फ्लिनको रुससँगको कुराकानी "कानूनसम्मत"

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनका पूर्व सुरक्षा सल्लाहकार माइकल फ्लिनले दोष स्वीकारेका प्रति प्रतिक्रिया दिँदै आफ्नो संक्रमणकालीन समूहका एक सदस्यका रुपमा फ्लिनले गरेका काम “कानूनसम्मत” थिए भनेका छन्।

फ्लिनले एउटा सहमति गरेर रुससँगको आरोपित साठगाँठबारे भइरहेको अनुसन्धानमा सहयोग पुर्याउने बताएका छन्। उक्त सहमति गरेका कारण उनले पाउनसक्ने सजायमा कटौती हुने व्यवस्था छ।
सजाय कम गर्ने सहमति गरेकाले फ्लिनसँग महत्त्वपूर्ण प्रमाण छन् भन्ने अनुमान गर्न थालिएको छ। राष्ट्रपतिले ट्वीटरमार्फत शनिबार भने- फ्लिनसँग “लुकाउनका लागि केही छैन।”
सन २०१६ को चुनावी अभियानका क्रममा ट्रम्प र रुससँग भएको भनिएको साठगाँठबारे अनुसन्धान गरिरहेको रोबर्ट मुलरको विशेष समितिलाई फ्लिनले सहयोग गरिरहेका छन्।

फ्लिन

शनिबार फ्लिनको स्वीकारोक्तिपछि एकजना एफबीआइ वरिष्ठ एजेन्टलाई ट्रम्पविरोधी टेक्स्ट सन्देशहरु पठाएको खुल्न आएपछि मुलरको समूहबाट बर्खास्त गरिएको खुल्न आएको छ।
शनिबार बिहानै गरेको ट्वीटमा राष्ट्रपति ट्रम्पले फ्लिनले गैरकानूनी काम नगरेको मात्रै बताएनन्। पूर्व सल्लाहकारलाई बर्खास्त गर्नुअघि एफबीआइलाई झुटो बोलेको आफूलाई थाहा भएको बताए।
जुन त्यसबेलाको राष्ट्रपति ट्रम्पको भनाइसँग बाझिएको छ। विश्लेषकहरु भन्छन्, यदि फ्लिनले झुटो बोलेको ट्रम्पलाई थाहा थियो भने किन उनले त्यसबेलाका एफबीआइ निर्देशक जेम्स कोमीलाई फ्लिनविरुद्धको अनुसन्धान रोक्न भने? त्यसले न्याय दिनमा ट्रम्पले बाधा पुर्याएको भन्ने अर्थ लाग्छ। बिबिसी
 

यी समाचार पनि पढ्नुहोस्