बाहुबलीको ओझेलमा परेका रजनीकान्त जुरमुराउन खोज्दै

मुम्बई : बाहुबलीको ऐतिहासिक सफलताले दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको सिंहासन हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा रजनीकान्तको नाममा नै चलचित्र सुपर हिट हुन्थे तर बाहुबलीले उनका चलचित्रलाई धेरै पछि धकेलिदियो । अहिले रजनीकान्त बाहुबलीलाई पछारेर आफ्नो वर्चस्व पुनर्स्थापित गर्न लागिपरेका छन् ।
रजनीकान्तका प्रिय निर्देशक शंकरले चलचित्र २.० निर्देशन गरेका छन् । यो उनकै हिट चलचित्र रोबोटको सिक्वेल पनि हो । यो फिल्मको सहारा लिएर रजनीकान्त आफ्नो गुमेको साख फर्काउन लागेका छन् । यो फिल्मको बजेट अहिले चार सय ५० करोड पुगेको छ । यो फिल्म भारतको सबैभन्दा महँगो र सफल चलचित्र बनाउने प्रयासमा रजनीकान्त लागेका छन् ।
फिल्मको रिलिज डेट बारम्बार परिवर्तन भइरहेको छ । दीपावलीपछि गणतन्त्र दिवसमा फिल्म रिलिज गर्ने तयारी थियो तर फेरि अप्रिलमा रिलिज गर्ने बताइएको छ । फिल्म २७ अप्रिल २०१८ मा रिलिज गरिने भएको छ । गत वर्ष यही सप्ताहमा बाहुबली रिलिज भएको थियो । २.० का निर्माता पनि बाहुबलीकै पथमा हिँडिरहेका छन् । यो फिल्म पनि बाहुबली जस्तै हिन्दी, तमिल र तेलगू भाषामा रिलिज गरिँदै छ । फिल्ममा अक्षयकुमारले खलनायकको भूमिका निर्वाह गरेका छन्। – अन्नपूर्ण पोस्ट बाट 
 

यी समाचार पनि पढ्नुहोस्