किन कम खस्छ भोट ?

निर्वाचनमा नागरिकले निर्बाधरूपमा मतदान गर्न पाउनु उनीहरूको अधिकार हो । उम्मेदवारको मायाले नभएर सामाजिक विकास र जनताप्रतिको उत्तरदायित्व सुम्पिन विश्वासिलो र उचित नेतृत्वलाई मतदान गर्नुपर्छ । १८ वर्ष उमेर पुगेका हरेक नागरिक मतदानको लागि योग्य हुन्छन् र आफूलाई भरोसा लागेको पार्टी र नेतालाई मतदान गर्न पाउँछन् ।
आगामी चुनावको चिन्ता होइन, आगामी पुस्ताको चिन्ता गर्ने नेतृत्वलाई मतदान गर्नु सचेत नागरिकको कर्तव्य हो । साक्षरताको दरमा पछिल्लो समय सुधार हँदै आएको हाम्रो समाज चेतनाको दृष्टिकोणले भने अझै पछाडि परेको भर्खरै सम्पन्न दुइटा निर्वाचनबाट पुष्टि हुन्छ ।
अझै मानिसलाई मतदान मेरो अधिकार हो, यसलाई मैले उपभोग गर्नुपर्छ भन्नेमा चेतनामा निकै कमी देखिन्छ । उम्मेदवारलाई भोट दिएर जिताउँदा केही हदसम्म उसको सपना त पूरा होला, तर त्यो सपना भनेकै फेरि पनि देश र जनताको हितमा काम गर्ने सपना हो ।
उम्मेदवार निर्वाचित हुनु भनेको देशलाई विकासको बाटोमा अगाडि बढाउने ढोका खुलेको हो भन्नेसम्मको चेतना राखेर हरेक नागरिकले निर्वाचनलाई अवसरको रूपमा प्रयोग गर्नुपर्छ । मतदान कसैको डर, कर र लोभलालचले नगरिने भएकाले मतदाता स्वतन्त्र छन् । स्वतन्त्र मतदातालाई कसैले मत जाहेर गर्न बाध्यकारी नियम लगाउन सक्ने कानुनी व्यवस्था देशमा छैन।
निर्वाचन सम्पन्न गराउन राज्यले करोडौं खर्च गरेको हुन्छ । हरेक नागरिकले यो लगानी राज्यले आफूमाथि गरेको लगानी सम्झेर निर्वाचनलाई सही नेतृत्व छान्ने अवसरको रूपमा लिने हो भने खस्ने मतको प्रतिशत बढ्नेछ । हालै सम्पन्न स्थानीय तह निर्वाचनको तुलनामा भर्खरै सम्पन्न पहिलो चरणको संसदीय निर्वाचनमा मत कम खस्यो ।
मत कम खस्नुको कारण भिन्नभिन्न छन् । ‘जति भोट हाले पनि के भयो र, अब पनि के होला र किन भोट हाल्नुपर्योन र’ यस्ता अभिव्यक्ति पनि कम भोट खस्नुमा जिम्मेवार छन् । धेरैजसो युवा विदेशका छन् । दैनिक गुजारा गरेर खानुपर्ने श्रमजीवीलाई निर्वाचनले छुन नसकेपछि स्वाभाविक रूपमा कम मत खस्ने नै भयो ।

निर्वाचनमा खसेको मतको कदर नहुने रोगकै प्रतिफल हो कम भोटिङ ।

०६२÷०६३ को दोस्रो शान्तिपूर्ण जनआन्दोलनपश्चात् राजतन्त्र अन्त्य भई संघीय राज्य प्रणालीमा आधारित संविधान निर्माण भयो र यहाँसम्म आइपुग्दाका सबै उपलब्धि संस्थागत गर्दै संघीय संरचनास्वरूप स्थानीय तह र प्रतिनिधि तथा प्रदेशसभाको समेत निर्वाचन हँदै गर्दा नागरिक बाट ‘के हुने हो र, केका लागि भोट हाल्नु, भोट माग्न मात्र जनता गाउँ आउने हुन्, भोट दिएपछि फर्केर हेर्दैनन्’ जस्ता अभिव्यक्ति सुन्दा लाग्छ मतदानप्रति रुचि छैन । हामीले राजनीतिक र सामाजिक चेतानाको स्तर माथि उठाउन अझै धेरै बाँकी छ भन्ने यसबाट पुष्टि हुन्छ ।
प्रदेशसभा तथा प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनमा ६५ प्रतिशत मत खसेको छ । यो प्रतिशत स्थानीय निर्वाचनको तुलनामा करिब १० प्रतिशतले कम हो । स्थानीय निर्वाचनमा खसेको मतलाई पनि पर्याप्त भन्न मिल्दैन, तर तुलनात्मक रूपमा बढी हो । निर्वाचनमा खसेको मतको कदर गरिनुपर्छ, जसले निर्वाचनको महत्व बुझेर मताधिकार सदुपयोग गरे । हरेक पटक देशको भाग्य र भविष्यको रूपरेखा कोरिने आशमा मत अधिकार प्रयोग गर्ने सचेत नागरिक नै हुन्, तर नेतृत्वले मतको सदुपयोग गर्न नजान्दा देश समृद्धिको यात्रामा अघि बढ्न सकेन ।
प्रदेश तथा प्रतिनिधिसभा पहिलो चरणको निर्वाचनमा देशभर वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा भयो । गठबन्धनपछि देखिएको अंकगणितलाई आधार मानेर स्वतः विजयी हुने आकलन पनि गरेका छन् धेरैजसो नेताले । एकथरीमा म एकजना नजाँदा पनि आफूअनुकूलको व्यक्तिले जितिहाल्छ, मैले भोट नदिएर हार्ने वा जित्ने भन्ने हुँदैन भन्ने गरिएकाले पनि कम भोट खस्ने गरेको छ ।
निर्वाचन देशभर एकै दिन गराउनुपर्छ । निर्वाचनमा तीन दिन देशभर सरकारले सार्वजनिक बिदा दिँदा धेरै मत खस्छ । गाउँमा रोजगार त के सामान्य जीविकोपार्जनको समेत उपाय नहुने युवा रोजगारको लागि र पठनपाठनको लागि सहर धाउनुपर्ने बाध्यता र बिदा लिन असजिलो हुँदा पनि कम मत खस्ने गरेको छ ।
सुरक्षाको कारण भन्दै निर्वाचनको दिन हाम्रो देशमा सवारी आवागमनमा रोक लगाइन्छ, तर मानिस चिया खान, बच्चा स्कुल पुर्याचउन, घाँसदाउरा र पानी ल्याउन आदि सानाभन्दा साना छोटा दूरीको कामसमेत सवारीविना नगर्ने प्रचलन बसिसकेको छ । अनि ग्रामीण भेगका ४÷५ घन्टासम्मको पैदल हिँडेर मतदान केन्द्र आउनुपर्ने शतप्रतिशत मतदाता भोट खसाल्न जाओस् भन्ने निर्वाचन आयोग अपेक्षा राख्दछ।
जीविकोपार्जनको लागि देशका ५० लाख युवा विदेशमा छन् । जो चाहेर पनि निर्वाचनमा मतदान गर्न आउन सक्दैनन् । उनीहरूलाई अनलाइन मतदानको व्यवस्था गर्ने हो भने बढी मत खस्छ । निर्वाचनको समयमा विभिन्न दलका घोषणापत्रमा बिदेसिएका युवालक्षित जे जे एजेन्डा अगाडि सारिएको हुन्छ, ती कुनै पनि अहिलेसम्म पूरा हुन नसक्दा दैनिक दुई हजार युवा वैदेशिक श्रम बजारमा बेचिन बाध्य छन् ।
पाँच वर्षपछिको मतदाता आजको माध्यमिक तहमा अध्ययनरत विद्यार्थी हुन्, तर उनीहरूमध्ये कति प्रतिशतले आगामी निर्वाचनमा मतदान गर्छन् नेतृत्वले आजै त्यसबारे सोचेर गुणस्तरीय शिक्षा देशमै उपलब्ध गराई रोजगार सिर्जना गर्न योजना बनाएर अगाडि बढ्ने बेला आएको छ ।
निर्वाचनमा खसेको मतको कदर नहुने रोगकै प्रतिफल हो कम भोटिङ । निर्वाचनमा आफूले दिएको भोटले देशको भाग्य र भविष्य कोर्नेछ भन्ने मनोभावले दिएको भोट नेता बनाउन मात्र प्रयोग भएपछि निर्वाचनको महत्व घटेको छ । – साभार:अन्नपूर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्