चुनावमा दुस्प्रचार

युनिभर्सिटी अफ म्यासाच्युसेटस्का राजनीतिशास्त्रका एसोसिएट प्रोफेसर मेरिडिथ रोल्फले नागरिकको राजनीतिक सहभागिताबारे दिलचस्पीपूर्ण पुस्तक लेखिन् । ‘भोटर टर्न आउट’ शीर्षक दिएर सन् २०१२ मा प्रकाशित पुस्तकमा रोल्फले अमेरिकाको राजनीतिक तथा ऐतिहासिक न्यारेटिभमा मताधिकार र अमेरिकी नागरिकबीचको अन्तरसम्बन्धबारे चर्चा गरेकी छिन् । उनले पुस्तकमा लेखेकी छन्, ‘स्कुलमा पढ्ने अमेरिकी बालबालिकालाई अमेरिकाको जन्म मताधिकारको लडाइँबाट भएको हो भनेर पढाइन्छ ।’
हुन पनि मताधिकार नागरिकको भविष्य निर्धारण गर्ने राजनीतिक अस्त्र हो । मताधिकारको अवसर निम्त्याउने निर्वाचन जनसाधारणको सबैभन्दा ठूलो राजनीतिक घटनाक्रम हो, जुन नागरिक तथा राजनीतिक अधिकारका दृष्टिले सर्वाधिक महत्वपूर्ण ‘राजनीतिक चाड’ पनि हो । नागरिकले अधिकतम ध्यान पुर्यावउनुपर्ने राजनीतिक ‘इभेन्ट’ पनि निर्वाचन नै हो । बुद्धि र विवेकको सही उपयोग गरेर जनप्रतिनिधि चुन्ने उपयुक्त घडी पनि यही हो । निर्वाचनका समयमा नागरिक सर्वाधिक शक्तिशाली मानिन्छन् । ‘जनता जनर्दन’ भनिने अमूर्त मान्यता यही समयमा मूर्त बन्न खोज्छ । अघिपछि जेजस्तो भए पनि निर्वाचनको समय जनता ढोगिन्छन् र देउतासरि पुजिन्छन् ।
निर्वाचन नागरिकले सही निर्णय लिनुपर्ने जटिल समय हो । चुनावमा नागरिकका अगाडि अनेकथरी राजनीतिक शक्तिहरू मतका लागि हारगुहार गर्न आउँछन्, आश्वासन बाँड्छन् र आफ्नो पक्षमा पार्ने हरसम्भव प्रयास गर्छन् । चुनावी माहोलमा राजनीतिक शक्तिले रचेका तमाम प्रपञ्चका अगाडि नागरिक रनभुल्लमा पर्ने अवस्था आउन सक्छ ।
यस्तो अन्यमनस्क अवस्थामा आमसञ्चार माध्यम (खासगरी पत्रकारिता जगत्) ले सही बाटो देखाइदिने काम गर्नुपर्ने हुन्छ । निर्वाचन समयमा पत्रकार अघिपछि भन्दा पनि बढी रचनात्मक र विवेकशील हुनुपर्छ भन्नेका कुरा पत्रकारिता आचारसंहितासम्बन्धी धेरैजसो अन्तर्राष्ट्रिय दस्ताबेजहरूमा उल्लिखित छ । आपूmले चाहेका राजनीतिक दललाई मतदान गर्ने अधिकार पूरापूर नागरिकमै छोड्दै परिस्थितिको स्पष्ट तस्बिर उनीहरूसमक्ष राखिदिनु पत्रकारिताको धर्म हो ।
निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने बेलामा फलानो नेताले फलानो आमसभाका यस्तो भन्नुभयो, उस्तो भन्नुभयो भन्ने खालका सादा समाचार (प्लेन रिपोर्टिङ) ले मात्र पुग्दैन, साथमा प्रशस्त मात्रामा विश्लेषणात्मक समाचार दिनुपर्ने हुन्छ । प्लेन रिपोर्टिङले कतिपय अवस्थामा राजनीतिक दलका कुत्सित नियतलाई जनजनसम्म विस्तार गरी नागरिकमा प्रशस्त भ्रम छर्ने काम गर्न सक्छ । सही किसिमले तयार पारिएको विश्लेषणात्मक समाचारले यस्ता भ्रम चिर्ने काम गर्छ ।
सम्बन्धित राजनीतिक दलका घोषणापत्रको सबल र दुर्बल पक्ष, दलले चुनावमा गरेका खर्चको स्रोत, त्यसबाट आउन सक्ने नीतिगत अनाचार एवं उम्मेदवारले विगतमा प्रदर्शन गरेका सार्वजनिक व्यवहारको वस्तुनिष्ठ लेखाजोखा गरी समाचार दिन आवश्यक हुन्छ । विश्लेषणात्मक समाचारले राजनीतिक दलका नेताद्वारा अभिव्यक्त विचारभित्र लुकेको वास्तविकता बुझ्न सहज बनाइदिन्छ, जसले मतदातालाई सही निर्णय लिन सहयोग पुग्छ । तर विश्लेषणको नाम मनोगत विचार सम्प्रेषण हुन सक्ने खतराप्रति पनि उत्तिकै सचेत हुनुपर्छ । पत्रकारिताको मूल धर्म नागरिकलाई सुसूचित गर्ने र समाजलाई सहजीकरण गर्ने नै हो ।

सही सूचना सम्प्रेषणमा समस्या राजनीतिक दल मात्र बाधक छैन, यसमा समाजको पहरेदार ठानिएका पत्रकारहरूका व्यवहार पनि उत्तिकै जिम्मेवार देखिएका छन् । राजनीतिक दलको प्रचारयन्त्रमा पत्रकारहरूको संलग्नता रहनुले स्थिति झन् जटिल बनेको छ ।

निर्वाचनको समयका पत्रकारिताको यो भूमिका झन् व्यापक भएर आउँछ । धेरै खालका अलमल, राजनीतिक चलखेल र व्यापारिक स्वार्थबाट प्रदूषित सूचनाको अथाह समुद्रबाट सही सूचना कपडछान गरेर जनसमक्ष प्रवाह गर्नु आपैंmमा एउटा भयानक चुनौतीपूर्ण काम हो । यस घडीमा असीम परि श्रम र सीपका साथमा ‘वस्तुनिष्ठ व्यवहार’ शिरोपर गर्नुपर्ने हुन्छ । यस्तो चुनौती जोकोहीले सामना गर्न सक्दैन । खासगरी, राजनीतिक दलसँगको निकटतालाई आफ्नो सौर्य ठान्ने, परि श्रम नगर्ने र शोधकार्य (रिसर्च) मा अभ्यस्त नभएका पत्रकारलाई यस्तो भूमिका निर्वाह गर्न सहज हुँदैन । परिश्रमी र विचारशील पत्रकारले सम्प्रेषण गर्ने सही सूचनाले मतदाताको भविष्य निर्माणमा योगदान दिन्छ।
एक्काईसौं शताब्दीमा सूचनालाई सम्पत्ति मानिएको छ । सूचना-सम्पत्तिको प्रसंग कोट्याउँदा मानिस सूचनाजीवी प्राणी हो भन्ने तथ्यलाई समयले प्रमाणित गर्दै लगेको छ । मानिसलाई सही समयमा सही सूचना आवश्यक पर्छ । सही सूचनाबाट निर्देशित पाइलाले नै उसको जीवनमा सही गन्तव्य निर्धारण गर्छ । अहिले भइरहेको सूचना क्रान्तिले सचेत किसिमले पाइला अघि सार्न सहयोग गरिरहेको छ ।
सँगसँगै चुनौती पनि थपिएको छ । इन्टरनेटले दुनियाँलाई अद्वितीय गुन लाउँदालाउँदै पनि कतिपय न्युजपोर्टल र सामाजिक सञ्जालहरू दुस्प्रचार यन्त्र बन्न थालेका छन् । त्यसमा पनि दुस्प्रचार यन्त्रको प्रयोगमा राजनीतिक शक्ति पछाडि छैनन् । नेपालजस्तो विकासोन्मुख मुलुक मात्र होइन, अमेरिकाजस्तो विकसित मुलुक पनि दुस्प्रचारबाट प्रभावित छन् ।
‘अमेरिकन इकनमिक असोसिएसन’ द्वारा प्रकाशित ‘जर्नल अफ इकनमिक्स पर्सपेक्टिभ्स्’ मा छापिएको एक अनुसन्धानात्मक लेखमा सन् २०१६ को राष्ट्रपतीय चुनावमा लगभग १७ प्रतिशत वयस्क अमेरिकीहरूले ‘फेक न्युजपोर्टल’ ले प्रवाह गरेको समाचारमा भर परेको उल्लेख गरेको छ । नेपालमा त्यस्तो भूmटो समाचारको प्रभाव अमेरिकामा भन्दा निकै बढी हुनुपर्छ । पहिलो झलकमै भूmटो र बेतुक लाग्ने समाचार र अन्य सामग्रीलाई धेरैले सत्य ठानी सामाजिक सञ्जालमा सेयर गरेका, कमेन्ट गरेका र साथीसंगी एवं घरपरिवारमा ‘हट केक’ शैलीमा कुराकानीको विषय बनाएका दृष्टान्त नेपाली समाजमा छेलोखेलो छ । यसबाट गलत सूचनाले नेपाली समाज धेरै हदसम्म संक्रमित छ भन्न गाह्रो छैन । सही सूचनाको बलले सही जनप्रतिनिधि चुन्नुपर्ने बेलामा गलत सूचनाले मतदातालाई निश्चय नै दिग्भ्रमित तुल्याउँछ ।
