चौतर्फी दबाबमा राष्ट्रपतिले अध्यादेश जारी गर्नुभयो : अध्यक्ष ओली

एमाले अध्यक्ष केपी ओलीले चौतर्फी दबाबको कारण राष्ट्रपतिले राष्ट्रियसभा सम्बन्धी अध्यादेश जारी गरेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा आयोजित एक कार्यक्रममा उनले राष्ट्रपतिलाई चौतर्फि दबाब आएपछि अध्यादेश जारी गर्नुपरेको आफ्नो अनुमान रहेको बताएका हुन्।
‘आज अध्यादेश, विवादित अध्यादेश जारी भएको छ। राष्ट्रपतीले त्यसलाई प्रमाणीकरण गर्नुभएको छ, जारी गर्नुभएको छ भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने, ‘र राष्ट्रपतिले शायद चौतर्फि दबाबको कारणले पनि जारी गर्नुपरेको होला। मेरो अनुमान हो।’ अध्यादेश भने संविधान विपरित रहेको उनले जिकिर गरेर।
‘अध्यादेश षड्यन्त्रपूर्ण ढंगले, कपटपूर्ण ढंगले  अलोकतान्त्रिक तरिकाबाट, लोकतन्त्रका मूल्यमान्यता , संवधान विपरित ढंगले आएको छ, ल्याइएको अध्यादेश हो,’ उनले भने, ‘राष्ट्रपतिले जारी गर्नु भो यो उहाँको कुरा हो। जारी गर्नु असंवैधानिक हामी भन्दैनौँ। अध्यादेश जारी गर्नुभो त्यो असंवैधानिक हैन तर अध्यादेश भित्र भएको कुरा असंवैधानिक हो।’
कांग्रेसले राष्ट्रपतिलाई विवादमा तानेको र उनको मर्यादा नराखेको आरोप ओलीले लगाए।  ‘अलिकति आफ्नो स्वार्थमा छिसक्क भने अनुसार भएन भने कुनै मर्यादा केही नराख्ने, नेपाली कांग्रेस हो,’ उनको आरोप थियो,’मर्यादा मात्र हैन, आफुले भनेअनुसार एकछिन भएन। राष्ट्रपतिले परामर्श गर्छु भन्नुभो रे केटाकेटी लगेर सडकमा उफारेर राष्ट्रपतिलाई गाली गर्न लगाउने, आफ्ना संचार माध्याममा जो जो छन् तिनलाई लेखाउने, राष्ट्रपतिको विवादमा अनुचित ढंगले तानेर अमर्यादित व्यवहार गर्ने काम गर्‍यो। यो अलोकतान्त्रिक अमर्यादित तरिका हो।’

यी समाचार पनि पढ्नुहोस्