भानुका कृतिभित्र सामाजिक सन्देश

मोतीरामद्वारा चिनाइएका सबै उमेरका नेपालीहरूका मनमुटुमा बस्न सफल भानुको नामसँग नेपाली मनको नातो छ । नेपाली भाषा र साहित्यका आदिकवि तथा प्राथमिककालीन कविको प्रेरणाबाट कैयौँ साहित्यका स्रष्टाले जन्मने हुर्कने बाटो पाए अनि पाइरहेका छौँ आज पनि ।
कविताका फाँटमा रामभक्ति धाराका केन्द्रीय कवि भानुभक्त आचार्यको देनलाई आजको अत्याधुनिक युग पनि उत्तिकै सम्मान नगरी रहन कहाँ सक्छ र । वि.सं. १८७१ असार २९ गते तनहुँको रम्घा भन्ने ठाउँमा जन्मनु भएका भानुको कवित्व भावको जन्मले जति रोचक मूल्य बोक्छ त्यति नै उहाँको सेवाको सोचले ओगट्छ । धर्म, अर्थ, काम र मोक्षको साधनासँग पुरुषोत्तम रामको भक्ति जागरणको भावमा रचित रामायणको शक्तिसँग जीवन जिउने आदर्श ढाँचा छ ।
भानुलाई स्मरण नगरी नेपाली भाषाले आफ्नो मौलिकता माथि गर्व गर्न सक्दैन । देवकोटाले उहाँलाई ‘नेपाली  जातीय कवि’को संज्ञाले सम्बोधन गर्नुभयो । कवि आचार्यलाई नबुझ्नेप्रति पेचिलो व्यङ्ग्य गर्दै देवकोटा भन्नुहुन्छ– “भानुभक्त पढेर हाम्रो शिक्षा प्रारम्भ हुन्छ र उनलाई हेला गरेर समाप्त हुन्छ ।” यस मानेमा पनि आचार्यको कवित्व प्रतिभा चिरञ्जीवी छ । छन्द माधुर्यले गफ र बोलचाल नै कवितात्मक सुरमा ढाल्ने भानु नेपाली भाषाको एकीकरणमा सफल योद्धा हुनुहुन्छ । पृथ्वीनारायणले टुक्रे नेपाललाई गाँस्दै गर्दा, सिङ्गो बनाउँदै गर्दा यता भानुले कविताका माध्यमबाट ठेट नेपाली भाषालाई, नेपाली मनलाई भाषाबाट जोड्ने जमर्को गर्नुभएको रहेछ ।
साहित्यमा जन्मिएर भाषासँग रम्नु आदिकविको आफ्नै सक्षमता रहेछ । तत्कालीन समाजका विकृत पक्षमा प्रहार गर्नु, पौराणिक, धार्मिक आदर्शमा जीवन र जगत्को व्याख्या गर्दै सीमा सङ्कुचन चिर्ने भावलाई उहाँका रचनाले ओगट्नु विषयगत विविधता संयोजनको खुबी हो । अलिकति प्रकृतिप्रेम मुस्कुराउँदा जीवनबोध जाग्दो रहेछ । भक्तिपरकता, व्यङ्ग्यात्मकता, समाज सुधारका भाव कृतिभरि पोखिरहेको भान हुँदो रहेछ । आशुकवित्वको भावलहरीसँग गुनगुनाइएका आवाज उत्तिकै व्यङ्ग्यात्मक छन् :
लाङ्खुट्टया उपिञा उडूस् इ सँगि छन् इन्कै लहडमा बसी
लाङ्खुट्टयाहरू गाउँछन् ति उपिञा नाच्छन् म हेर्छू बसी ।।

एक दिन रूखको छहारीमा बसेको एउटा घाँसीले आफ्नो थोरै कमाइले इनार खनेर नाम चलाउँछु भन्ने विचार राखेकाले आचार्यको मनले समाजको सेवा गर्ने अठोट गरेको कथा उहाँको जीवन रेखाको पाटो हो–
भर्जन्म घाँसतिर मन् दिइ धन् कमायो
नाम क्यै रहोस् पछि भनी कुवा खनायो
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनि भै कन आज यस्तो ।
मोतीराम

हजुरबुबा श्रीकृष्ण आचार्यको दौराको फेर समातेर पढ्ने परिवेश पाएका भानुको बखान त मोतीरामले आफ्नो ‘कवि भानुभक्ताचार्यको जीवनचरित्र’ (१९४८) भित्र सकेसम्म गर्नुभएकै छ । हुन त मोतीराम शृङ्गारिक भाव धारामा गजलद्वारा आफ्नै पहिचान छन् । धारकै हिसाबमा यता भानुभक्त  प्राथमिककालीन केन्द्रीय कवि तथा रामभक्ति धाराका फाँटबाट जीवन्त हुनुहुन्छ । तर भानुलाई मोतीले नै समालोचक र प्रचारक बनेर चिनाउनुभयो । यसर्थ भानुका जीवन र उहाँका विषयमा जोडिएका प्रसङ्गले समेत काव्य लालीत्यको झल्को दिन्छ । तब त भाषा, जातीय तथा भावनाको एकीकरण भयो । यसर्थ नैतिकता, परोपकार, सामाजिक अन्यायको विरोधी भावसँग विषयगत विविधता छ, जीवनसँग ईश्वरीय आनन्दको भाव छ– नैतिकता, आध्यात्मिकता, सामाजिक चेतनाका पुञ्जमा देशप्रेम, आशुकवित्वकला या त छन्दोबद्ध प्रस्तुति यी आचार्यका काव्यात्मक गुण रहेछन् ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीका एक मात्र सन्तान आज पनि नेपाली काव्य सुधाभित्र गुञ्जिरहेको नाम हो । मोतीराम भट्टले नेपाली साहित्यका ओजश्वी व्यक्तित्वलाई चिनाएर अभूतपूर्व गुन लगाइरहँदा सरल भाषामा गेयात्मक अनुप्राससहित संरचित शार्दूलविक्रीडित छन्दका हरफले कर्णप्रिय भाव ओगट्छ । भानुको नाम र स्मरणमा ठेट नेपाली मौलिकताले रम्न पाइरहेको छ । धार्मिक, नैतिक, आध्यात्मिक चेतनाका मुहान आचार्य हाम्रा राष्ट्रिय विभूति हुनुमा गर्व छ । रामायणलगायत भक्तमाला, प्रश्नोत्तर, बधूशिक्षा, फुटकर रचना र रामगीताको ज्ञानरूपी सुधाको पान गर्न पाउने हामी नेपाली भाग्यमानी छौँ ।
जीवन जगतका मार्मिक सत्यमाथि टेकेर आदर्शको आडमा जिउने समतामूलक दैनिक जीवन र राजनीतिक पेरिफेरिको सफल जीवन दर्शन बोकेका यी कृतिहरूभित्र नेपाली मनको सुगन्ध छ । विषयवस्तुका पृथक भाव कलात्मक तबरमा उनिएका छन् । तत्कालीन समाज र कर्मचारी व्यवहार छ । अभाव र सामाजिक जलनको पीडा छ –
जागिर् छैन धनी म छैन घरको केबल् कोदालो खनी
खान्थ्याँ दुक्ख गरेर चाकरी गरेँ मान् पाउँला की भनी

हामीले कथा सुनेका छौँ, रत्नाकर डाकु नारद मुनिले दिएको राम नामको मन्त्र जपेर वाल्मीकिको नामकरण भयो । रामको चरित्र गानले भरिभराउ ‘रामायण’ लेखेकाले उहाँलाई संस्कृत साहित्यका आदिकवि बन्ने अवसर मिल्यो । त्यही रामायणलाई नेपाली भाषामा रूपान्तरण गर्दै नेपाली मौलिकता थपेकाले भानुभक्त नेपाली साहित्यका आदिकवि बन्नुभयो । हिन्दी साहित्यतिर आँखा लगाउँदा ‘रामचरितमानस’ काव्य लेखेर तुलसीदास आदिकवि बन्नुभयो । यसर्थ रामको लीला वर्णनबाटै संस्कृत, नेपाली तथा हिन्दी भाषामा आदिकवित्व अर्थात् ‘पहिला कवि’ वा ‘सुरुका कवि’को इतिहास विकसित बनेको रहेछ ।
राजनीतिक जिम्मेवारीभित्रको आदर्श विचार, सेवा समर्पण र त्यागको सन्देश दिने भानुका रचनाले दिएका उपदेशहरू हिजो जत्तिकै आज पनि उपयोगी लाग्छन् । भ्रष्ट्राचारको जालोमा फस्ने लालची, दुराचारी आचरणले अब उहाँका कृति पढेर आदर्शलाई सिक्न सक्नुपर्छ । आजको स्वार्थी र बर्बर समाजले बनाएको जर्जर परिस्थिति बदल्न भानुको रामायण एउटै पर्याप्त छ । सतीशिरोमणी सीताको मर्यादा र चरित्र होस् या दशरथ नन्दन रामको आदर्श राज्य सञ्चालन र जनसम्मानप्रतिको लगाव; कम मननीय लाग्दैन । हुन त बुहार्तनलाई प्रश्रय दिएको नारी हिंसा र नारी इच्छा विपरीत विचारमा संरचित रचनाको हिसाबबाट बधूशिक्षा आलोचित छ ।
तर, जुन समयमा नारी अशिक्षित थिए, त्यही समकालीन चित्र तथा नारीले आरोपित बन्नुनपरोस् भन्ने भाव पोखिएको विश्लेषण गर्न सकिन्छ । यसबाट नारी अपहेलनाभन्दा नारीको उच्च सम्मान गर्नुपर्ने रहस्य बुझ्न नसकेको तत्कालीन समाजको मनोदशालाई बुझ्ने र विश्लेषण गर्ने मौका पनि त हामीलाई मिलेको छ । प्रश्नोत्तरबाट अनुशासन, परिश्रमी भाव, जीवनको सारलगायत सन्तोषी जीवन जिउने भाव जागृत हुन्छ ।
कुन् हो धनी सब् नरले कह्याको ?
सन्तोषले जो छ खुसी रह्याको ।

तसर्थ, रामराज्यको स्वतन्त्रता र सुविधाको खाँचो त हरेक युग र समयमा भइरहेकै हुन्छ । चाहे कार्ल माक्सद्वारा व्याख्या गरिएको साम्यवाद जुन आजसम्म अकल्पनीयझैं छ, त्यो व्यवस्थाभन्दा आदर्श प्रजातान्त्रिक शासनको ज्ञान राममा पनि नभएको हो भन्न सकिन्न । त्यो समयमा यस्ता गहन ज्ञानलाई कविताको भाषाबाट छन्दभित्र ढाल्दै सिलसिला मिलाएर सजाउनु पक्कै जटिल कुरा हो, जुन समयमा भाषालाई नै तातेताते गराउनु परेको थियो । त्यो युगसँग रहेर नेपाली जनजीवनसमेत् कृतिहरूमा समाहित हुनु पक्कै नेपाली साहित्य जगत र आजको समाजले सिक्ने प्रेरणा बने । साहित्यले युग बोल्ने तरिकाको ज्ञानबोध भएछ ।
अत्याधुनिकताको रवाफमा आपूmलाई तागतबर ठानेर ‘हजुरबाले पढ्ने हो रामायण’ भन्नु आपैmँलाई बुझ्ने अवसर गुमाउनु हो । किनकि तत्कालीन लोकचित्रभित्र बसेर भाषिक जागरणको शुभारम्भ गर्नु आचार्यको अमूल्य योगदान हो । तत्कालीन राणाशासकको चङ्गुलमा रहेर नेपाली भावको एकतामा मद्दत पुर्याएको कार्य सह्राहनीय छ । सत्य यो हो त्यो समयको लेखन परिवेश सहज थिएन । यद्यपि ५४ वर्षसम्मको छोटो समयसम्म मात्र बाँचेका कवि आचार्यले नेपाली साहित्य, राष्ट्रिय एकता र भाषिक जागरणमा अविस्मरणीय छाप छोड्नुभएको छ । आजको अत्याधुनिकताले नेपाली भाषामा जति विकार ल्याए पनि भानुको सम्मान हुन्छ नै ।
छन्द प्रयोगको उस्तो ज्ञान नपाएका र बेफुर्सदिला स्वर पनि कमसेकम भानुका नाममा फेसबुकमा दुई शब्द राख्छन्– खुशी साटिन्छ, अलिकति भाषाको माया जागेको भान हुन्छ । भानुको श्रद्धा र सम्मानभित्र नेपाली भाषा, साहित्य र राष्ट्रिय गौरव जोडिँदो रहेछ । राम–सीताको जीवन सङ्घर्षले सिकाएको जीवन दर्शन होस् या राम र रावणको चरित्रअन्तरबाट उद्घाटित अधर्म, अन्याय र अत्याचारको चित्रण आखिर सबै आजका लागि पनि उत्तिकै शिक्षाप्रद लाग्छन् । दूराचारी जति शक्तिशाली पनि हार सहन विवस बन्ने हुनाले धर्म, सत्य र न्यायिक बाटोको दिग्विजय र कीर्ति बढ्ने सत्यता उजागर छ । रामको देशभक्ति, प्रजापालन धर्म, पितृभक्ति या त सीताले सिकाएको धैर्य, सहनशीलता अर्थात् प्रेमको एकाग्रता आखिर आजका नेतृत्व र मानवसमुदायका लागि अनुकरणीय रहला नै ।
यसर्थ बाल कार्यक्रम, साहित्यिक प्रतियोगिता र गोष्ठी या जे हुन्, यस्ता सहकार्यले नेपाली भाषालाई प्रेम गर्न सिकाउँदा रहेछन्, सामाजिक कार्यमा सचेतता छर्दा रहेछन्– आदिकविको सम्मान र स्मरणमा ।  श्रोत:रातोपाटी 

यी समाचार पनि पढ्नुहोस्