अन्तर्राष्ट्रिय उडानमा यात्रुले ज्यान गुमाए पौने दुई करोड बिमा पाउने

काठमाडौं : अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले शनिबारदेखि यात्रु बिमा रकम एक करोड ७७ लाख रुपैयाँ पुर्‍याउँदै छन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का बहुसंख्यक सदस्य राष्ट्रले अनुमोदन गरिसकेको मन्ट्रियल महासन्धि नेपालले पनि शनिबारदेखि लागू गर्ने भएको हो।

नेपालले मन्ट्रियल महासन्धि दिवसको दिन शनिबारबाट नेपालमा यो लागू हुने भएको हो। मन्ट्रियल महासन्धि लागू भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा उडान गर्ने नेपाली हवाई सेवा प्रदायकले ६० वर्षपछि यात्रुको बिमांक रकम बढाउन लागेका हुन्।

यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाईसेवा प्रदायकले २० हजार अमेरिकी डलर बराबरको बिमांक प्रदान गर्दै आएका थिए। मन्ट्रियल महासन्धिको पालनापछि नेपालका सबै अन्तर्राष्ट्रिय हवाई यात्रुको बिमा रकम एक लाख १३ हजार एक सय एसडीआर पाउनेछन्।

एसडीआर अन्तर्राष्ट्रिय मुद्रा कोषले प्रचलनमा ल्याएको लेखाको इकाइ हो। नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबारदेखि यो व्यवस्था कार्यान्वयन हुने जानकारी दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले आईकाओका १३५ सदस्य राष्ट्रले अनुमोदन गरेका छन्।लामिछानेका अनुसार ‘शनिबारबाट महासन्धि अनुमोदन गर्ने सबै राष्ट्रले अनिवार्य रूपमा यसका सर्त पालना गर्नुपर्ने भएको छ।’

यो महासन्धिको पालनापछि सबै अन्तर्राष्ट्रिय उडानका हवाई यात्रुको बिमा रकम बराबर भएको छ। सदस्य राष्ट्रमध्ये सीमित दायित्वअन्तर्गत जुनसुकै मुलुकको अन्तर्राष्ट्रिय उडानका क्रममा यात्रुको मुत्यु भए प्रतिव्यक्ति एक लाख १३ हजार एक सय एसडीआर पाइने भएको छ।

यसअघि नेपालले वार्सा महासन्धि र हेग प्रोटोकललाई मात्रै अनुमोदन गरेको र सोहीअनुसार हवाई बिमा दाबी गर्नुपर्दा प्रतिव्यक्ति २० हजार अमेरिकी डलर मात्रै पाउँदै आएका छन्। १९९९ मा आएको मन्ट्रियल महासन्धिले यस्तो बिमा रकम एक लाख र सन् २००९ मा भएको संशोधनबाट एक लाख १३ हजार एक सय एसडीआर पु¥याइसकेको छ।

नेपाल सरकारले गत असोजमा महासन्धिलाई संसदबाट अनुमोदन गरेको थियो। यसबाट नेपाली अन्तर्राष्ट्रिय हवाई यात्रुको दुर्घटना भई मृत्यु भएमा, व्यागेज हराएमा वा क्षति भएमा उडान ढिलो भएमा कार्गो सामानमा क्षति भएमा पाउने रकममा पनि वृद्धि भएको छ।

यसबाट कार्गो सामानमा ढिलो भए, हराए वा क्षति भए प्रतिकेजी २६.२२ डलर (१९ एसडीआर), ब्यागेजको प्रतियात्रु १५ सय ६० डलर (११३१ एसडीआर) हुनेछ। उडान ढिलो हुन गई हुने क्षतिमा सीमित दायित्वअन्तर्गत प्रतियात्रु ६ हजार चार सय ७७ अमेरिकी डलर छ।

महासन्धिले तोकेको व्यवस्थाअनुसार कुनै वायुसेवा कम्पनीले क्षतिपूर्ति नदिए वा आफ्नो दायित्वबाट पन्छिएमा यात्रुले अदालतमा मुद्दा हाल्न सक्ने र अदालतले उक्त रकम भराइदिनुपर्ने उल्लेख छ। संसारभरका अन्तर्राष्ट्रिय उडानका वायुसेवा र हवाई यात्रुका लागि एउटै नियम र सर्त लागू गराउन महासन्धि लागू गरिएको हो। यसअघि वार्सा माहासन्धि र अन्य प्रोटोकलको व्यवस्था थियो।

यसले गर्दा महासन्धि अनुमोदन गर्ने÷नगर्ने राष्ट्रबीच एकरूपता नभएकाले सबैले मन्ट्रियल महासन्धि पालना गर्नुपर्ने व्यवस्था आईआकोले गरेको पनि कार्यक्रममा लामिछानेले जानकारी दिए।

महासन्धिलाई पालना गरेपछि कुनै पनि अन्तर्राष्ट्रिय हवाई यात्रुले टिकट काटेको स्थान वा सदस्य राष्ट्रका नागरिकको ठेगाना रहेको देशबाटै क्षतिपूर्ति दाबी गर्न सक्छन्। यस्तो महासन्धि लागू हुँदा कुनै पनि यात्रुले अतिरिक्त शुल्क तिर्नु नपर्ने र हवाई यात्रुको बिमा रकममा पनि कुनै वृद्धि नहुने उल्लेख छ।

वायुसेवा कम्पनीले गरेको बिमा रकम नै महासन्धिअनुसार हुने भएकाले यात्रु तथा वायुसेवा कम्पनी दुवैको हितमा हुने गरी यसलाई पालना गर्न सकिने उल्लेख छ। नेपाल यो महासन्धिको पक्ष राष्ट्र भएको हुँदा राज्यले अतिरिक्त आर्थिक भार बेहोर्नुनपर्ने उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Subscribe To Our Newsletter