कम्युनिस्ट शासन भोग्न पाइने भयो

पञ्चायत, प्रजातन्त्र, गणतन्त्र भोगेको हाम्रो पुस्ताले अब कम्युनिस्टहरूको शासन कस्तो हुने रहेछ भन्ने अनुभव गर्न पाउनेजस्तो देखिन्छ । नेकपा एमाले र माओवादीबीच एकताको घोषणा गर्दा समाजवाद स्थापना गर्ने भनिएको छ । अब त्यो समाजवाद कस्तो हुने हो त्यसमा भर पर्छ । साँच्चिकै कम्युनिस्टवाला समाजवादतिर मुलुकलाई लैजान खोजियो भने राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरबाट त्यसको प्रतिवाद पनि हुन सक्छ । प्रमुख कुरा त उहाँहरूले लिने नीति र कार्यक्रमले भविष्यको बाटो तय गर्छ । कम्युनिस्टहरूको सरकार बन्यो भने अधिनायकवाद स्थापना हुन्छ भन्ने मान्यता राखिए पनि नेकपा एमालेका अध्यक्ष केपी ओलीले हालै व्यक्त गर्नुभएको विचार ‘हामी कम्युनिस्ट होइनौं’ भनेबाट अधिनायकवाद आउला भनेर खासै डर मान्नुपर्ने देखिँदैन । हुन त नेताहरूको बोलीको टुंगो हँुदैन तर पनि उहाँहरूबाट अधिनायकवादी चरित्र प्रस्तुत हुँदैन भन्ने कुराको विश्वास नीति, कार्यक्रम तथा व्यवहारबाट गराउनुपर्ने हुन्छ ।
अहिलेको परिणामले स्थिर सरकारको सम्भावना बढाएको छ । यद्यपि विगतमा एउटै दलले बहुमत ल्याएर पनि पाँच वर्ष एउटै सरकार टिक्न नसकेको उदाहरण हामीकहाँ नभएको होइन । अबको एउटा चुनौती छिमेकीहरूसँगको सन्तुलित सम्बन्ध पनि हुनेछ । वाम गठबन्धनलाई चीनसँग नजिक भनिएको छ । भारतसँगको सम्बन्धलाई कसरी अगाडि बढाइन्छ, यो पनि महŒवपूर्ण हुनेछ । आन्तरिक चुनौतीहरू पनि त्यत्तिकै छन् । सात प्रदेशको भौतिक संरचनादेखि लिएर धेरै कुरा स्थापित गर्नु छ । संघीयताको कार्यान्वयन अर्को महŒवपूर्ण चुनौती हो । एमाले र माओवादीबीच वाम गठबन्धन हुँदा पार्टी एकतासम्मको लक्ष्य रहेको भनिएको छ । त्यतिबेला भनिएजस्तो गरी यो गठबन्धन लामो समयको लागि नभएर चुनावकै लागि मात्र गरिएको भए अबको दृश्य फरक पनि हुन सक्छ । मधेसको परिणाम आएपछि अझ तस्बिर क्लियर हुनेछ । – साभार:अन्नपुर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्