जुम्ल्याहा दिदीबहिनीलाई उपाधि

काठमाडौं : जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाले १५औं जयकर स्मृति राष्ट्रिय जुनियर लनटेनिस प्रतियोगिताको यू-१८ महिला युगल उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा शुक्रबार भएको फाइनलमा राणा दिदीबहिनीको जोडीले अभिलाषा विष्ट र विजिशा श्रेष्ठको जोडीलाई ६-३, ६-३ को सोझो सेटमा पराजित गरे ।
सोही स्पर्धाको पुरुष युगलमा दाजुभाइ संरक्षणभूषण र सम्यकभूषण वज्राचार्यको जोडीले उपाधि जिते । फाइनलमा दाइभाइको जोडीले प्रणव खनाल र आदित सुवेदीको जोडीलाई ६-३, ६-४ को सीधा सेटमा पराजित गरे ।
त्यसैगरी यू-९ छात्रा एकलमा सुनिरा थापा च्याम्पियन बनिन् । सुनिराले उपाधि भिडन्तमा प्रशंसा मोक्तानलाई ४-१, ५-३ ले पन्छाइन् । त्यसै स्पर्धाको छात्रमा सक्षमविक्रम शाह पहिलो भए । उनले फाइनलमा आयुषमानहजुर घलेमाथि ४-२, ४-० को सहज जित दर्ता गरे ।
यू-१० छात्रा एकलमा इभा अधिकारी पहिलो भइन् । इभाले फाइनलमा सुनिरा थापालाई ६-०, ६-३ ले पाखा लगाउँदै सुनिरालाई दोहोरो चुम्नबाट वञ्चित गरिन् । सो स्पर्धाको छात्र फाइनलमा आरभसम्राट हाडाले प्रणव मानन्धरलाई ६-०, ६-३ को सोझो सेटमा निराश पार्दै स्वर्ण जिते ।
अभिलाषा विष्ट यू-१४ छात्रा एकलमा पहिलो भइन् । फाइनलमा अभिलाषाले ईशा श्री शाहमाथि ६-४, ६-४ को जित निकालिन् । त्यस स्पर्धाको छात्रमा आदित सुवेदी पहिलो भए । उनले फाइनलमा निशान श्रेष्ठलाई ६-०, ६-० ले सहजै पन्छाए ।
प्रतियोगिताको अन्तिम दिन शनिबार यू-१८ पुरुष र महिला एकलको फाइनल खेल हुनेछ । पुरुषमा संरक्षकभूषण वज्राचार्यले प्रणव खनालको सामना गर्नेछन् भने महिलामा मायांका राणाले प्रेरणा कोइरालाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । साभार:अन्नपुर्ण पोस्ट बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter