एउटै गाउँपालिकामा ५ उम्मेदवारको नाम पदमबहादुर बुढा

मंगलसेन : यस पटकको स्थानीय तहको निर्वाचनमा अछाममा एउटै नामको व्यक्ति उम्मेदवार बन्ने क्रम बढेको छ ।
मेल्लेख गाउँपालिका वडा नम्बर ८ को हत्तिकोटमा प्रमुख तीन दलका वडा अध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर साउद नामका बनेको खबर बाहिर आएसँगै अछामकै अर्को तुर्माखाँद गाउँपालिकामा पनि यस्तै भेटिएको छ ।
तुर्माखाँद गाउँपालिकाको प्रमुख पदमा तीन दलले टिकट दिएका व्यक्ति, वडा नम्बर ३ भैरवस्थानको वडा अध्यक्ष तथा वडा सदस्य गरी पाँच उम्मेदवारको नाम पदमबहादुर बुढा भएको खुलेको छ।
नेकपा एमालेले तुर्माखाँद गाउँपालिकाको प्रमुखमा २०५४ को स्थानीय निर्वाचनमा भैरवस्थान गाविसबाट अध्यक्ष निर्वाचित पदमबहादुर बुढालाई नै टिकट दिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गाउँपालिका प्रमुखमा २०५४ को निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचति पदमबहादुर बुढालाई नै टिकट दिएको छ । अर्को दल नेपाल मजदुर किसान पाटीले पनि भैरवस्थानकै पदमबहादुर बुढालाई नै गाउँपालिका प्रमुखको टिकट दिएको छ।
यस्तै नेकपा एमालेले भैरवस्थान वडाको अध्यक्ष पदको उम्मेदवारमा पनि पदमबहादुर बुढालाई नै टिकट दिएको छ । सोही वडाको वडा सदस्य पदमा नेपाली कांग्रेसले टिकट दिएका खुल्लातर्फका सदस्यका उम्मेदवारको नाम पनि पदमबहादुर बुढा नै रहेको छ ।
तुर्माखाँद गाउँपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदमा टिकट पाउने प्रवल सम्भावनामा रहेका व्यक्ति तथा कांग्रेस र माओवादी केन्द्र दुबै दलले भैरवस्थान वडामा वडा अध्यक्ष पदमा टिकट दिएका तीन वटै उम्मेदवारको नामको पहिलो अक्षर पनि ‘प’ बाट नै आउने छ ।
कांग्रेसबाट गाउँपालिका प्रमुख पदका लागि युवा नेता पुष्पराज शर्माले टिकट पाउने प्रवल संभावना देखिन्छ । यस्तै कांग्रेसले भैरवस्थानको वडा अध्यक्षमा प्रकाश बुढा तथा नेकपा माओवादी केन्द्रले सोही वडामा टिकट दिएका उम्मेदवारको नाम प्रेम बुढा छ ।
 
 
श्रोत:अन्नापुर्नापोस्ट

यी समाचार पनि पढ्नुहोस्