प्रहरीद्वारा आस्था राउतको सिसीटिभी भिडियो सार्वजनिक

काठमाडौं, ३ पुस । प्रहरीले विमानस्थलमा दुव्र्यवहार गरेको आरोप लगाएपछि गायिका आस्था राउत चर्चामा छिन् । उनले प्रहरीको चर्काे आलोचना गरेर बिहीबार सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गरेकी थिइन् ।
प्रहरीले पनि राउतलाई काउन्टर दिँदै उनको भिडियो सार्वजनिक गरेको छ । जसमा उनले महिला प्रहरीसँग झगडा गरेको देखिन्छ । झगडा कफिको गिलासबाट सुरु हुन्छ ।
त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल (डोमेष्ट्रिक) मा एक्सरे चेकिङको क्रममा उनी कफि पिइरहेकी हुन्छिन् । चेकिङको क्रममा महिला प्रहरीले कफि राखेर आउन आग्रह गर्दा उनी रिसाउँछिन् । त्यसपछि महिला प्रहरीले लिएर कफि राख्छिन् र बडी चेक गर्छिन् । चेक गरेपछि उनी रिसाउँदै आफ्नो ब्याग लिएर निस्कन खोज्छिन् महिला प्रहरीले कफि दिन खोज्दा उनी लिन मान्दिनन् ।
दुईबीच त्यहाँ विवाद भएको देखिन्छ । सिसिटिभीले खिचेको त्यही भिडियो महानगरीय प्रहरी कार्यालयले मिडियामार्फत सार्वजनिक गरेको हो । प्रहरीले यसरी भिडियो सार्वजनिक गरेपछि गोपनियताको हकमाथि समेत प्रश्न उठेको छ ।
भिडियोमा प्रहरी र गायिका राउत दुवैको कमजोरी देखिन्छ । चेकजाँचमा राउतले असहयोग गरेको देखिन्छ, प्रहरी जवानले पनि तँ भनेर हेपेकी छिन् । कलाकारलाई तँ भनेर हेपेपछि स्वभाविक रुपमा उनलाई रिस उठ्ने नै भयो । तर, प्रहरीले आफ्नो कमजोरीलाई लुकाएर गायिका राउतलाई नै दोषी प्रमाणित गर्न भिडियो सार्वजनिक गरेको छ । गायिका आस्थाले भने आफूले रिसमा बोलेको भन्दै बिहीबार नै माफी मागेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *