खप्तड गोल्डकप फुटबलको तयारी सुरु

काठमाडौं : पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको तयारी सुरु भएको छ। चौधरी गुप्रको नेपाल आइसले मुख्य प्रायोजन गरेपछि आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लब प्रतियोगिताको तयारीमा जुटेको हो। सुदूरपश्चिम-११ स्पोटर्स क्लबको आयोजनामा हुने प्रतियोगिता सञ्चालनमा लागि विभिन्न उपसमिति बनाइएको जानकारी क्लबका अध्यक्ष सुरेश हमालले दिए। गोल्डकपमा लागि मैदान र अस्थायी प्यारापिट निर्माणको काम पनि सुरु भएको छ।
प्रतियोगिताको माध्यमले सुदूरपश्चिमको समग्र विकास र खेल पर्यटनको विकास गर्ने उद्देश्यले अघिल्लो वर्षदेखि थालिएको प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक रहेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले बताए। ‘धनगढी रंगशालामा पहिलो पटक प्रदेश नम्वर ७ मा अस्थायी प्यारापिट बनाएर दर्शकलाई फुटबल हेर्ने व्यवस्था मिलाउन लागिएको छ। रंगशालामा तीनवटा प्यारापिट पक्की भए पनि दर्शक बढ्न सक्ने अनुमान गरेका छौं,’ भट्टराईले भने।
प्रतियोगिताको नाम दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप—२०७४ रहनेछ। प्रतियोगितालाई नेपाल टेलिकमले सहप्रायोजन गर्ने भएको छ। करिब एक करोड १० लाख रुपैयाँ खर्च हुने गोल्डकपमा स्वदेश र विदेशका गरी १२ वटा टोलीको सहभागिता रहनेछ। नकआउटका आधारमा हुने प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, साबिक विजेता लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, सीएमजी क्लब संकटा, च्यासल युथ क्लब, रमपम झापा-११, सहारा क्लब, अग्नि रूपन्देही-११, धरान फुटबल क्लब र आयोजक सुदूरपश्चिम-११ सहभागी हुनेछन्। यसैगरी भुटानको डुक स्टारले पनि भाग लिनेछ। थ्री स्टारले एक वर्षपछि घरेलु फुटबलमा यही प्रतियोगितामार्फत पुनरागमन गर्न लागेको हो।
प्रतियोगिताको विजेता टोलीले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। गत वर्ष विजेताले पाँच लाख रुपैयाँ प्राप्त गरेको थियो। यस पटकको रकमपछि खप्तड गोल्डकप देशकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता बनेको क्लबका उपाध्यक्ष योगेन्द्र चन्दले बताए। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउनेछ। यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट स्ट्राइकर, उदीयमान खेलाडी, सर्वाधिक गोलकर्ता र फेयर प्ले टोलीले पनि १५÷१५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलेको म्यान अफ दी म्याचलाई पनि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter