उधारोमा उखु बेच्न वाध्य छन् किसान

परासी : नवलपरासीका किसानले चिनी उद्योगलाई उधारोमा उखु दिन थालेका छन्। खेतमा तयार भएको उखु समय बितेपछि सुक्ने डरले बाध्य भएर किसानले उद्योगलाई उधारोमा बिक्री गर्न थालेका हुन्।
गतसाता उखु उत्पादक कृषक महासंघ र उद्योगीबीच सम्पन्न बैठकले तत्काललाई गत वर्षको मूल्य निर्धारणलाई आधार मानेर भुक्तानी गर्ने सहमति भएको थियो तर जिल्लाका उद्योगले पैसा नदिँदा किसान उधारोमा उखु दिन बाध्य भएका हुन्। गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल पाँच सय ३१ रुपैयाँ तोकिएको थियो।
जिल्लामा रहेका तीन वटा उद्योगले मिल गेटसहित विभिन्न स्थानमा तौल केन्द्र स्थापना गरेर उखु खरिद गरिरहेका छन्। त्यसरी बिक्रीका लागि उखु लिएर पुगेका किसानलाई उद्योगले उधारो पूर्जी दिएर पठाउने गरेको उखु उत्पादक समितिका जिल्ला अध्यक्ष उमेश यादवले बताए। २÷४ दिनमा भुक्तानी दिने भन्दै उद्योगले उखु खरिद गरिरहेका छन्। किसानले उखु उपलब्ध गराउन थालेपछि जिल्लाका बागमती, लुम्बिनी र इन्दिरा चिनी उद्योग सञ्चालनमा आएका छन्।
गुठिप्रसौनीबाट प्रतापुरको खैरहनी तौल केन्द्रमा उखु बिक्रीका लागि आएका गोपिगञ्जका किसान वृजेश वरईले खेतमा रहेका उखु सुक्ने भएकाले उधारोमै भए पनि बेच्न आएको बताए। उनले उद्योगले कति रुपैयाँ दिन्छन् भन्ने बारे अनविज्ञता प्रकट गरे। ‘हरेक वर्ष उधारोमा बेच्दैं आएका छौं। सधैं झैं मूल्य निर्धारण भएपछि उद्योगले भुक्तानी गर्ने गरेका छन्। उनले भने, ‘त्यसैले यो वर्ष पनि पछि भुक्तानी पाइने भन्दै उखु बेच्न आएका हौं।’

खेतमा तयार भएको उखु समय बितेपछि सुक्ने डरले बाध्य भएर किसानले उद्योगलाई उधारोमा बिक्री गर्न थालेका हुन्।

उद्योगबाट भुक्तानी पाउन दुई महिनादेखि एक वर्षसम्म कुर्नुपर्ने बिगतको बाध्यताले किसानले घर खर्च चलाउनका लागि स्थानीय भेली उद्योग (क्रसर उद्योग) मा सस्तोमा उखु दिने गरेका छन्। उखु काटेर अर्को उखु लगाउन र अन्यबाली लगाउनेदेखि दैनिकी चलाउनका लागि आवश्यक पर्ने रकमका लागि उनीहरूले सस्तोमा क्रसर उद्योगलाई उखु बेच्नु परेको हो।
प्रतापपुरका किसान गणेशबहादुर चौधरीले हिउँदेबाली र घर खर्चका लागि रकम आवश्यक परेकाले आफूले १० क्विन्टल उखु क्रसर उद्योगमा बिक्री गरेको सुनाए। क्रसरले प्रतिक्विन्टल तीन सय ५० देखि चार सयसम्ममा उखु खरिद गर्ने गरेको उनले बताए। जिल्लामा करिब दुई सय क्रसर उद्योग छन्।
यस वर्षको उखुको भाउ कम्तीमा पाँच सय ६२ रुपैयाँ उपलब्ध गराउन उद्योगसँग माग गरेको उखु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। गत साता उद्योगी र किसानबीच भएको सहमतिमा तत्काललाई मिल सञ्चालन गर्न गतवर्षको रकम उपलब्ध गराउने सहमति भएको उनले बताए। भारतमा उखुको मूल्य यस वर्ष २० रुपैयाँ बढेकाले आफूहरूले पनि सोहीअनुसार ३२ रुपैयाँ बढाउन माग गरेको मैनालीको भनाइ छ। बैठकमा सरकारी प्रतिनिधि भने उपस्थिति थिएनन्।
चिनीमा भन्सार वृद्धिको अवस्थालाई हेरेर ३२ रुपैयाँ उपलब्ध गराउने उद्योगबीच छलफल भएको छ। त्यसका लागि सरकार गठन भएपछि मूल्य तोक्ने सहमति भएको छ। गतवर्षको मूल्यलाई न्यूनतम आधार मानेर किसानले उखु उपलब्ध गराउने सहमति भएकाले बाँकी रकम वृद्धिबारे सरकारका प्रतिनिधिसहित माघको दोस्रो साता बैठक बस्ने सहमति भएको मैनालीले बताए।
उद्योगी र किसानप्रतिनिधिले गतवर्षको रकम उपलब्ध गराउने सहमति भएको जनाए पनि जिल्लाका उद्योग सञ्चालकले भने मूल्य बारे जानकारी नआएको बताएका छन्। बागमती चिनी उद्योग प्रतापपुरका प्रबन्धक टंक काफ्लेले चिनी उत्पादक संघबाट कुनै जानकारी नआएकाले अहिलेलाई पछि भुक्तानी गर्ने गरी किसानबाट उधारोमा उखु खरिद गरी मिल सञ्चालन गरिएको बताए।
भुक्तानीको समस्याका कारण हरेक वर्ष जिल्लाको उखु उत्पादनमा कमी हुँदै आएको छ। चार वर्ष अघि २२ लाख क्विन्टल उत्पादन हुँदै आएको जिल्लामा यसवर्ष १२ देखि १४ लाख क्विन्टल मात्र उत्पादन भएको समितिका जिल्ला अध्यक्ष यादवले जानकारी दिए। – अन्नपुर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्