जनतासँग गरिएका बाचाहरु पूरा गर्न सरकार प्रतिबद्ध छ : प्रम

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका बाचाहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जनताले सुम्पेको विश्वास र भरोसाको नासोका रुपमा सार्वभौम जनताको आकांक्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले हालसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र सुदृढ हुँदै गएको बताए । प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गको चारदेखि ६ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकारले नेपाल–भारतबीचको सीमा विवादका विषयमा संवादका माध्यमबाट समस्या समाधान गरी अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उक्त भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गरे ।
ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताए । साथै ८८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको उनले जानकारी गराए । उनले विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको बताए । उत्पादित विद्युत् भारत र बंगलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
‘एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौँडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुंगा हुनेछ’ उनले भने, ‘अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ ।’ उनले आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *