बैंकहरुमा फेरि निक्षेप खोसासोस, नियमले दिनेभन्दा बढी कर्जा लगानी

७ पुस, काठमाडौं । केही वाणिज्य बैंकहरुले कर्जा लगानी गर्न पाउने सीमा (सीसीडी रेसियो) कटाएर लगानी गर्न थालेपछि बैंकहरुबीच नै निक्षेप तानातान सुरु भएको छ । राष्ट्र बैंकले पनि बैंकहरुमा लगानीयोग्य पूँजी संकुचन हुँदै गएको बताएको छ । ‘कहिलेकाँही सीमा तलमाथि हुन्छ, अहिले पँूजी संकुचन भएको भने हो,’ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले भने ।
‘केही बैंकहरुको यस्तो सीमा कटेको सुनेको छु, अपर्झट निक्षेप बाहिरिँदा पनि यस्तो समस्या आएको हुन सक्छ,’ एक बैंकरले अनलाइनखबरसँग भने ।
नियमअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पूँजी र निक्षेप जोडेर हुने रकमको ८० प्रतिशत बराबर रकम मात्र कर्जा लगानी गर्न पाउँछन् । बाँकी २० प्रतिशत बराबर रकम बैंकको बर्ग अनुसार राष्ट्र बैंकमा ६ प्रतिशतसम्म अनिवार्य नगद मौज्दातको रुपमा राख्नुपर्छ । यसपछि अन्य प्रावधान राखेर बाँकी हुने रकम सरकारी ऋणपत्रमा लगानी गर्न सक्छन् ।
राष्ट्र बैंकको अनुसार बुधवारसम्ममा लगभग ४५ अर्ब रकम अधिक तरलता छ । यो सबै कर्जा लगानीयोग्य रकम होइन । किनभने बैंकहरुले ८० प्रतिशतको सीमा कटाएको अवस्थामा बाँकी हुने २० प्रतिशत रकमबाट कर्जा लगानी गर्न पाउँदैनन् । बैंकहरुबाट उपलब्ध तथ्यांक हेर्ने हो भने गत आर्थिक वर्षको अन्त्य (असार) को  तुलनामा वाणिज्य बैंकहरुमा निक्षेप ५ प्रतिशतले मात्र बढेर २१ खर्ब ९३ अर्ब पुगेको छ भने कर्जा ८ प्रतिशतले बढेर १८ खर्ब ७० अर्ब पुगेको छ ।
‘निक्षेपको वृद्धि दरको तुलनामा कर्जा लगानी उच्च देखिएको छ, सबै बैंकले सावधानी नअपनाएको देखिन्छ,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने । वाणिज्य बैंकहरुले निक्षेपको ७९ प्रतिशतसम्म लगानी गरेका रहेछन् भने पनि बैंकहरुमा २९ अर्ब रुपैयाँ थप लगानी गर्न सक्ने अवस्था बन्छ । राष्ट्रिय वाणिज्य बैंकसँग मात्रै सो समय २२ अर्ब बराबर लगानीयोग्य रकम देखिन्छ । बाँकी २७ वाणिज्य बैंकमा प्रतिबैंक २५ करोड रुपैयाँको हाराहारीमा मात्रै लगानीयोग्य रकम बाँकी हुन्छ ।
कतिपय बैंकले आफूले लगानी गर्न पाउने सीमा कटेपछि बढी व्याजदर प्रस्ताव गर्दै अन्य बैंकमा भइरहेको रकम समेत तान्न थालेका छन् ।‘एक बैंकले केही दिन अघिसम्म आफूसँग ७२ अर्ब रुपैयाँ निक्षेप रहेकोमा निक्षेप खोसाखोस हुन थालेपछि समस्या हुन थाल्यो भन्न थालेका छन्,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले भने ।
बैंकिङ प्रणालीमा उल्लेख्य दरमा निक्षेप नबढेको, निक्षेपको वृद्धिको तुलनामा कर्जा लगानी गर्ने क्रम बढेको र बढि व्याज पाउने आशमा ग्राहकहरुले अवधि समाप्तिपछि निक्षेप अर्को संस्थामा राख्ने गर्न थालेकोले पनि बैंकहरुमा पूँजी अभाव देखिन थालेको छ ।
खर्ब रुपैयाँ बचाउन हम्मेहम्मे
गत वर्ष पनि बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजी अभाव भएपछि बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमै १२.५ प्रतिशतसम्म व्याजदर पुर्‍याएका थिए । ‘धेरैजसोले सो समय १ वर्षे अवधिको मुद्दती निक्षेप लिएका थिए, अहिले त्यो निक्षेप अर्को बैंकमा नजाओस् भन्ने उद्देश्यले पनि केही बैंकहरुलाई व्याजदर बढाउन परिरहेको छ,’ दाहालले भने ।
गत वर्ष माघमा बैंकहरुमा पूँजी संकट टड्कारो देखिएको थियो । सो समय उच्च व्याज दर प्रस्ताव गरेपछि बैंकहरुमा माघ एक महिनामै ९४ अर्ब ४३ करोड रुपैयाँ मुद्दती निक्षेपको रुपमा मात्रै थपिएको थियो । धेरैजसो मुद्दतीको अवधि पुस, माघमा सकिन लागेको छ । त्यसैले पनि बैंकहरु आफ्नो बैंकबाट अर्को बैंकमा पूँजी नजाओस् भनेर व्याजदर बढाउन थालिरहेका छन् । तर बढी व्याज दरको आशमा ग्राहकहरुले अर्को बैंकमा निक्षेप राख्ने क्रम बढेको छ । लगानी सीमामा सन्तुलित अवस्थामा रहिरहेका बैंकहरुबाट समेत व्याजदरमा प्रतिस्पर्धाको कारण निक्षेप झिक्ने क्रम बढेपछि असन्तुलन देखिएको छ ।

यी समाचार पनि पढ्नुहोस्