‘दोक्लाम समस्याको समाधान वार्ताबाट मात्र ‘

नयाँ दिल्ली : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले भुटान, भारत र चीनको सीमाक्षेत्र दोक्लामलाइ लिएर भारत र चीनबीच उत्पन्न समस्याको समाधान वार्ताबाट निकाल्नुपर्ने बताएका छन्। शनिबार दिल्लीमा आयोजना गरिएको अन्तराष्ट्रिय सहयोग परिषदको कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले दुई देशलाई संवादबाट निकास निकाल्न आग्रह गरेका हुन्। पछिल्लो समय भारत र चीनले दोक्लामलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर सेना नै उक्त क्षेत्रमा तैनाथ गरेपछि यतिबेला विश्वको ध्यान केन्द्रीत भएको छ।
पूर्वपरराष्ट्रमन्त्री महतले निकासका लागि संवादको विकल्प नरहेकोमा जोड दिए। उनले भने ‘कुनै पनि समस्याको समाधान वार्ताको माध्यमबाट निस्कन्छ । भारत र चीनले पनि वार्ताबाटै समाधान खोज्नुपर्छ र यी दुबै मुलुक यस कुरामा सक्षम छन ।’ उनले दार्जिलिङ आन्दोलनलाई पनि संवादबाट नै निकास दिन सम्बन्धित पक्षलाई आग्रह गरे। दार्जिलिंगको आन्दोलन त्यस क्षेत्रका जनताको आन्तरीक विषय भएको भन्दै महतले भने, ‘आफनो हक अधिकारका लागि दार्जिलिंगका सचेत जनता आन्दोलनमा उत्रिएका हुन् आफनो अधिकारका लागि उनीहरु सचेत र जागरुक छन्। राज्य सरकार तथा भारत सरकारले उनीहरुको मागलाइ सम्बोधन गर्नेछ।’
दोेक्लाममा पूर्वाधारको निर्माणमा भारत र चीनबीच बढेको विवाद सुल्झाउन भारतमा कुटनीतिक तबरबाट प्रयास भइरहेको छ। भर्खरै भारतीय सुरक्षा सल्लाहकार अजित दोभाल बेइजिंग पुगेर फर्किएका छन्। दोक्लममा र दार्जिलिंगको बारेमा दिल्लीमा भएको सार्वजानिक कार्यक्रममा नेपालको तर्फबाट आएको यो संभवत पहिलो प्रतिक्रिया हो । दक्षिण एशियाको भूराजनीतिक परिवेशमा भारत नेपाल सम्बन्धको विषयको सो कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीको रुपमा महत मुख्य वक्ताका रुपमा आमन्त्रित थिए। दुबै विषयमा संतुलित जवाफ दिएका महतले नेपाल भारत सम्बन्धका विभिन्न आयामहरु प्रस्तुत गरेका थिए।
भारतका कानुन, सूचना तथा औद्योगिक केन्द्रीय मन्त्री रविशंकर प्रसादले नेपालको आर्थिक सामाजिक विकासमा भारतको सदैव साथ र सहयोग रहने आश्वासन दिए । भूराजनीतिक अवस्थामा भारतीय सुरक्षाको गम्भीरताबारे उल्लेख गर्दै उनले नेपालले पनि यस विषयमा गम्भीरता अपनाउनुपर्ने सुझाव दिए । उनले भने, ‘दक्षिण एशियाली क्षेत्रमै सुरक्षा चुनौति रहेको हुँदा नेपाल गम्भीर हुनुपर्छ ।’ श्रोत:अन्नपूर्णपोस्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter