गफले होइन, कामले समृद्धि !

मोही माग्ने ढुंग्रो लुकाउने !


पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा चुनावको मतदान तीन दिनपछि आइतबार हुँदैछ। राजनीतिक पार्टीहरूले पहिलो मात्र होइन, दोस्रो चरण (मंसिर २१) को निर्वाचननिम्ति पनि घोषणापत्र प्रकाशन गरिसकेका छन्। तर कांग्रेस, एमाले र माओवादी, विवेकशील साझालगायत मधेसी दलहरूलगायत सबैले घोषणापत्रमा समृद्धिका ठूलाठूला योजनाहरू अगाडि सारेका छन्। यसै विषयमा मनमा कुरा खेलिरहेको बेला काठमाडौं विश्वविद्यालय (केयू) बाट तेईसौं दीक्षान्त समारोहमा सहभागी हुन निमन्त्रणा-पत्र आइपुग्यो।
krishna-murari-bhandari_19समयअगावै धुलिखेलस्थित केयूको स्कुल अफ मेडिकल साइन्सेज कम्प्लेक्स, चौकोट काभ्रेपलाञ्चोक पुगियो। पत्रकारहरूलाई छुट्ट्याइएको स्थानमा बसियो। तर निकैबेर कुर्दा पनि अध्यक्षता गर्ने प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा आएकै होइनन्। उनी नआउने भएपछि शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षान्त समारोहको अध्यक्षता गरे।
प्राज्ञहरू गाउन र झल्लरे टोपी लगाएर विभिन्न बाजागाजापछि प्रोसेसनको रूपमा सभास्थल प्रवेश गरे। प्राज्ञहरूको यो अद्भुत खालको शोभायात्रालाई कार्यक्रममा सहभागी प्राज्ञ, विद्यार्थी, अभिभावक, राजनीतिज्ञलगायत विशिष्ट अतिथिहरूले ताली बजाउँदै अत्यन्त गरिमायुक्त कार्यक्रममा सहभागी भएको गौरवान्वित भएर अनुभूति गरिरहे। यस लेखमा कार्यक्रमको जानकारीभन्दा पनि केयूका भाइस चान्सलर डा. रामकण्ठ मकाजुले चिकित्साशास्त्रका ६ विषयका स्नातकोत्तर र पाँच विषयका स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई मात्र होइन, खासमा अहिलेको राजनीतिक सन्दर्भमा पो बढी आकर्षित हुने लाग्यो।
आफ्नो मनमा खेलिरहेको राजनीतिक दलको घोषणापत्रलाई सफल बनाउने मन्त्रको रूपमा डा. मकाजु बोलिरहे झैं लागिरह्यो। घोषणापत्रले उद्देश्य लिए पनि कार्यान्वयन कसरी गर्ने भनेर उठाउन नसकेको कुरा भाइस चान्सलरले पुटुपुटु बोलिरहेका थिए। गफले होइन, कर्मले आउँछ समृद्धि भनिरहेका थिए। लाग्थ्यो, राजनीतिज्ञहरूलाई प्राज्ञिक र प्राविधिक रूपमा उनी पार्टीले उठाएका समृद्ध नेपालका नारा पूरा हुन सक्छन् ! उनको विश्वास थियो- (१) नेपालभन्दा गतिलो ठाँउ अन्यत्र छैन। (२) नेपालभन्दा सद्भाव भएको प्रिय ठाउँ अरू छैन। (३) नेपालभन्दा सुन्दर देश अर्को छैन। उनले यसो भनिरहँदा विद्यार्थी, तिनका अभिभावक र अतिथिहरूले ताली बजाइरहे !
संयोग पनि कस्तो भने, पार्टीहरूले घोषणापत्र तयार गरेर पत्रकारहरू सामुन्ने मात्र वाचन गरेका थिए भने मकाजुले दीक्षान्त समारोहमा भर्खरैका स्नातक र ताजा विशेषज्ञ, तिनका बाबुआमा, देशकै वरिष्ठ नीतिनिर्माता, प्राज्ञ, ब्युरोक्रेट, योजनाविद्, राजनीतिज्ञ, पत्रकार र स्थानीय नागरिकहरू उपस्थित समारोहमा आफ्ना विचार राखे। उनले तीन विशेषतायुक्त बुँदाहरू भन्दै संसारकै गतिलो, धेरै अवसर भएको र जीवनमा मज्जाले गर्ने काम नेपालमै छ भनेर नेपाली हुनुमा गौरवान्वित हुँदै आफ्नो प्रवचन टुंग्याएका थिए।
यो लेख भने त्यहींबाट सुरु भएको छ, जहाँ मकाजुले आफ्नो भनाइ अन्त्य गरेका थिए। नेताहरूले देशको समृद्धिको चर्चा चलाइरहेका बेला देशकै बौद्धिकमा समेत देशलाई समृद्धि बनाउने योजना सिर्जना भइरहेको रहेछ !
त्यसैले मकाजुको प्रस्तुतिले भर्खरै उच्च शिक्षा सकेका युवा चिकित्सक जस्तै भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा जनताबाट चुनिएका जनप्रतिनिधिलाई मार्गदर्शन गराएको छ। उनको नेपालभन्दा गतिलो ठाउँ अन्यत्र छैन भन्ने प्रस्तुति स्थानीय निर्वाचनलगत्तै मतदाताकहाँ समृद्ध नेपाल बनाउने घोषणापत्र लिएर प्रदेशसभा र केन्द्रीय संसद्का लागि मत माग्न पुगिरहेका कांग्रेस, एमाले, माओवादी, विवेकशील साझा र मधेसी दलका उम्मेदवारहरूले पढ्नैपर्ने मकाजुको घोषणापत्र हो।

प्राज्ञहरूले दिएको जीवनको निष्कर्षलाई दलका नेता, कार्यकर्ता, उम्मेदवार, पदाधिकारी, कर्मचारी र निर्वाचित जनप्रतिनिधिले पालना गर्न लागे भने उनीहरूको सफलता निश्चित छ। मकाजुले निर्जन स्याल कराउने डाँडामा जसरी शिक्षाको ज्योति बालेर देखाइदिए।

मतदाताकहाँ मंसिर १० र २१ गते समृद्ध नेपाल बनाउने योजना बनाएर मत माग्न पुगिरहेका उम्मेदवारलाई मकाजु घोषणापत्रले किन र कसरी कार्यान्वयन गर्ने भन्ने तरिका सिकाइदिएको छ। मकाजु घोषणापत्रको पालना पार्टीहरूले गरे भने तिनका योजनालाई झलल उजिल्याइदिनेछ। भनौं न, सबै पार्टीका घोषणाले खानेपानी योजना बनाउने भनेका छन्, तर मकाजु घोषणापत्रले मुहान, रिजभ्र्वायर, ट्यांकी, धारो बनाएर देखाइ नै दिएको छ। त्यसैले मकाजु घोषणापत्र राजनीतिक नेता, प्रशासक, जनप्रतिनिधि र सबैले पढिहाल्नु जरुरी छ।
मकाजु घोषणापत्र एउटा प्राज्ञले लेखेको जीवनको निश्कर्ष कर्मको फल हो। लाग्छ, पार्टीका घोषणापत्र पढ्दा तिनले प्राज्ञहरूसँग सम्पर्क पनि गरेका छैनन्, तर एउटा प्राज्ञले आफूले प्रयोग गरेर सावित भए-गरेका कुरा सबैले बुझ्ने भाषामा छर्लंग पारेर दीक्षान्तमा बताइदियो। केयूका भीसीले काभ्रेमा मंसिर ४ गते जसरी आफ्ना कुरा बताए, त्यसैगरी काभ्रेका रुखो भिरालो पाखोमा रसिलो ड्रागन फ्रुट फलाएर र उत्तर फर्केको सेपिलो जमिनमा फलको राजा किवी फलाएर गरिबी र अभावबाट आक्रान्त किसानलाई सम्पन्न बनाउने तरिका सिकाए।
प्राज्ञहरूले दिएको जीवनको निष्कर्षलाई दलका नेता, कार्यकर्ता, उम्मेदवार, पदाधिकारी, कर्मचारी र निर्वाचित जनप्रतिनिधिले पालना गर्न लागे भने उनीहरूको सफलता निश्चित छ। मकाजुले निर्जन स्याल कराउने डाँडामा जसरी शिक्षाको ज्योति बालेर देखाइदिए।
दलका घोषणापत्रहरूको कार्यान्वयन हो, असम्भवलाई सम्भव बनाएर मकाजु र उनको टिमले सावित गरेको कुरा। उनले प्रस्तुति गरिरहेको बेलामा दीक्षान्त गरिरहेका युवा र तिनका बाबुआमाका सपना कार्यान्वयन भएको देखिन्थ्यो। स्वप्नदर्शी प्रधानमन्त्रीको सम्बोधन पाएका केपी ओलीको हावाबाट बिजुली होस् वा नेपाललाई चिनियाँ रेलसँग जोड्ने सपना वा गगन थापाले स्वास्थ्यमा गर्ने भनेको सुधार असम्भव हुँदै होइन।
न त रवीन्द्र अधिकारी, विश्वप्रकाश, चन्द्र भण्डारी, घनश्याम भुसाल, राजन भट्टराई, महेश बस्नेत, शंकर पोखरेल, प्रदीप पौडेल, शंकर भण्डारी, महेन्द्र यादव, देवराज चालिसे, उदय शमशेर, वीना मगरलगायतका युवा अनुहारहरू डा. मकाजुको अनुहारमा झललल देखिइरहेका थिए। साँच्चै भन्ने हो भने दीक्षान्त समारोहमा बोलिरहँदा उनको अनुहारमा भविष्यको नमुना नेपाल झल्किरहेको थियो।
मकाजुले भने, नेतृत्व लिनुहोस् : अहिले हाम्रो समग्र देश परिवर्तनको प्रक्रियामा छ। सबैतिर उत्साह-उमंग जागिरहेको छ। हाम्रा अगाडि नयाँ-नयाँ अवसर र चुनौती खडा हुँदैछन्। यस्तो महत्वपूर्ण समयमा तपाईंहरू आआफ्नो व्यावसायिक जीवनमा प्रवेश गर्न लाग्नुभएको छ। तपाईंहरूका लागि यो ठूलो अवसर हो।
यस्तो बेलामा चुप लागेर नबस्नुहोस्। नेतृत्व लिन आफैं तयार हुनुहोस्। अरूले पहिलो पाइला चालोस्, त्यसपछि आफू पछि लागौंला भनेर अर्काले पाइला चाल्ने क्षण पर्खेर नबस्नुहोस्। आफैं अगाडि बढ्नुहोस्।
कसैको पनि मूल्यांकन गर्दा पहिलोपटक पाइला चाल्ने, नेतृत्व लिने र छिटै निर्णय गर्ने व्यक्तिको मात्रै उच्च मूल्यांकन हुन्छ। इतिहास पनि त्यस्ता व्यक्तिको मात्रै कोरिन्छ। यो तथ्य बुझेर अघि बढ्नुहोस्।जहाँ जे काम गर्दा पनि तन-मन लगाएर मेहनतपूर्वक गर्नुहोस्। अनि मात्र नेतृत्व लिन सक्नुहुनेछ। त्यसैले मेहनत गरेर नेतृत्व लिने साहस गर्नुहोस्। सक्रिय बन्नुहोस् र चुनौतीहरूका बीचमा अवसरहरूको खोजी गर्नुहोस्।
दीक्षान्तपछि तपाईंहरू व्यावहारिक संसारतिर पाइला बढाउँदै हुनुहुन्छ। यो जीवनको नयाँ अध्याय हो। अब तपाईंहरूले आआफ्नो व्यावसायिक दक्षता र क्षमता प्रयोग गर्ने बेला आएको छ। तपाईंहरूका अगाडि दुइटा विकल्प छन्।
पहिलो, अरू धेरै मान्छे जे गर्छन्, तपाईं पनि त्यही गरेर बस्न सक्नुहुनेछ। समयले जता डोर्‍याउँछ, त्यतै बग्न सक्नुहुनेछ। परम्पराको पछि लाग्न सक्नुहुनेछ। यसो गर्न सजिलो पनि छ। यसो गरे जीवन सजिलै बित्न सक्छ। त्यसैलाई सफलता मान्ने हो भने त्यसमा तपाईंहरू सफल पनि बन्नुहुनेछ। प्रशस्त पैसा अनि केही इज्जत र नाम पनि कमाउनुहुनेछ। यसबाट सुख र सन्तुष्टि पनि लिनुहुनेछ।
दोस्रो, तपाईंहरू अरूले छोडेका र गर्न आँट नगरेका समस्या समाधान गर्न तत्पर हुनुहुनेछ।
तपाईंहरूका अगाडि नयाँ चुनौती थुप्रै छन्। तिनीहरूलाई बाँकी संसारले देखेकै छैन अथवा देखेर पनि बेवास्ता गरेको छ। तपाईंहरू ती चुनौतीको आत्मसात गर्दै अगाडि बढ्न सक्नुहुनेछ।
मलाई नै सोध्नुहुन्छ भने म तपाईंहरूलाई दोस्रो विकल्प रोजेर अघि बढ्ने सल्लाह दिन चाहन्छु।
किनभने स्वास्थ्य क्षेत्रमा तपाईंहरूका लागि थुप्रै चुनौती छन्। जस्तै— विकास नपुगेका ठाउँमा र बेवास्ता गरिएका जनतासम्म पुग्ने चुनौती, सेवाबाट वञ्चित समुदायसम्म स्वास्थ्य सेवा विस्तार गर्ने चुनौती, स्वास्थ्य क्षेत्रमा नयाँ विधाहरूको स्थापना गर्ने चुनौती, स्वास्थ्य विज्ञानमा नयाँ प्राज्ञिक कार्यक्रम सञ्चालन गर्ने र तालिमहरू दिने चुनौती अनि सहकार्य गरेर सेवासुविधाका लागि नयाँ तरिकाहरूको विकास एवं अनुसन्धान गर्ने।
कुनै पनि विषयमा आफ्नो व्यावसायिक जीवनलाई समर्पित गर्नुहोस् र आफ्नो क्षेत्रमा केही न केही अमूल्य योगदान गरेर आफ्नै इतिहास रच्नुहोस्। हामी चाहन्छौं, तपाईंहरू पुरानो घरमा थपिएको एउटा इँटा मात्रै नबन्नुहोस्, जमिनमा ठड्याइएको नयाँ स्तम्भ नै बन्नुहोस्, जसले बाँझो छोडिएको जमिनतिर बटुवाहरूको ध्यान खिच्न सक्छ, जसले अरू संरचनाहरूका लागि आधारशिलाको काम गर्न सक्छ, तपाईंहरू त्यस्तो स्तम्भ बनेको हामी हेर्न चाहन्छौं।
यो विश्वविद्यालयलाई नै हेर्नोस्, नेतृत्व लिन साहस गर्नेहरूले बनाएको यो एउटा स्तम्भ हो। आफ्नै इतिहास र पहिचान बोकेको धुलिखेल अस्पताल यस्तै अर्को एउटा सानो स्तम्भ हो। अरूले ध्यान दिन नभ्याएका क्षेत्रमा चुनौती लिएकैले यी कीर्तिहरू खडा भएका हुन्।परम्परालाई चुनौती दिनुहोस्। महान् लक्ष्य बोकेर अगाडि बढ्दा परम्परालाई चुनौती दिनुपर्ने पनि हुन सक्छ। त्यस्तो चुनौती स्वीकार गर्नुहोस्। कहिल्यै निराश नबन्नुहोस्।
तपाईंहरूको प्रगतिको बाटोमा थुप्रै अवरोध भेटिन सक्छन्। तर निराश नहुनुहोस्, अनि आफ्नो शक्ति र क्षमतामाथि शंका पनि नगर्नुहोस्। राम्रो काम गर्न खोज्दा सुरुमै विरोध हुन सक्छ र बाटोमा व्यवधान आउन सक्छ। त्यस्ता वाधा-अवरोध आइपर्नु प्रकृतिको नियम नै हो, तर तपाईंहरू आफूले लिएको स्पष्ट लक्ष्यबाट विचलित नहुनुहोस्।
नयाँ काम सुरु गर्दा बेवास्ता गर्नेछन्। सफलताका लक्षणहरू देखिन थालेपछि आलोचना गर्नेछन्। तर कहिल्यै विचलित नबन्नुहोस्, निराश नहुनुहोस्। तपाईंको कार्यालयमा तालाबन्दी हुन सक्छ र बाटोमा अवरोध खडा गरिन सक्छ, तर तपाईंका सिद्धान्त र मान्यताहरूलाई बाँधेर प्रगतितर्फको तपाईंको कदम कसैले रोक्न सक्तैन, तपाईंका अगाडि कालो झन्डा प्रदर्शन गर्नुका साथै हडताल पनि हुन सक्छ, तर कसैले पनि तपाईंको उपलब्धिलाई छायाँमा पार्न सक्दैन, आखिर तपाईं सफल हुनुहुनेछ। तपाईंको सेवा पाएकाहरूको विश्वास र तपाईंले अँगालेको सत्यको बलले असफल हुन दिँदैन। तपाईंले आँट गरेर चुनौतीसँग जुध्नुपर्छ, निराश बन्नु हुँदैन। -अन्नपूर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्