महानगरका मुसहरको पीडा : 'सरकार हामीलाई नागरिक मान्दैन'

विराटनगर : बाटो छेउमै निर्मित मन्दिरमा टाउको काटिएको शिवजीको मूर्ति, मंसिरको मध्यसँगै तराईका जिल्लामा उक्लँदो चिसो, नाकभरि सिँगान बोकेर पातलो सुर्तीको सर्ट र हाफ पाइन्टमा यताउता दौडिरहेका स-साना बालबालिका अनि नीलो प्लास्टिकको छानो हालेर बनाइएका टहरा ।यो दृश्य हो, मुलुककै दोस्रो ठूलो सहर विराटनगर महानगरपालिका-१२ स्थित मुसहर बस्तीको ।
दोस्रो चरणको संघ र प्रदेश चुनाव आउन पाँच दिन बाँकी रहँदा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट डेढ किमि दूरीमा रहेको यो बस्तीका नागरिकको मुहारमा भने खुसीको सामान्य झलकसम्म देख्न पाइँदैन । देशकै दोस्रो ठूलो महानगरको बासिन्दा भएर पनि सधैं राज्यको दृष्टिबाट ओझेलमा पर्दै पाएको यो बस्तीका करिब दुई हजार नागरिक अझै पनि गरिबी र अभावमा जीवन बिताउन बाध्य छन् ।
देशमा लोकतन्त्र स्थापना भएयता पनि उनीहरूले थुप्रै चुनावमा सुखद भविष्यको आश्वासन थाप्दै विभिन्न दलका उम्मेदवारलाई आफ्नो अमूल्य मत दिएर विजयी बनाई संसद् हुँदै सरकारसम्म पुर्‍याए । तर, पुस्तौंदेखि भोक, रोग र गरिबीसँग जुध्दै आएको यो मुसहर बस्तीका नागरिकको नियतिमा भने कुनै परिवर्तन आउन सकेन ।
‘हरेक निर्वाचनमा हामी राजनीतिक दल र तिनका उम्मेदवारबाट थुप्रै आश्वासन पाउँछौं तर चुनाव जितेर गएपछि उनीहरू हाम्रो दुर्दशा हेर्न फर्केर पनि आउँदैनन्,’ विराटनगर महानगरपालिका साविकको वडा नम्बर १६ बखरीका जितेन्द्र ऋषिदेव गुनासो गर्छन् ।
उमेरले ४७ वर्ष मात्र पुगे पनि अभावग्रस्त जीवनसँग संघर्ष गर्दागर्दै आफ्नो उमेरभन्दा निकै पाका देखिने जितेन्द्रका अनुसार उनीहरूको बाजे÷बराजु चार पुस्ता अगाडि बखरीमा आएका थिए । ‘अहिले हाम्रो बस्तीमा करिब दुई सय ५० जति घरपरिवार छन् । पुस्तौंदेखि बसोबास गर्दै आए पनि यहाँका ९८ प्रतिशत जनता अझै सुकुम्बासी छन्, ऐलानी जग्गामा बसोबास गर्छन्’, जितेन्द्र एकपछि अर्को गर्दै यो मुसहर बस्तीका समस्या सुनाउँछन् ।

‘महानगरवासी भएर पनि समस्यै समस्याले पिल्सिएका छौं । भोट माग्न आउने उम्मेदवारले कम्तीमा हाम्रो समस्यामाथि पनि आँखा पुर्‍याइदिए हुन्थ्यो ।’ जितेन्द्र ऋषिदेव, राष्ट्रिय मुसहर उत्थान समाज मोरङ

