बसन्त श्रेष्ठ – मलार्इ बिथोल्न नआऊ

समयको लामो सुरुंग भित्र
मन संधै संधै बादलले ढाकिएर
जीबन बायूपंखी घोडा चढेर
जोड जोडले लगाम खिच्दै, एडी ठोक्दै
बेतमास जीबन दौडिरह्यो !
कहिले चकमन्न अन्धकारमा
एक मुठी उजेलो छर्दै
मैनबत्ती बनेर तप तप रुदै झर्यो !
कहिले अँध्यारो लामो यात्रामा
ठेस लाग्दै भुइँमा पछारिदै
उठ्ने कोशिशमा लर्बरिदै
भिर पहिरो बाट ओरालो झर्दै रह्यो !
एक मुठी उजेलोको रहरमा
एक सास उन्मुक्त हासोको लोभमा
एक रात मिठो निन्द्राको चाहमा
सम्पूर्ण जीबन अल्मलिरह्यो !
खै यो गन्थन कसलाई कति सुनाउ
सुन्नेहरु पनि अब त थाकिसके
उज्यालोको रहरमा आकाश फेरियो
सुगन्धको आशमा माटो फेरियो
मुक्तिको चाहनामा गैर छानियो
तर आफ्ना आवाजहरु मलिन बनेर यहाँ पनि थुनिए
गुलाबको फूलहरु काँडा काँडा बनेर यहाँ पनि झुलिए
भाबना हरु निरुत्तर उजाड बनेर यहाँ पनि फैलिए
खै म आफैलाई कति सम्झाउन कोशिस गरूँ
खै म डांडापारीको उज्यालोको मोह कति देंखु
म आफै थाकेर चुर यस घडीमा
नआऊ मलाई बिथोल्न नआऊ
भो मलाई अब सपनाको महल खडा गर्नु छैन
म जे छु निश्चिन्त छुं
मेरो भाग्यमा कर्म निश्चित गर्ने तिमि
जाऊ कतै पर पर !
म जे छु अन्धकार भित्र पनि हाँसेकै छु
मेरो हाँसो खोस्न यहाँ नआऊ
दौडन नसके पनि घस्रियेर पनि हिडेकै छु
मेरो गति बिथोल्न तिमि यहाँ नआऊ
त्यसैले म बिन्ति भन्छु
मलाई छोडी जाऊ पर पर !
म जे छु खुशी छुं
त्यसैले मलाई बिथोल्न कदापी नआऊ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter