लगेर मल बनाउन लाग्छन् । हाम्रो पनि अलि टाढा गोरु लगेर खेतका लागि मल बनाउन राखेको हप्ता दिन भयो । बिहान बुवाले गोरुलाई घाँस हाल्न को जान्छ, एक बहिनी जाऊ भनेपछि म रोटी खाएर खेतमा गएकी थिएँ ।

बल्ल झल्याँस्स भएँ । लौ न नि म पनि छुई भइछु । एकाएक भर्खरैको मनोरम संसार अँध्यारो भयो । बिहानी वातावरणले ज्यानभरि छरेको उल्लास बगिरहेको रगतले एकैबाजी कता लग्यो कता पत्तै भएन । एकाएक मुटु भड्किन थाल्यो ।

बाटोका खरबारी हरिया देखिन्छन् । भर्खर हुर्कंदै गरेका धानका हरिया बोटहरूले सबैका खेत हरियो बिछ्यौना बिछाएजस्तो देखिएका छन् । रातभरिको झरीले उर्लिएका खहरेहरू पनि आफ्नो ठाउँमा आइसकेका थिए । त्यो भन्छ नि गीतमा पानी परेपछि खुलेको आकाश ! हो त्यस्तै खुलेको मौसममा रमाउँदै घाँस काटेँ । घाँस काटेर फर्कंदै थिएँ अचानक पेट दुख्न थाल्यो । किन अचानक पेट दुख्यो भनेर सोच्दै हिँडिरहेको थिएँ, अलि अलि गरेर दुखाइ बढ्यो । एकैछिनपछि त सहनै नसक्ने गरी पेट दुख्न थाल्यो ।
यता घर जान ढिला भइसकेको थियो । ह्या.. ! जतिसुकै ढिलो भए पनि होस्, एकछिन बसेर जान्छु भन्दै बाटोको छेवैमा रहेको ढुंगामा थुचुक्क बसेँ । पेट दुख्न छोडिहाल्छ कि भन्ने आशा थियो तर रत्तिभर कम भएन । गइहाल्छु योभन्दा बढी दुख्न थाल्यो भने हिँड्न नसकिएला भन्दै उठेको त बसेको ठाउँमा रगत लागेको छ । यसो मिड्डी छामेँ, त्यसमा नि रगतै छ । जुका लाग्यो कि भनी सबैतिर हेरेँ, देखिनँ । झट्ट केही दिनअघिको प्रसंग सम्झिएँ ।
केही दिनअघि दिदीसँगै म घाँस काट्न गएकी थिएँ । छिमेकी फुपूले दिदीसँग भनेकी थिइन्, ‘हेर्न डम्बरु आज मेरो पेट दुखेको छ । पहिलो चोटि छुई हुँदा पनि यस्तै दुखेको थियो ।’ मेरी दिदीले ‘मेरो पनि खुब दुख्छ’ भनेकी थिइन् ।
बल्ल झल्याँस्स भएँ । लौ न नि म पनि छुई भइछु । एकाएक भर्खरैको मनोरम संसार अँध्यारो भयो । बिहानी वातावरणले ज्यानभरि छरेको उल्लास बगिरहेको रगतले एकैबाजी कता लग्यो कता पत्तै भएन । एकाएक मुटु भड्किन थाल्यो । हो, त्यहीँ भड्किरहेको मुटु लिएर डर, अन्योल, अत्यास र सकस बोकेको मेरो शरीर कसैले नदेखोस् भन्ने चाहनाले बाख्री खोरको भित्तानेर लुक्न पुगेको थियो ।
०००
आमाले छोडेर गएपछि डोको बोकेर खेततिर हिँडेँ । अत्यास छाएको थियो शरीरमा । मन त थियो दिनभरि बिछ्यौनामा पल्टिरहूँ । तर, छुई भएकी केटीलाई कहाँ त्यो सुख ? दुखिरहेको पेट, बुर्कुसी मारिरहेको मुटु र अपरिचित डर बोकेर खेततिर हिँडे । दिनभरि आमाको मलीन अनुहार आँखावरिपरि घुमिरह्यो । घरिघरि बज्यैले घरभरि छुई हुनेहरूको छात्र हुने भयो भन्दै कराएको आवज गुञ्जिरह्यो । दुखेको पेटसँगै रगत पनि बगिरह्यो । लाग्यो, मेरा लागि कुनै अनिष्ट हुँदैछ । सायद भयंकर ठूलो भवितव्य आउँदैछ मेरो जीवनमा । भोक लाग्यो तर घर जाने आँट आएन ।
घाम कति बेला खेतको पल्लो डाँडापारि जाला र घर जाऊँला भन्दै खेतको वल्लो छेउ पल्लो छेउ गरिरहेँ । खुट्टासम्म बगेको रगत घाँसको मुन्टाले पुछ्दै फाल्दै गरेँ । घाम डाँडापारि छिरेपछि गोरुलाई घाँस हालेर बेचैन मन बोकेर घरतिरको उकालो लागेँ । दिनभर कति बेला घर जाऊँ भएको मन उकालो लागेपछि घरमा बस्न पाइँदैन भन्ने पिरलोले तड्पिन थाल्यो । पहिलोपटक छुई भएकी केटीलाई त छाउगोठमा पठाउँछन् बाबै । सुत्ने गोठ कस्तो होला ? राति कसरी निदाउने हो ? मनभरि अनेक तर्कना उठिरहे । डरले फतक्कै गलेँ म त ।
म पुग्नुभन्दा अघि नै आमा मेरा लागि भनेर आफूले लगाएर पुरानो भएपछि बनाएको गुन्यूको थरो, एउटा पुरानो पातलो चौरीकोट, मैले बिहान खाना खाएको भाँडा र एक जोर कपडा लिएर उभिएकी थिइन् । मेरो हातमा तिनै सामानको पोको थमाएर घरभन्दा परको गोठ देखाउँदै त्यहीँ जान भनिन् । त्यही थियो मेरो लागि छुट्ट्याइएको छाउगोठ । निकै पराजित भएजस्तो भयो । आमातिर हेर्दै हिँड्दै हेर्दै हिँड्दै त्यो गोठको छेउनिर पुगे । आमाले परबाट हेरिरहिथिन् ।
सायद हिजोसम्म सँगै सुतेकी छोरी आज एकाएक छाउगोठ गइरहेको हेर्नुपर्दा उनी भित्रभित्र भत्किरहेकी थिइन् । यस्सो गोठतिर हेरेँ, बाख्रा जाने ढोकाबाहेक त्यसको वरिपरि भित्ताको माथिमाथिसम्म बाहिरबाट सिस्नोको झाडी थियो । म सुत्ने भनेको ठाउँमा उहिलेदेखिका पुराना थोत्रा भएका डोकाडाला, काठका टुक्रा थिए । झ्यालको नाममा सानो प्वाल थियो । भित्र पस्न डर लाग्यो । पस्नु कसरी अँध्यारो थियो । त्यसो त बाहिर पनि अँध्यारो भइसकेको थियो । भित्रै अँध्यारो, बाहिरै अँध्यारो, मन पनि अँध्यारो, तन पनि अँध्यारो । अँध्यारै अँध्यारो । उफ् !
केही बेरमा म पछिकी बहिनी र एकै उमेरकी फुपूले उज्याले लिएर आए । म त निःशब्द रहिछु । ‘ओइ साइँली भित्र जाउँ’, फुपूको आवाज सुन्दा झसंगै भएँ । कस्तो म त कुनै प्रहारबिना, कुनै लडाइँ वा युद्धबिना हारिसकेकी रहिछु । थाकिसकेकी रहिछु । फुपू अगाडि लागिन्, हामी दुइ बहिनी पछि लाग्यौं । फुपू र बहिनी मिलेर बेवारिस फालिएका डोकाडालाहरू एउटा कुनामा थन्क्याउन थाले ।
म भने उनीहरूले ल्याएको खाना खाँदै हेर्दै थिएँ । गोठको भित्ता खोलेर मुसाले माटोको उरुङ लगाएको थियो । जुवामा आफ्नै बच्चाबाट मारिन विवश माकुराका खोस्टा शरीर र तिनैले लगाएका जालाहरू फैलिएका थिए । चिसो ओसले भित्ताहरूमा झ्याउ लागेको थियो । तिनै झ्याउ देखाउँदै फुपू र बहिनी मलाई जिस्क्याउँदै थिए, ‘कस्तो लाग्यो त बाहुनी बज्यैलाई आफू सुत्ने ठाउँ ? ‘ सायद ती निर्दोष केटीहरूलाई लागेकै थिएन— कुनै दिन उनीहरूले पनि यस्तै भोग्नुपर्नेछ । मेरो मन भने सोधिरहेथ्यो— एक दिन मजस्तै तिमीहरू पनि यो परित्यक्त गोठको अँध्यारो कुनामा आउनेछौ, के त्यति बेला पनि अहिलेजस्तै जिस्कनेछौ ?
सबै सामान पन्छाएर सुत्न मिल्ने ठाउँ बनाएर लगाएको ओछ्यानमा सुत्न बोलाए उनीहरूले । हत्तपत्त तिनीहरूको बीचमा गएर पल्टिएँ । उनीहरू के के कुरा गर्दै निदाए । मेरो दिमागमा भने सानोमा बज्यैले सुनाएका भूतका कथाहरू, बिरालोको रूप लिएर घरघर चहार्दै हिँड्ने बोक्सीहरूका कहानीहरू, बर्खामा आफ्नो आहारका लागि मुसाका प्वाल खोज्दै हिँड्ने सर्पहरू खेल्न थाले । डरको कुइरोले ढपक्कै छोपेको शरीर रातभरि जाग्राम बस्यो ।
बिहानपख रातभरिको अनिदोले भारी शरीर भित्तामा अड्याएर बसेकी थिएँ । पानी लिन पँधेरा काकीहरू फर्कंदै थिए । एक जनीले भनिन्, ‘हिजो साइँली छुई भइ यहाँ सुतेकी छ ।’ ‘ए हो र ! छोरीचेलीहरू सबै हुर्किए । छोरीको जात आमाबाबुलाई चिन्ता’, अर्की काकीले कुरा थपिन् । आफूलाई हिजोदेखि बुवाआमालगायत घरका मान्छेको व्यवहारले चिन्तित बनाइरहेको छ । उनीहरू भने बाबुआमालाई चिन्ता हुने कुरा गर्छन् बा ! के भनेका होलान् जस्तो लागिरह्यो ।
बर्खे बिदा सकियो । साथीहरूसँग कसरी देखा पर्ने भन्ने लाजले स्कुल गइनँ । मनमा संकोच, अनौठो र डरले सात दिन गोठमै बिते । सात दिनपछि घरमा छिर्दा बज्यैले भनिन्, ‘हेर अब केटाकेटी रहिनस्, घरबाहिर हिँड्दा ख्याल गर्नु । छोरीमान्छे बच्न गाह्रो हुन्छ ।’ लाग्यो, सात दिनमा म सात वर्षले बूढी भइसकेकी छु । मेरो बालापन, मेरो निर्दोषपन, मेरो चञ्चलता त्यही छाउगोठको मुसाको प्वालमा माकुराको जालो र ओसिलो भित्ताको झ्याउसँगै छुटिसकेको छ।
 
श्रोत:अन्नपूर्णपोस्ट

यी समाचार पनि पढ्नुहोस्