लोकतन्त्रको दृष्टिले निर्वाचन लोकतान्त्रिक प्रक्रियाको एउट महत्वपूर्ण हिस्सा हो भने राजनीतिक शक्तिको आँखामा निर्वाचन शक्ति हत्याउने खेल हो । निर्वाचनका बेला राजनीतिक शक्तिले एकअर्काविरुद्ध सक्दो दुस्प्रचार गर्छन् । दुस्प्रचार राजनीतिक दलका लागि शक्ति हत्याउने शक्तिशाली अस्त्र हो । निर्वाचनको समयमा हुने आभसभा, राजनीतिक दलको प्रचार सामग्रीबाट प्रवाहित सूचना, दलले सञ्चालन गरेका घोषित तथा अघोषित सञ्चार आउटलेट तथा तिनका भ्रातृ संगठनहरूले जारी गरेका सन्देश धेरै हदसम्म दुस्प्रचारले भरिएका हुन्छन् । सबै प्रकारका दुस्प्रचारलाई चिर्दै नागरिकका पक्षमा सही सूचना कसरी दिने ? यस्तो अवस्थामा मिडियाले बहुआयमिक चुनौती सामना गर्नुपर्ने हुन्छ । त्यसो त, सत्य खोज्ने र त्यसलाई सम्प्रेषण गर्ने काम कहिल्यै पनि सहज छैन ।
त्यसमा पनि सञ्चारमाध्यममा आएका कुरा सही हुन्छन् भन्ने मान्यताका पक्षपातीहरू कम नभएको हाम्रोजस्तो समाजमा सही सूचनाले स्थान पाउनुभन्दा धेरै अघि नै भ्रामक सूचनाले स्थान ओगटिसकेको हुन सक्छ । सत्य खोज्ने र सम्प्रेषण गर्ने काममा इन्टरनेटले जति सहज बनाएको छ, त्यति नै असहज स्थिति पनि निम्त्याएको छ । इन्टरनेटको बढ्दो पहुँचले हरेक व्यक्तिले आफ्नै मिडिया सञ्चालन गर्न सक्ने अवस्था बनिरहेको छ । अहिले मनोगत विचार र भ्रामक सूचनाले भरिएका ‘फेकन्युज’ र अन्य ‘फेक कन्टेन्ट’ को बिगबिगी बढेको छ ।
भ्रामक सूचना प्रवाह गर्ने यस्ता प्रचारयन्त्रको कर्तुतबारे बुझ्न बाँकी रहेका जनसमुदायले भ्रामक जानकारीलाई सही ठानेर सोहीबमोजिम मनस्थिति बनाउन सक्ने खतरालाई नकार्न सकिन्न । जगजाहेर नै छ, गलत जानकारीले कहिल्यै पनि सही गन्तव्यमा पुर्याअउँदैन । सही सूचना सम्प्रेषणमा समस्या राजनीतिक दल मात्र बाधक छैन, यसमा समाजको पहरेदार ठानिएका पत्रकारहरूका व्यवहार पनि उत्तिकै जिम्मेवार देखिएका छन् ।
राजनीतिक दलको प्रचारयन्त्रमा पत्रकारहरूको संलग्नता रहनुले स्थिति झन् जटिल बनेको छ । पत्रकार आचारसंहिताले यस्तो व्यवहारलाई स्वीकार्य ठान्दैन । युनेस्कोको सहयोगमा सन् १९९१ मा नामिबियामा सम्पन्न अफ्रिकी अखबारका पत्रकारहरूको भेलामा जारी आचारसंहितामा स्वतन्त्र पे्रसको अर्थ सरकार, दल वा आर्थिक शक्तिको प्रभावबाट टाढा रहनु हो भनिएको छ ।
यसो भनिरहँदा पत्रकार दल र तिनका उम्मेदवारसँग पानी बाराबारको सम्बन्ध रहनुपर्छ भन्ने अर्थ नलागोस् । बरू उम्मेदवार र मतदाताबीच सेतु बन्नुपर्छ पत्रकार । अन्तर्राष्ट्रिय पत्रकार महासंघद्वारा प्रकाशित ‘इलेक्सन रिपोर्टिङ ह्यान्डबुक’ मा पत्रकारले मतदाताका अपेक्षा र उम्मेदवारका आशयलाई विवेकशील ढंगबाट जोडिदिनुपर्छ भन्ने उल्लिखित छ । नागरिकको ‘राजनीतिक चाड’ मानिने निर्वाचनलाई फलदायी र अर्थपूर्ण बनाउन पत्रकारले खेल्नुपर्ने भूमिका ज्यादै गहन छ ।
उसको वस्तुनिष्ठ, विचारशील, सिर्जनशील र विवेकशील व्यवहारबाट मात्र यस्तो भूमिका सही अर्थमा निर्वाह हुन सक्छ । यसका लागि आफ्ना निजी आकांक्षाहरूलाई गौण ठान्नुपर्ने हुन्छ । तब मात्र, निर्वाचनमार्फत नागरिकको राजनीतिक अधिकार रक्षा गर्ने कार्यमा पत्रकारको हिस्सेदारी कायम हुन्छ। – साभार:अन्नपूर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्