भारतमा बाबरी मस्जिद भत्काइएको २५ वर्ष

भारतको उत्तर प्रदेश राज्यमा अयोध्या नगरको बाबरी मस्जिद भत्काइएको २५ वर्ष पुगेको दिन बुधबार सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ।

भारत सरकारले सबै राज्यहरुलाई उच्च सतर्कता अपनाउन र कुनै प्रकारको साम्प्रदायिक घटना हुन नदिन सजग हुन भनेको छ। २५ वर्ष अगाडि डिसेम्बर ६ तारिखका दिन दक्षिणपन्थी हिन्दूहरुको भीडले १६औं शताब्दीको बाबरी मस्जिदलाई मुसलमान शासकहरुले मन्दिर भत्काएर बनाएको भन्दै भत्काइदिएका थिए।
सन् १९९२ को उक्त घटनापश्चात भारतको इतिहासमै खराबमध्येका धार्मिक साम्प्रदायिक हिंसा मच्चियो। पूर्व बीबीसी पत्रकार मार्क टलीका अनुसार हिंन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले ६ वर्षदेखि चलाएको मस्जिद भत्काएर सोही स्थलमा राम मन्दिर बनाउने अभियानको नतीजाको रुपमा सो घटना भएको थियो।
उत्तर प्रदेश राज्यको अयोध्यास्थित बाबरी मस्जिदबारे एक शताब्दीभन्दा बढ्ता समयदेखि हिन्दू र मुसलमान समुदायबीच टकराव चलिरहेको छ। हिन्दूहरुले उक्त स्थल भगवान रामको जन्मभूमि भएको बताउने गर्छन्। १६औं शताब्दीमा मुसलमान शासकले त्यसलाई भत्काएर मस्जिद बनाइएको उनीहरुको भनाइ छ।
मुसलमानहरुले चाहिं सो मस्जिदमा सन् १९४९ को डिसेम्बर महिनासम्म प्रार्थना गर्ने गर्थे। उनीहरु भन्छन्, त्यतिबेला केही व्यक्तिहरुले अन्धकारको मौका छोपेर रामका मूर्ति मस्जिदमा लगेर राखिदिए र त्यसको पूजा गर्न थाले। त्यसपछिका चार दशकसम्म हिन्दू र मुसलमान समूह सो स्थलको स्वामित्व र प्रार्थना/पूजाको अधिकारका निम्ति अदालत पुगे।
सन् १९९२ मा अचानक हिन्दू भीडले मस्जिद भत्काइदिएपछि र लगत्तै देशभर भड्किएको साम्प्रदायिक हिंसामा २ हजार जनाको ज्यान गएपछि यो विवाद झनै चर्कन पुग्यो। सबभन्दा हिंस्रक दंगा मुम्बई शहरमा भयो जहाँ ९ सय मानिसको ज्यान गयो र जहाँ प्रहरीमाथि हिन्दूको पक्ष लिएको आरोप लाग्यो।
तर ती दंगा सेलाए अनि त्यसका साथै मस्जिदस्थलमा मन्दिर बनाउने अभियानले पनि गति गुमायो। मस्जिद भत्काएका कारण भाजपाले हिन्दू मत आफ्नो पक्षमा आउने आश राखेको थियो। तर सन् १९९३ मा तीनवटा राज्यमा भएका विधानसभाका चुनावमा उसले कतै सरकार बनाउन सकेन। तीमध्ये एक राज्य त उत्तर प्रदेश नै थियो।
सन् १९९० को पछिल्ला वर्षहरुमा भएका तीनवटा आम चुनावमा भाजपाले विस्तारै सिट संख्या बढायो। सन् १९९९ मा उसले दिल्लीमा स्थिर सरकार नै बनाउन सक्षम भयो। तर केन्द्रमा भाजपाको उदयको धेरै श्रेय भने मुख्य विपक्षी दल कंग्रेसभित्रको अस्तव्यस्ततालाई जान्छ। बिबिसी

यी समाचार पनि पढ्नुहोस्