‘चालबाज’ को रिमेकमा श्रीदेवी बन्द आलिया

मुम्बई : २८ वर्षपहिले रिलिज भएको श्रीदेवी, रजनीकान्त र सनी देओल स्टारर निर्देशक पंकज परासरको सुपरहिट फिल्म ‘चालबाज’ को रिमेक डेबिड धवनले गर्दै छन् । डेबिड केही समय पहिलेदेखि ‘चालबाज’ को कथा नयाँ ढंगका तयार गरिरहेका छन् ।
उनी फिल्ममा श्रीदेवीले निर्वाह गरेको दोहोरो भूमिकामा अभिनय गर्ने लिडिङ लेडीको निकै पहिलेदेखि खोजीमा थिए । अहिले आएर डेविडले ‘चालबाज’ को रिमेकका लागि आजकी श्रीदेवी फेला पारेका छन् । डेबिडले अभिनेत्री आलिया भट्टलाई श्रीदेवीले निर्वाह गरेको दोहोरो भूमिकामा उतार्ने भएका छन् ।
गोवामा भएको ४८औं अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेकी आलियाले आफू डेबिडसँग ‘जुड्वा–३ मा रोल माग्न गएको तर डेविडले आफूसँग त्योभन्दा राम्रो रोल भएको भन्दै फर्काएको बताइन् ।
आलियाले भनिन्, ‘म जुड्वाको सिक्वेलका काम गर्न चाहन्थेँ । एक दिन मैले डेबिडसँग जुड्वा–३ मा रोल दिन आग्रह गरेँ । तर उहाँले जुड्वा–३ मा होइन मसँग ‘चालबाज’ को रिमेकमा काम गर्नुपर्छ भन्नुभयो ।’ यसरी चालबाजमा आलियाले श्रीदेवीवाला रोल पाइन् ।
आलिया पहिलो पटक फिल्ममा डबल रोल निर्वाह गर्दै छिन् । फिल्म ‘माँम’ को प्रमोसनल अन्तर्वार्ताका क्रममा श्रीदेवीले आफ्नो फिल्म ‘चालबाज’ मात्रै रिमेक गर्न लायक रहेको बताएकी थिइन् । श्रीदेवीले ‘चालबाज’ को आफ्नो डबल रोलमा अहिलेकी आलिया भट्ट फिट हुने जिकिर पनि गरिन् ।
फिल्म उद्योगमा ५० वर्ष बिताएकी श्रीदेवी पनि अफ्नो फिल्मी करियरमा मन परेका फिल्म छान्नु पर्दा ‘चालबाज’ छुटाउँदिनन् । श्रीदेवीको करियर माथि उठाउन यो फिल्मको ठूलो योगदान छ । फिल्मको यही सफलताका कारण यसको रिमेक गर्न लागिएको हो । हेमा मालिनीको फिल्म ‘सीता और गीता’ दिलीपकुमारको ब्लकबस्टर फिल्म ‘राम और श्याम’ को फिमेल भर्सन थियो । पछि यसैलाई पच्छ्याउँदै ‘चालबाज’ बनाइएको हो ।
डेबिडले यसै वर्ष सलमान खानको डबल रोल भएको फिल्म ‘जुड्वा’ को दोस्रो भाग ‘जुड्वा–२ बनाएर धुवांधार कमाइ गरेका थिए । ‘जुड्वा–२’ मा डबल रोललाई नयाँ तरिकाबाट प्रस्तुत गरिएको थियो ।
डेबिडले चालबाजको कथा तयार पारिसकेका छन् । अहिले फिल्मको कास्टिङ तथा प्रोडक्सनको तयारी भइरहेको छ । डेबिडले ‘चालबाज’ मा श्रीदेवीको रोलमा आलिया तथा रजनीकान्तको रोलमा आफ्नै छोरो वरुण धवनलाई खेलाउने भएका छन् । अनुपम खेरको रोलका लागि अनुपमलाई नै आग्रह गरिँदै छ । ‘चालबाज’ मा अनुपम खेरका अलावा शक्ति कपुर तथा अन्नु कपुर पनि देखिने छन् । एजेन्सी

यी समाचार पनि पढ्नुहोस्