थाकका थाक समस्या त छँदै थिए, त्यसमाथि वर्षौंदेखि सरकारी निकाय धाउँदा पनि यो बस्तीका थुप्रै बासिन्दाले अझै नागरिकतासम्म पाउन सकेका छैनन् । ‘हाम्रा बाउ÷बाजे यही माटोमा जन्मिए, हामी पनि यहीँ जन्मियौं तर वर्षाैं धाउँदा पनि बस्तीका ४० प्रतिशत बासिन्दाले नागरिकता पाउन सकेका छैनन्’, सायद जीवन भोगाइले निखारिएर होला बस्तीमा केही टाठाजस्ता देखिने बोलक्कड स्वभावका जितेन्द्र भन्छन्, ‘पुस्तौंदेखि हामी यो माटोमा पसिना बगाउँदै छौं तर सरकार अझै पनि हामीलाई नागरिक मान्न तयार छैन । हामी आफ्नै माटोमा अनागरिक भएर बसेका छौं ।’
‘हरेक निर्वाचनमा दलका उम्मेदवार आएर नागरिकता बनाइदिने र जग्गा व्यक्तिका बासिन्दाकै नाममा नामसारी गरिदिने आश्वासन दिएर जान्छन् तर त्यसपछि आफ्नो वाचा पूरा गरेको सुखद समाचार लिएर फेरि कहिल्यै फर्र्केर आउँदैनन्’, जितेन्द्र दुःखेसो पोख्छन् । यो बस्तीका अधिकांश बासिन्दा दैनिक ज्याला-मजदुरी गरेर आफ्नो परिवार पाल्छन् । दिनभर मजदुरी गरेबापत दिनमा तीन सयदेखि पाँच सय रुपैयाँ हात पार्छन् र त्यही पैसा नै उनीहरूको पाँचदेखि सात जनासम्मको परिवार धान्ने आधार हो।
गत साउनमा यो बस्तीका बासिन्दामा ठूलै विपत्ति आइपरेको थियो । वर्षामा उर्लिएको केसलिया र दुधवा खोलाको भेल बस्तीमा पस्यो । त्यो भेलले माटो र खरले बनेका धेरैका घर बगायो, प्रकृतिको कहरका अगाडि कसैको केही लागेन । घरभित्र भएका धेरथोर लत्ताकपडा र अन्न पनि नदीको भेलसँगै बग्यो।
बस्तीमा खोलाको भेल पसेको चार महिना बितिसक्दा पनि त्यसबाट उनीहरूको जीवनमा परेको प्रभाव अहिलेसम्म अनुभव गर्न सकिन्छ । ‘घर खोलाले बगायो, आर्थिक समस्याले नयाँ घर बनाउन सकिएको छैन । दिनदिनै चिसो बढ्दै छ, प्लास्टिकको छानो हालेर रात बिताउनुपरेको छ, धेरैलाई जाडोबाट स–साना बालबच्चा जोगाउन पनि गाह्रो छ’, ४५ वर्षीया फुलिया ऋषिदेव भन्छिन्, ‘नेताहरू भोट माग्न मात्र आउँछन्, हाम्रो समस्या कसैले देख्दैन ।’
मुसहर बस्तीका बासिन्दा मात्र होइन, त्यहाँ स्थापना गरिएको मन्दिरका भागवान पनि गरिबीको मारमा परेका छन् । बस्तीको सुरुमै मुसहरहरूको कुलदेवता ‘दिनाराम भदरी’ को मन्दिर स्थापना गरिएको छ । आर्थिक अभावका कारण मन्दिरमा माटोबाट बनाइएको देउता स्थापना गरिएको छ । माटोले बनाएको हुँदा भत्किएर मन्दिरमा स्थापना गरिएको शिव भगवान्को त टाउको नै छैन ।
‘हामी पटकपटक माटोबाट देवताको मूर्ति बनाउँछौं तर केही समयपछि भत्किन थाल्छन् । पैसाको समस्याले गर्दा भगवान्को गतिलो मूर्तिसम्म बनाउन सकेका छैनौं । कसैले सहयोग गरिदिए हामीले भगवान्को राम्रो मूर्ति स्थापना गरेर पूजा गर्न पाउँथ्यौं’, लक्ष्मी ऋषिदेव भन्छिन् ।
सरकारी जागिर त परको कुरा यो मुसहर बस्तीमा अघिल्लो वर्षसम्म एसएलसी उत्तीर्ण गर्ने एकजना व्यक्ति पनि थिएनन् । यो वर्ष भने मुसहर बस्तीका तीनजना विद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका छन् । पूर्वाञ्चलकै चर्चित महेन्द्र मोरङ क्याम्पसबाट केवल डेढ किमि दूरीमा रहेको यो सिंगो बस्तीमा अहिलेसम्म एसईई परीक्षा उत्तीर्ण गर्ने दुई छात्र रञ्जित ऋषिदेव र अमर ऋषिदेव तथा एक छात्रा सुमनकुमारी ऋषिदेव मात्र हुन् ।
घरनजिकै बखरी निम्न माध्यमिक विद्यालय भए पनि जनचेतना अभावमा यो बस्तीका अधिकांश अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउने परम्परा थिएन । तर, पछिल्लो समय छोराछोरीलाई पढाउनुपर्छ भन्ने चेतना गाउँलेमा विकास हुँदै गएको झरिलाल ऋषिदेव बताउँछन् । ‘पछिल्लो समय गाउँलेमा आफ्ना बालबालिकालाई पढाउनुपर्छ भन्ने चेतना बढ्दै गएको छ, हामी आफ्नै कारणले पनि पछि परेका हौं भन्ने सोच पनि विकास भएको छ’, २८ वर्षीय झरिलाल भन्छन्।
यसैगरी, यो बस्तीमा बालविवाहको कुरीतिले पनि अझैसम्म जरो गाडेको छ । ‘हाम्रो बस्तीमा बहुविवाहको समस्या छैन तर बालविवाह गर्ने परम्परा भने अझै पनि छ’, राष्ट्रिय मुसहर उत्थान समाज मोरङका अध्यक्षसमेत रहेका जितेन्द्र भन्छन्, ‘महानगरवासी भएर पनि हामी समस्यै समस्याबाट पिल्सिएका छौं । निर्वाचनको मुखमा मत माग्न आउने दल र तिनका उम्मेदवारले कम्तीमा हाम्रो समस्यामाथि पनि आँखा पुर्‍याइदिए हुन्थ्यो ।’ – अन्नपुर्ण पोस्ट बाट

यी समाचार पनि पढ्नुहोस्