इपिएसअन्तर्र्गत भाषा परीक्षाको आवेदन खुल्यो, यसपटक कोटा संख्या बृद्धि

काठमाडौं, २ फागुन । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत शुक्रबारदेखि प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुलेको छ । भाषा परीक्षाका लागि शुक्रबारदेखि १७ फागुनसम्म आवेदन दर्ता गर्न सकिने जनाइएको छ
भाषा परीक्षाका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यस्तै, फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियामा गइ गैरकानूनी रुपमा बसोबास गरी कोरियाबाट फिर्ता नपठाइएको, नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएका र कोरियामा ई–९–ई–१० भिषामा दुई कार्यकाल वा पाँच वर्षभन्दा बढी नबसेका व्यक्तिले आवेदन गर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।
परीक्षा आवेदन फारम इपिएस कोरिया शाखाको वेबसाइटबाट भर्न सकिने व्यवस्था छ । आवेदन फाराम दर्ता गर्दा परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ ।
पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् भने आवेदकले फाराम भर्दा राहदानीमा फोटो भइएको रंगीन पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । त्यसैगरी अनिवार्य रुपमा आफ्नो इमेल ठेगाना र मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।
परीक्षा शुल्क चौबिस अमेरिकी डलर लाग्नेछ । आवेदकले जुन दिनमा फाराम दर्ता गराउने हो, सो दिनको अघिल्लो दिनका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरका हिसाबबाट आउने नेपाली रुपैयाँ ग्लोबल आइएमई बैंकको (कमलादी कर्पोरेट शाखाबाहेक) जुनसुकै शाखा र आइएमई–पे तथा इसेवामार्फत बुझाउन सकिनेछ ।
कोरियाली भाषा परीक्षा आगामी जेठमा सञ्चालन हुनेछ । आगामी जेठ २५ र २६ गते काठमाडौँ र पोखरा केन्द्रबाट परीक्षा सञ्चालन गरिनेछ भने परीक्षाको विस्तृत विवरण आगामी १९ जेठमा प्रकाशन गरिने जनाइएको छ ।
यस्तै, यसअघि कोरिया सरकारले नेपालीलाई उपलब्ध गराउँदै आएको साबिकको कोटा यस पटकदेखि केही संख्या वृद्धि गरेको छ । सन् २०२० का लागि कोरिया सरकारले १० हजार ५० कामदार लैजाने भएको छ ।
पछिल्लो वर्ष कोरिया सरकारले भाषा परीक्षामार्फत ८ हजार नेपालीलाई रोजगारीको अवसर उपलब्ध गराएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र कृषि तथा पशुपालनतर्फ तीन हजार कामदार लैजाने कोरियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *