उद्यमी बन्दै चिया किसान

काठमाडौं : चिया बगानबाट हरियोपत्ती टिप्ने समयमा मूल्य निर्धारणका लागि उद्योगी र किसानबीच बर्सेनि किचलो हुन्थ्यो। उद्योगीले लागत मूल्यभन्दा कम भाउ निर्धारण गरेको र भुक्तानी पनि वर्षौसम्म नदिएको भन्दै किसानले आन्दोलन गर्नुपथ्र्यो। तर, पछिल्लो समयमा यो अवस्थामा परिवर्तन आएको छ। साना किसान अहिले आफै उद्यमीका रूपमा परिणत भएका छन्।
पहिले प्रतिकिलो १५ देखि २० रुपैयाँमा बिक्री नहुने हरियोपत्ती अहिले ५० देखि सय रुपैयाँमा बिक्री हुन थालेको छ। यो परिवर्तन चिया किसानले आफैले ल्याएका हुन्, चिया उद्यमी बनेर। ‘भन्नलाई चियालाई नगदे बाली भनियो। हामीले नगदमै रकम आउँछ भनेर अन्य खेतीपाती फाँडेर चिया खेती गर्‍र्यौ तर हरियोपत्तीबाट लागत मूल्य पनि पाइएन। सँधै उधारोमा ठूला उद्योगले तय गर्ने मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो’, चिया किसानबाट अहिले उद्यमी बनेका मोरङ केराबारीका नारायण राई भन्छन्, ‘अर्कोतर्फ दुई वर्षसम्म पनि पैसा नपाइने समस्या रहिरह्यो।’ वर्षौसम्म यही पीडा भोग्न बाध्य चिया किसान अहिले आफै उद्यमी बनेर कमाइ गर्न थालेका छन्। २०५६ मा पाँच रोपनी क्षेत्रफलमा चियाखेती गर्न सुरु गरेका राईसँग अहिले तीन सय रोपनी चियाको बगान छ।
सुरुताका उत्पादन भएका हरियोपत्ती बिक्री गर्न धनकुटाको हिले, इलाम र झापासम्म जानुपथ्र्यो। अहिले आफैले चिया उद्योग सुरु गरेपछि किसानलाई सहज भएको छ। यहाँको चिया भारतको मुम्बई र दिल्लीसम्म पुग्न थालेको छ।चिया किसानबाट उद्यमी बनेका इलाम फिक्कलका ज्ञानी लिम्बु पनि अहिले ढुक्क छन्।
आफैले ठूलो उद्योगलाई बिक्री गर्दा १५ रुपैयाँ प्रतिकिलोका दरले मूल्य पाउन कठिन भइरहेको लिम्बुले किसानलाई अहिले ६५ देखि सय रुपैयाँ दिन थालेका छन्। उनी आफै ग्रिन टी, ओलाङ टी, सिभरनिधौ ह्वाइट टी उत्पादन गर्दैछन्। ‘ठूलो उद्योगले वर्षाैसम्म हामीलाई बिजोग बनायो। हरियोपत्ती खरिद गरेबापत रकम नदिने। दिए पनि उनीहरूले सिन्डिकेट गरी लागू गरेको मूल्य बुझ्नुपथ्र्यो,’ लिम्बुले अन्नपूर्णसँग भने,‘अहिले आफै सानो आकारको प्लान्ट राखेर चिया प्रशोधन गर्न थालेपछि राम्रो आम्दानी हुन थालेको छ।’

आफै उत्पादनकर्ता र प्रशोधनकर्ता बनेर बजारीकरणसँगै जोडिँदा बिचौलियाले खाने कमिसन अन्त्य भएको छ।

चिया उत्पादन गर्ने किसानले आठ वर्षअघिसम्म वर्षको तीन पटकसम्म मूल्यका लागि आन्दोलन गर्नुपथ्र्यो। अहिले यस्तो किचलो झापामा थोरवहुत देखिए पनि अन्य जिल्लामा समाधान भएको छ। झापा बाहेक जिल्लाका चिया किसानले निजी, समूह र सहकारीमार्फत उत्पादन भएका चिया आफ्नै प्रशोधन उद्योगमा खपत गर्न थालेपछि मूल्यको समस्या समाधान भएको हो। ‘किसानले आफै चिया उत्पादन र प्रशोधन उद्योग सञ्चालन गरेका छन्’, स्माट टी एसोसिएसनका अध्यक्ष राजु शेर्माले भने,‘यसले गर्दा किसानका सबै समस्या समाधान भएको छ। आफै उत्पादनकर्ता र प्रशोधनकर्ता बनेर बजारीकरणसँगै जोडिँदा बिचौलियाले खाने कमिसन अन्त्य भएको छ।’
शेर्माका अनुसार चिया बगान दुर्गममा र उद्योग सुगम स्थानमा हुँदा किसानलाई निकै घाटा भइरहेको थियो। हरियोपत्ति बोकेर उद्योगसम्म लैजादा ढुवानी खर्चसम्म उद्योगबाट प्राप्त हुन छाडेपछि किसानले विकल्पको रुपमा साना उद्योगलाई रुचाएको उनले बताए। उनका अनुसार किसानले स्थापना गरेको साना उद्योगबाट उत्पादन हुने सबै प्रकारका चिया एसोसिएसनमार्फत सीधै भारतको मुम्बई, दिल्ली, मद्रास, कोलकातालगायत सहरमा निर्यात भइरहेको छ। केही युरोपियन मुलुक र ताइवानमा पनि निर्यात हुन्छ। ‘हरेक उद्यमी किसानले आफै चियाको प्रकारअनुसार दुई हजारदेखि पाँच हजारसम्म प्रतिकिलोका दरले बिक्री गर्न पाएका छन्’, शेर्माले भने।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुँइटेलका अनुसार चिया किसान आफै उद्यमीमा रूपान्तर हुन थालेपछि किसान र उद्योगबीचको समस्या हट्दै गएको छ।

यसरी फस्टाउँदैछन्, साना उद्योग

२०६५ सालसम्म यस्तो किचलो र आन्दोलनले किसान र ठूला उद्योगलाई निकै गाँजेको थियो। विकल्प केही भेटिएको थिएन। २०६६ मा शेर्माले चीन भ्रमण गर्ने अवसर पाए। भ्रमणको क्रममा उनले चीनमा साना चिया किसानलाई उपयुक्त हुने खालको सस्तो मूल्यमा चिया प्रशोधन उपकरण(प्लान्ट) भेटे। पीडित बनेका बेला उनलाई त्यो प्रशोधन निकै उपयोगी भयो। उनले साढे ६ लाख रुपैयाँ हालेर एक थान उपकरण नेपाल ल्याए। चीनबाट भित्र्याएको त्यो उपकरण मोरङका किसान नारायण राईलाई पनि मन पर्‍यो। त्यो उपकरण राईले नै राखे। राईले उक्त उपकरणको सहयोगमा ग्रिन टी, ओलाङ टी, सिभरनिधौ र व्याइट टी उत्पादन गर्न थाले। बजार पनि राम्रै भेटियो। त्यसपछि अन्य पीडित किसानले पनि उक्त उपकरणलाई प्रयोगमा ल्याए।
अहिले यो उपकरणको सहयोगमा इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, संखुवासभा, तेह्थुम, उदयपुर, दोलखा, काभ्रे, नुवाकोट, लम्जुङ, झापा, कास्की, सिन्धुपाल्चोक, ललितपुरका किसान गरी सय जनाले साना चिया प्रशोधन उद्योग सञ्चालन गरेका छन्।

चीनबाट करोडौंका उपकरण

साना उद्योगप्रति किसानको आकर्षण बढ्दै गएपछि अहिले चीनबाट साढे ६ लाखदेखि ६५ लाख रुपैयाँ पर्ने ५० किलोदेखि तीन हजार किलो हरियोपत्ती प्रशोधन गर्न सक्ने क्षमताको उपकरण आयात हुन थालेको छ। २०६७ देखि हालसम्म गरी करिब १५ करोड मूल्यबराबरको यस्ता उपकरण चीनबाट आयात भइसकेका छन्।

कच्चा पदार्थ अभाव

साना प्रशोधन उद्योग सञ्चालनमा आएपछि ठूला उद्योगलाई चिया प्रशोधन गर्न कारखानाको क्षमताअनुसार हरियोपत्ती अभाव भएको छ। दैनिक १० हजार किलो हरियोपत्ती पेल्दै आएका ठूला उद्योगले हरियो पत्तीको अभाव हुँदा अहिले पाँच हजार किलोमा झरेका छन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत गौरव लुँइटेलले, ‘किसानले उत्पादन गर्ने हरियोपत्ती आफैले खोलेको साना उद्योगमा खपत गर्न थालेपछि ठूला उद्योगलाई हरियोपत्ती अभाव हुन थालेको छ।’  अन्नपूर्ण पोस्ट बाट 

यी समाचार पनि पढ्नुहोस्