गरीबीका कारण बाबुले आत्महत्या गरे, बिरामी श्रीमती र छोराछोरीको बिचल्ली

इटहरी : सुनसरीको बराह नगरपालिका-८ सालबन्दीकी बालकुमारी रसाइली थला परेको दुई वर्ष भयो । अपरेशन गरेर नवौं बच्चा जन्माएकी रसाइलीको अपरेशन गरेको घाउ निको नहुँदा थला परेकी हुन् । दुई वर्षअघि अपरेशनबाट बच्चा जन्माएकी रसाइलीले आर्थिक अभावका कारण राम्रोसँग उपचार पाइनन् । जसले गर्दा अहिले थला परेकी छिन् । श्रीमान पदम रसाईलीले समेत उनको उपचार र परिवारको पालनपोषण गर्न नसकी आठ महिनाअघि कोशीमा हाम फालेर आत्महत्या गरेपछि अहिले उनी सकिनसकी मागेर परिवार पालिरहेकी छिन् ।
बच्चा जन्माउँदा पनि गाउँलेसँग उठाएको पैसाले विराटनगरको नोबेल अस्पतालमा अपरेशन गराएकी उनको घाउ बल्झियो । हर्निया भएर दोस्रोपटक पनि मागेरै धरानस्थित वीपी प्रतिष्ठानमा उपचार गरिन्। तर अपरेशन गरेको घाउ निको नहुँदा डाक्टरले दिशा गर्न रसाइलीको पेटमा प्वाल पारेर मलद्वार पेटमा राखिदिएको छ । तर डाक्टरले बोलाएको समयमा अस्पताल जान नसक्दा घाउ समयमा निको हुन सकेको छैन । थप उपचारका लागि दुई लाखसम्म खर्च लाख्ने अस्पतालले जनाएको छ । औषधी किन्ने पैसा नै नहुँदा बालकुमारीले थप उपचारको आशा मारिसकेकी छिन् ।
अहिले उनको घरमा नौ वर्षकी सीता, ८ वर्षका विक्रम, ५ वर्षकी रीता र २ वर्षकी मेनुका छन् । चार जनाको पालन पोषणका लागि लौरो टेकेर बालकुमारी गाउँमा माग्दै हिड्छिन्, छोराछोरीलाई पनि माग्न पठाउँछिन् । २१ वर्षको जेठो छोरा गणेशले घर छोडेको २ वर्ष भयो । १९ वर्षकी जेठी छोरी गीता पनि घर बस्दिनन् । यस्तै १६ वर्षको हरि, १४ वर्षको कुमार र ११ वर्षको सइकुमार भने चक्रघट्टीमा माग्दै हिड्ने गरेको छिमेकी पदम बराइली बताउँछन् । चार कक्षामा पढ्दै गरेकी सीता घरको सबै काम गरेर स्कुल जान्छिन् भने बाँकीले पढ्न पाएका छैनन् । कान राम्रो सुन्न नसक्ने बालकुमारी मागेर खान पनि समस्या रहेको बताउँछिन् । ‘दाल माग्यो भने गुन्द्रुक दिन्छन्, कसरी खानु घाउ दुख्छ,’ उनले भनिन् । अन्नपूर्णपोस्ट बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter