देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद् बैठकमा सहभागी

वरीयता विवादका कारण मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आजको बैठकमा भने सहभागी भएका छन् ।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनपछि उपप्रधानमन्त्री निधि सिंहदरबारमा जारी मन्त्रिपरिषद् बैठकमा गएका हुन् । बैठकअघि पार्टी सभापति देउवाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई निर्वाचानमा सहभागी गराउन संविधान संशोधन विधेयकको परिमार्जित प्रस्ताव मन्त्रिपरिषद्बाट पारित गराउने भएकाले बैठकमा जान निर्देशन दिएका थिए ।
बैठकमा सहभागिताबारे निधिले कान्तिपुरसँग भने, ‘देश, मधेस र कांग्रेसको हित र महत्वलाई ध्यान दिएर मन्त्रिपरिषद् बैठकमा सहभागी भएको हुँ तर मेरो वरीयताको अडान कायमै छ ।’ उनले वरीयताको विषय हाललाई थाती मात्रै राखेको प्रस्ट्याए । आजको मन्त्रिपरिषद् बैठक मधेसी मोर्चासँग शनिबार भएको सहमतिका विषयमा निर्णय गर्न भन्दै डाकिएको हो ।
पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा गएपछि वर्तमान मन्त्रीमण्डलमा वरीयता विवाद निम्तिएको हो । थापाले आफू पटक पटक उपप्रधानमन्त्री भइसकेकोले मर्यादाक्रममा आफू माथि हुनुपर्ने बताइरहेका छन् भने निधिले कांग्रेस ठूलो पार्टी भएकोले आफू रोलक्रममा अगाडि हुनुपर्ने तर्क गरिरहेका छन् ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter